पेट्रोलमा इथानोल मिसाउने नीति २२ वर्षपछि स्वीकृत, ८ अर्ब बचत हुने

चिनी उद्योगबाट दैनिक साढे ३ लाख इथानोल उत्पादन गर्न सकिने

231
Shares

काठमाडौं । सरकारले पेट्रोलमा इथानोल समिश्रण गर्ने बाटो खुलाएको छ ।

पुस २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२’ स्वीकृत गरेपछि इथानोल समिश्रण गर्ने बैज्ञानिक रुपमा बाटो खुला भएको हो ।

मन्त्रिपरिषद्बाट स्वीकृत भएको योद आदेशको आधारमा नेपाल आयल निगमले पेट्रोलमा इथानोल मिश्रण गर्ने प्रक्रिया अघि बढाउनेछ ।

निगमले १० प्रतिशतसम्म इथानोल पेट्रोलमा मिश्रण गर्न पाउनुपर्ने प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत मन्त्रिपरिषद् बैठकमा पेस गरेको थियो ।

नेपालले वार्षिक खर्बौँ रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरिरहेको अवस्थामा पेट्रोलमा इथानोल मिश्रण एक उत्कृष्ट विकल्प हो।

यसले एकातिर व्यापार घाटा घटाउन सहयोग गर्छ भने अर्कोतिर स्वदेशी किसान र उद्योगलाई प्रोत्साहन मिल्छ । विश्वका अधिकाँश मुलुकले सफल अभ्यास गरिसकेको यो प्रविधिलाई नेपालले पनि अविलम्ब कार्यान्वयनमा लैजानु आवश्यक देखिन्छ ।

चालू आर्थिक वर्ष २०८२/८३ को बजेटमा प्रदूषण नियन्त्रण र पेट्रोलको आयात न्यूनीकरण गर्न बायो इथानोल मिश्रण गर्ने व्यवस्था मिलाइने उल्लेख छ ।

यसअघि २०६० मंसिर २९ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी पेट्रोलमा २० प्रतिशत इथानोल मिश्रण गरी बिक्री गर्नुपर्ने व्यवस्था गरेको थियो । तर उक्त समयमा कति परिमाणमा इथानोल मिश्रण गर्ने भन्ने व्यवस्था नहुँदा हालसम्म उक्त नीति अलपत्र परेको थियो ।

मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२’ अनुसार निगमले पेट्रोलमा १० प्रतिशतसम्म इथानोल मिसाउन पाउने बाटो खुलेको नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिका भट्टले जानकारी दिए ।

‘अधिकाँश मुलुकले पेट्रोलमा इथानोल मिसाएर बिक्री गर्दैआएका छन्,’ निगमका कार्यकारी निर्देशक भट्टले भने,‘हामीले पनि धेरै वर्षदेखि इथानोल मिसाउन पाउनु पर्छ भनेर पहल गर्दैआएका थियौं । मन्त्रिपरिषद्को बैठकले मिसाउने पाइने भनेर निर्णय गरेर त्यो बाटो खुलाइ दिएको छ । अब यो व्यवस्थालाई कार्यान्वयनमा ल्याउन युद्धस्तरमा निगमले काम गर्नेछ ।’

उनका अनुसार पेट्रोलमा समिश्रण गर्न ९९.५ प्रतिशत प्युरिटी भएका इथानोल चाहिन्छ । नेपालमा भएका चिनी उद्योगहरुसँग त्यो मापदण्डअनुसारको उत्पादन गर्ने प्लान्ट नभएकाले करिब २ सय करोडको लगानी थप गरेपछि त्यहि मापदण्डको उत्पादन गर्न सकिने उनको भनाई छ ।

