
दमक । काठमाडौं महानगरपालिकाका पूर्वमेयर एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) झापा क्षेत्र नम्बर ५ बाट आफ्नो उम्मेदवारी मनोनयन दर्ताका लागि पुगेका छन् ।
सयौं समर्थकहरूको नाराबाजी र भव्य सांस्कृतिक झाँकीसहित उनी मंगलबार दमकस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेका हुन् ।
रास्वपाले बालेनलाई ‘भावी प्रधानमन्त्री’ को रूपमा अघि सारेसँगै झापा–५ को चुनावी प्रतिस्पर्धा यसपटक देशभरकै ध्यान खिच्ने गरी रोचक बनेको छ ।
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहक्षेत्र समेत रहेकाले अब यहाँ बालेन र ओलीबीच ‘हाइप्रोफाइल’ भिडन्त हुने निश्चित भएको छ । एक पटकबाहेक ओलीले लगातार राम्रो मतान्तरसहित जित्दै आएको क्षेत्रमा हुने प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ ।
उम्मेदवारी दर्ताका क्रममा दमकमा बालेनका समर्थकहरूको उल्लेख्य उपस्थिति देखिएको थियो । बालेनको उम्मेदवारीले यस क्षेत्रको पुरानो राजनीतिक समीकरणमा ठूलो हलचल ल्याउने अनुमान गरिएको छ ।
यसैबीच, नेकपा (माओवादी केन्द्र) ले पनि यस क्षेत्रमा पूर्वविद्यार्थी नेता रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ । हेभिवेट नेता ओली, युवा पुस्तामा लोकप्रिय बालेन र विद्यार्थी राजनीतिबाट आएका तामाङबीचको प्रतिस्पर्धाले झापा–५ लाई यसपटकको निर्वाचनको मुख्य ‘ब्याटल ग्राउन्ड’ बनाएको छ।








प्रतिक्रिया