
भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुध्द एयरको जहाजमा एक यात्रुले आपतकालीन ढोका (इमर्जेन्सी ढोका) खोलिदिएका छन् ।
बुध्द एयरको उडान नं. ८५२ (जहाज ९एन-एएमडी) मार्फत काठमाडौं जान लागेका यात्रु सुमन गौतमले जहाज उड्नु अगाडि आकस्मिक ढोका खोलिदिएको एयरलाइन्सले जनाएको छ । यात्रुले बिनाकारण ढोका खोलेपछि जहाजमा रहेका अन्य यात्रुहरू त्रसित बनेका थिए भने उडान समेत अवरुद्ध भएको छ ।
ढोका खोल्ने कार्यमा संलग्न गौतमलाई विमानस्थलमा खटिएका सुरक्षाकर्मीले तत्कालै नियन्त्रणमा लिएका छन् । उनलाई थप अनुसन्धान र कारबाहीका लागि सुरक्षा निकायको जिम्मा लगाइएको बुध्द एयरले जनाएको छ ।
हवाई सुरक्षा मापदण्ड अनुसार, आपतकालीन ढोका खोलिएपछि जहाजको विस्तृत प्राविधिक परीक्षण अनिवार्य हुन्छ । प्राविधिक टोलीले जहाजको पूर्णपरीक्षण गरी सुरक्षा सुनिश्चित गरेपछि मात्र उक्त जहाजले पुन: उडान भर्ने छ ।
नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार, विमानको आपतकालीन ढोका बिनाकारण खोल्नुलाई गम्भीर कानुनी अपराध मानिन्छ । यसरी जथाभावी ढोका खोल्दा विमानको सुरक्षामा गम्भीर खतरा पुग्न सक्ने र ठूलो आर्थिक क्षति हुने प्राविधिकहरू बताउँछन् । अहिले उक्त उडानका अन्य यात्रुहरूलाई वैकल्पिक व्यवस्था वा जहाजको परीक्षण पश्चात गन्तव्यमा पुर्याउने तयारी भइरहेको बुध्द एयरले जनाएको छ ।
यसअघि हवाईजहाजको आपतकालीन ढोका खोलेका दुई यात्रुलाई जरिवाना तिराइएको छ । बुध्द एयरका दुई उडानका क्रममा ‘इमर्जेन्सी’ ढोका खोलेका यात्रुलाई जरिवाना गरिएको थियो ।
विमानको आपतकालीन ढोका खोलेका दुई यात्रुलाई १/१ लाख रुपैयाँ जरिवाना तिराइएको थियो । सन् २०२४ जनवरी १ मा पोखराबाट काठमाडौंतर्फ उड्न लाग्दा र अक्टोबर १० मा काठमाडौंबाट जनकपुरतर्फको उडानका क्रममा यात्रुले बुध्द एयरको विमानको आपतकालीन ढोका खोलेका थिए ।
त्यतिबेला पोखराबाट काठमाडौं आउँदै गरेको बुध्द एयरको विमानको आपतकालीन ढोका यात्रुले खोल्दा उडान करिब ३ घण्टा ढिलो भएको थियो ।
प्राविधिक टिमको परीक्षणपछि करिब जनकपुरबाट पनि ३ घण्टा ढिलो गरि जहाज काठमाडौंका लागि उडेको थियो ।
जनकपुरको मौसममा सुधार आएपछि विराटनगरबाट उड्ने तरखरमा रहेको जहाज ट्याक्सी वेबाट धावनमार्ग पस्दै गर्दा एक यात्रुले जहाजको इमर्जेन्सी ढोका खोलिदिएका थिए ।
उक्त घटनापछि पाइलटले जहाज पार्किङ–वेमै फर्काएका थिए ।
अनाहकमा इमरजेन्सी ढोका खोल्ने यात्रुलाई विमानस्थल सुरक्षाकर्मीलाई जिम्मा लगाइने गरिएको छ । यात्रुले अब उप्रान्त यस्तो कार्य नगर्ने सर्तमा १/१ लाख क्षतिपूर्ति तिराइएको थियो ।
आपतकालीन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडान अगावै विस्तृत रुपमा यात्रुहरूलाई जानकारी गराएका हुन्छन् । आपतकालीन अवस्थामा बाहेक यसलाई खोल्न मिल्दैन, यसले उडान सुरक्षामै खलल पुर्याउने एयरलाइन्सले जनाएको छ ।
जहाजको आपतकालीन ढोका अनावश्यक रुपमा खोल्ने कार्यलाई गैरसैनिक हवाई उडान ऐन २०१५ ले अपराध मानेको छ । यो ऐनको दफा ९ (क)को (३)ले हवाई जहाजमा जडित पाटपूर्जा अनधिकृत रुपमा झिक्ने वा सञ्चालनमा हस्तक्षेप गर्न नहुने व्यवस्था छ । यो व्यवस्था विपरीत काम गरेको अवस्थामा वायुयान उडान सुरक्षा विरुद्धको अपराध मानिने र १५ देखि २० वर्ष जेल सजाय हुने व्यवस्था छ ।








प्रतिक्रिया