‘इथानोल पूर्ण रुपमा जैविक इन्धन भएकाले नेपालकै विभिन्न कृषिजन्य उपजबाट सहज रुपमा उत्पादन गर्न सकिन्छ, तर यसका लागि लगानी गर्न आवश्यक छ,’ क्लिकमान्डुसँग निगमका कार्यकारी निर्देशक भट्टले भने, ‘सञ्चालनमा रहेका चिनी उद्योगमै केहि लगानी थपिए तत्कालै त्यस्ता उद्योगबाट इथानोल पर्याप्त परिमाणमा उत्पादन गर्न सकिन्छ ।’

तर सबै प्रक्रिया सम्पन्न भएर यो प्रणालीमा जान ६ महिनादेखि १ वर्षको समय लाग्न सक्ने उनको भनाइ छ ।

नेपाली चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले सरकारले २५ वर्ष ढिलो गरेर भएपनि पेट्रोलमा इथानोल समिश्रण गर्ने नीति सरकारले ल्याएको साकारात्मक भएपछि यसलाई विधिसम्मत् अघि बढाउन आवश्यक पर्ने कार्यविधि नआउँदा दुखेसो पोखे ।

उनले सरकारले कार्यविधि तयार गरी कार्यान्वयनमा नल्याएसम्म उद्योगीलाई तत्कालै लगानी गर्न समस्या पर्ने जानकारी दिए । नेपालको चिनी उद्योगबाट अहिले मोलासिस मात्रै उत्पादन भइरहेको छ ।

‘ढिलै भएपछि हामीले माग गर्दैआएको विषयलाई सरकारले २५ वर्षपछि चासो दिएर सम्बोधन गरेको छ, तर कार्यविधि त ल्याउन सकेन । अब यो कार्यविधि ल्याउन नै फेरी कति वर्ष लाग्ने होला,’ संघका अध्यक्ष अग्रवालले भने,‘हामी धेरै हौसिएका छैनौं । कार्यविधि आएको भए हौसिन्थ्यौ । कार्यविधि नआउँदासम्म उद्योगीले इथानोल नै उत्पादन गर्न थप लगानी तत्कालै लगाउन इच्छुक छैनन् ।’

उनका अनुसार कति प्रतिशतको प्युरिटी भएको इथानोल आवश्यक पर्छ, दैनिक कति परिमाणमा राज्यलाई आवश्यक पर्छ, अफ सिजन र अन सिजनमा कुन दररेटमा राज्यले लिने हो, मूल्य निर्धारण र भुक्तानीको प्रक्रिया र मोडालिटी कस्तो हुने हो, कहाँ लिने हो, डेलिभरीको मोडालिटी कस्तो हुने, उखुको मोलासिस र खाद्यान्नको मोलासिसबाट उत्पादन हुने इथानोलको मूल्यको मोडालिटी कस्तो हुने होलगायतका बिषयमा मार्ग प्रसस्त गरेको कार्यविधि तयार भएर कार्यान्वयनमा नआउँदासम्म तत्कालै उद्योगीले थप लगानी गरेर इथानोल उत्पादन गरिहाल्ने अवस्था नभएको अग्रवालले भने ।

उनका अनुसार एउटा चिनी उद्योगबाट दैनिक २० देखि ३० लिटरका दरले १२ वटा उद्योगबाट दैनिक ३ लाख ६० हजार लिटरसम्म इथानोल उत्पादन गर्न सकिन्छ । तर यसका लागि मोलासिसको लागि आवश्यक पर्ने कच्चा पदार्थ आवश्यक पर्छ । उनका अनुसार कुल पेट्रोलको आयात परिमाणको करिब ३ प्रतिशत इथानोल स्वदेशी चिनी उद्योगबाट उपलब्ध हुन सक्छ ।

चिनी उद्योग मौसमी उद्योग हो । मंसिर माघसम्म मात्रै चिनी उद्योगले उखुको क्रसिङ गर्छ । यस्तो अवस्थामा चिनी उद्योगबाट मौसमी रुपमा मात्रै मोलासिसको उत्पादन र मोलासिसबाट इथानोल उत्पादन हुन सक्ने अहिलेको अवस्था छ ।

