
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पार्टीका केन्द्रीय सदस्य मीन विश्वकर्माले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।
पार्टीभित्रको आन्तरिक एकता कायम गर्न र राजनीतिमा नयाँ पुस्तालाई अवसर दिनुपर्ने भन्दै उनले चुनावी प्रतिस्पर्धाबाट बाहिरिने निर्णय गरेका हुन् ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाका निकट मानिने नेता विश्वकर्माले सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवारका लागि सिफारिस र जनस्तरबाट माग भए पनि उम्मेदवार नबन्ने निर्णय लिएका हुन् ।
उनले बदलिँदो राजनीतिक परिस्थितिमा विभाजित भएकाहरूलाई एकै स्वर र एकै चुनाव चिह्न (रूख) लिएर निर्वाचनमा जाने वातावरण बन्नु सकारात्मक भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले भनेका छन्, ‘विभाजित परिस्थितिमा एउटै चुनाव चिह्न लिएर जाने वातावरण बनाउन गरिएको भगिरथ प्रयासका सकारात्मक लक्षणहरू देखिन थालेकोमा मनमा खुसी छाएको छ ।’
विश्वकर्माले राजनीतिमा नयाँ पुस्ता र नवीन ढाँचाको प्रतिनिधित्व आवश्यक रहेको उल्लेख गरेका छन् ।
‘अहिलेको विश्व राजनीति र विशेष गरि नेपाल र नेपालीले चाहेको नवीन ढाँचाको राजनीति र जनप्रतिनिधित्व गर्न अहिलेकै पुस्ता आउनुपर्छ भन्ने मान्यता राख्दै यस पटकको निर्वाचनमा उम्मेदवार नबन्ने व्यक्तिगत निर्णय गरेको छु,’ उनले भनेका छन् ।
आफूलाई उम्मेदवारका लागि सिफारिस गर्ने र माया गर्ने सुनसरी क्षेत्र नम्बर १ का आम नागरिक एवं नेता–कार्यकर्ताप्रति आभार व्यक्त गर्दै उनले पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउन आफू लागिपर्ने बताएका छन् ।
उनले अगाडि भनेका छन्, ‘जो रूख चुनाव चिह्नको आधिकारिक उम्मेदवार बन्नुहुन्छ, उहाँलाई मन, वचन र कर्मले साथ, समर्थन र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
नेता विश्वकर्माले देशभरका कांग्रेस उम्मेदवारहरूलाई विजयको शुभकामना समेत दिएका छन् ।
नेता विश्वकर्माको यो निर्णयलाई कांग्रेसभित्र त्याग र नयाँ पुस्तालाई प्रोत्साहन गर्ने कदमका रूपमा हेरिएको छ ।








प्रतिक्रिया