मकै, तरुललगायतबाट पनि इथानोल उत्पादन गर्न सकिन्छ । चिनी उद्योगले थप लगानी गरेर स्थापना गर्ने प्लान्टबाट मकै तरुल, अन्न र अन्य वनस्पतिजन्य स्रोतलगायतबाट पनि अफ सिजनमा इथानोल उत्पादन गर्न सकिने अग्रवालले जानकारी दिए ।

प्रत्येक उद्योगमा २५-७५ करोड थप लगानी लाग्ने

अग्रवालका अनुसार नेपालका केहि चिनी कारखानाहरुले मोलासिसबाट अल्कोहल बनाउनको लागि आवश्यक पर्ने डिस्टिलरी ट्याँकसहितको प्लान्ट राखेका छन् । डिस्टिलरीबाट दोश्रो चरणको प्रशोधन पश्चात् इथानोल तयार हुन्छ ।

‘जुन कारखानामा डिस्टिलरी प्लान्टको सुविधा छ, त्यो कारखानालाई इथानोल उत्पादन गर्न खासै समस्या हुँदैन,’ अग्रवालले भने,‘ तर जुन उद्योगसँग डिस्टिलरी प्लान्टको सुविधा छैन उसले तत्कालै इथानोल उत्पादन गर्न सक्दैन ।’

९९.५ प्रतिशत प्युरिटी भएको इथानोल उत्पादन गर्न डिस्टिलरी प्लान्टमार्फत उत्पादन गर्न २५ करोडको थप लगानी आवश्यक पर्छ ।

यस्तै चिनी कारखानामा डिस्टिलरी प्लान्ट नभएका उद्योगमा डिस्टिलरी प्लान्ट राख्न थप ५० करोड र मोलासिसबाट इथानोल उत्पादन गर्न थप २५ करोड गरी ७५ करोडको छुट्टै लगानी आवश्यक पर्छ ।

यस्ता छन मल्टिपरपस प्रफिट

निगमका कार्यकारी निर्देशक भट्टले पेट्रोलमा इथानोल समिश्रण प्रक्रियाका कारण नेपालमा मल्टिपल प्रफिट हुने दावी गरेका छन् । भट्टले इथानोल मिश्रित पेट्रोलको मूल्य तुलनात्मक रुपमा केहि सस्तो हुने जानकारी दिए ।

उनका अनुसार नेपालमा खपत हुँदै आएको इन्धन शतप्रतिशत आयात हुन्छ । थोरै परिमाणमा भएपनि इथानोल पेट्रोलमा समिश्रण गर्न पाइयो भने यसले आयात दर प्रतिस्थापन गर्नुका साथै विदेशी मुद्राको सञ्चितिसमेत बढ्न सक्ने उनले जानकारी दिए ।

दैनिक २ लाख लिटर इथानोल मात्रै पेट्रोलमा मिसाउन पाइयो भने दैनिक २ करोड २० लाख रुपैयाँ बचत हुने र यसले व्यापार घाटामा सहयोग गर्ने उनको भनाइ छ । यसरी हेर्दा वार्षिक रुपमा ८ अर्ब ३ करोड रुपैयाँबराबरको बचत हुन सक्ने भट्टले जानकारी दिए । नेपालमा इथानोलको मूल्य प्रतिलिटर ११० रुपैयाँदेखि १२० रुपैयाँ पर्छ ।

नेपालमा दैनिक २० लाख लिटर पेट्रोलको खपत हुँदै आएको छ । सरकारको नीतिअनुसार २० लाख लिटरमा १० प्रतिशतका दरले २ लाख लिटर इथानोल समिश्रण गर्नुपर्छ । ब्लेण्डेड गरिएको पेट्रोल २२ लाख लिटर हुन्छ । यसरी हेर्दा २ लाख लिटर पेट्रोलको बचत हुन्छ । त्यो २ लाख लिटर पेट्रोल खरिद गर्न लाग्ने लागत खर्च, ढुवानी खर्च, वितरण खर्च लगायततर्फ पनि ठूलो बचत हुने निगमको भनाई छ ।

यसबाहेक आयआर्जनको थप बाटो खुल्ने उनको भनाई छ । इथानोल उत्पादन गर्न कच्चा पदार्थको रुपमा मोलासिस आवश्यक पर्छ । ति कच्चा पदार्थ उत्पादनका लागि किसानले कृषि उपज थप परिमाणमा खेती गर्दा त्यसबाट किसानलाई थप आर्थिक स्रोतको बाटो खुल्नुका साथै मोलासिसवाट वा डिस्टिलेसनबाट इथानोल उत्पादन गर्न थप लगानीसहित चिनी उद्योगमा राखिने प्लान्टबाट उत्पादन गर्दा जनशक्ति थप आवश्यक पर्दा त्यहाँ पनि रोजगारीको अवसर सिर्जना हुने भट्टको भनाई छ ।

यसरी एउटा उद्योगबाट करिब ३ सयदेखि ४ सय जनाको लागि नयाँ रोजगारीको अवसर सिर्जना हुन सक्ने निगमको भनाई छ ।

यस्तै इथानोल समिश्रण भएको पेट्रोल वातावरण मैत्री भएकाले पेट्रोलको तुलनामा सबारी साधनबाट निक्कै कम कार्वन मोनोअक्साइड उत्सर्जन हुने भएकाले यसले वातावरणलाई समेत उल्लेख्य सहयोग पुर्याउन सक्छ ।

इथानोलको प्रयोगले सवारी साधनबाट निस्कने कार्बन मोनोअक्साइड र हाइड्रोकार्बनजस्ता हानिकारक ग्यासको उत्सर्जन ३० देखि ५० प्रतिशतसम्म कम हुन्छ ।

काठमाडौं विश्वविद्यालयले गरेको एक परीक्षणअनुसार सवारी साधनमा १० प्रतिशतसम्म इथानोल समिश्रण गर्दा इन्जिनमा कुनै समस्या नहुने र प्रदूषण उल्लेख्य परिमाणमा घट्ने औल्याइएको थियो ।

इथानोल एक प्रकारको अल्कोहल हो, जसले इन्धनको रासायनिक गुणमा परिवर्तन ल्याउन सहयोग गर्छ । यस्तै इथानोल समिश्रण भएको पेट्रोलमा अक्टेन नम्बर बढेरसवारी साधनको इन्जिनमा इन्धन राम्रोसँग बल्न सहयोग गर्नुका साथै नोकिङ समस्यालाई न्युनिकरण गर्छ । इन्धनको खपत दरलाईसमेत किफायती बनाउने भट्टले जानकारी दिए ।

यस्तै इथानोलले इन्जिनभित्रका फोहोर र जमेको कार्बन सफा गर्ने काम गर्छ । इथानोलमैत्री नभएका धेरै पुरानो सबारी साधनको रबरको पाइप वा प्लास्टिकका पार्टपूर्जालाई यसले क्षति पुर्याउन सहयोग गर्छ ।

इथानोलको ऊर्जा घनत्व शुद्ध पेट्रोलको तुलनामा करिब ३३ प्रतिशत कम हुन्छ । यसको अर्थ धेरै परिमाणमा इथानोल मिसाउँदा सवारीको माइलेजमा सामान्य कमी आउन सक्ने सम्भावना हुन सक्छ ।

कति हुन्छ नेपालमा मोलासिसको उत्पादन ?
संघका अनुसार करिब २ करोड १६ लाख ७२ हजार उखु क्रसिङ गर्दा १८ लाख २५ हजार ३ सय ५० क्वीन्टल चिनी उत्पादन हुन्छ ।

यसबाहेक सह उत्पादन मोलासिस ९ लाख ७५ हजार क्वीन्टल उत्पादन हुन्छ । एक क्वीन्टल मोलासिसबाट २२ लिटर इथानोल तयार हुन्छ । नेपालमा इन्दुशंकर, हिमालय, रिलायन्स, महाकाली, भाग्यलक्ष्मीजस्ता चिनी उद्योगले ठूलो परिमाणमा मोलासिस उत्पादन गर्दैआएका छन् ।

उत्पादन हुने यस्ता मोलासिस मदिरा कारखानामा कच्चा पदार्थको रुपमा खपत हुन्छ भने केहि परिमाणमा भारत र बंगलादेशमा निर्यात हुँदै आएको छ ।

चालु आर्थिक वर्षको पाँच महिनाको अवधीमा नेपालबाट ९ करोड ८५ लाख ३२ हजार रुपैयाँबराबरको ५ हजार ३ सय १ मेट्रिक टन मोलासिस निर्यात भएको थियो । यसमध्ये बंगलादेशमा २ करोड ९६ लाख ८३ हजार रुपैयाँबराबरको निर्यात भएको थियो भने भारतमा ६ करोड ८८ लाख ४९ हजार रुपैयाँबराबरको निर्यात भएको थियो ।

गत् आर्थिक वर्ष २०८१/८२ मा भने ६१ करोड ३८ लाख ६७ हजार रुपैयाँबराबरको ३४ हजार ९ सय ५२ मेट्रिक टन मोलासिस निर्यात भएको थियो ।

कस्तो छ, अन्तर्राष्ट्रिय अभ्यास ?
पेट्रोलमा इथानोल मिसाउने मुलुकमा सबैभन्दा अग्रणी मुलुक ब्राजिल पर्छ । ब्राजिलले सन् १९७० देखि इथानोलको समिश्रण गर्दैआएको छ । ब्राजिलले प्रति लिटरमा २७ प्रतिशतसम्म इथानोल मिश्रण गर्दैआएको छ ।
यस्तै अमेरिकाले पेट्रोलमा १० प्रतिशतसम्म इथानोल समिश्रण गर्दैआएको छ । अमेरिकाले आगामी दिनमा यसलाई बृद्धि गरी १५ प्रतिशतसम्म पुर्याउने गरी गृहकार्य गरेको छ ।

छिमेकी मुलुक भारतले भने प्रति लिटर पेट्रोलमा अहिले १० देखि १२ प्रतिशतको हाराहारीमा इथानोल मिश्रण गर्दैआएको छ । भारतले पनि यसलाई बृद्धि गरी २० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । उता थाइल्याण्ड, क्यानाडासहित युरोपिएन मुलुकहरुले ५ देखि १० प्रतिशतसम्म इथानोलको समिश्रणलाइ अनिवार्य गरेको छ ।

इथानोल उत्पादन गर्न १२ अर्बको लगानी आउँदै
गैरआवासीय नेपाली संघले इथानोल उत्पादन गर्न १२ अर्ब रुपैयाँबराबरको लगानी भित्र्याउने तयारी गरेको छ ।

गैरआवासीय नेपाली खगेन्द्र जीसी, वेदप्रसाद खरेलसहितको टोलीले इथानोल उत्पादन गर्न नेपालमा कियान केमिकल इन्डस्ट्रिज प्राइभेट लिमिटेड दर्ता गराएका छन् । यो कम्पनीले कृषिमा आधारित केमिकल उत्पादन गर्ने योजना बनाएको छ ।

यसका लागि कम्पनीले कियान एग्रिकल्चर रिसर्च एन्ड डेभलमेन्ट कम्पनी पनि खडा गरेको छ । यो कम्पनीले पहिलो चरणमा बारामा १० बिघा जग्गामा उद्योग खोल्ने योजना बनाएको छ ।