
एजेन्सी । नयाँ वर्ष सुरु भएको एक हप्ता पनि नबित्दै पाकिस्तानका एयर चिफ मार्शल जहीर अहमद बाबर सिद्धु र उनका बंगलादेशी समकक्षी एयर चिफ मार्शल हसन महमूद खानबीचको भेटघाटपछि पाकिस्तानी सेनाले स्वदेशमै निर्मित जेएफ–१७ थन्डर लडाकु विमान बिक्री गर्ने सम्झौता गर्न सक्ने संकेत पाइएको छ ।
खानले पाकिस्तान वायुसेनाको युद्ध रेकर्डको प्रशंसा गरे र बंगलादेश वायुसेनाको पुराना हुँदै गएका विमानहरूलाई विस्थापित गर्न र हवाई निगरानी बढाउन हवाई रक्षा रेडार प्रणालीको एकीकरणका लागि सहयोग मागेको पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेसन्सको एक विज्ञप्तिमा भनिएको छ ।
सुपर मुश्शाक प्रशिक्षक विमानको छिटो डेलिभरी गर्ने वाचासँगै जनवरी ६ मा जारी गरिएको विज्ञप्तिमा थपिएको छ, ‘जेएफ–१७ थन्डर विमानको सम्भावित खरिदका बारेमा पनि विस्तृत छलफल भयो ।’
सुपर मुश्शाक हलुका तौल भएको, दुईदेखि तीन सिट भएको, एउटा इन्जिन भएको विमान हो जसमा नखुम्चिने ल्यान्डिङ गियर हुन्छ । यो विमान मुख्यतया तालिमका लागि प्रयोग गरिन्छ । पाकिस्तान बाहेक अजरबैजान, टर्की, इरान, इराक र अन्य सहित १० भन्दा बढी देशहरूले हाल पाइलट तालिमका लागि यो विमान आफ्नो बेडामा समावेश गरेका छन् ।
ठ्याक्कै एक दिनपछि रोयटर्स समाचार एजेन्सीले रिपोर्ट गरेअनुसार पाकिस्तान र साउदी अरब लगभग २ अर्ब डलरको साउदी ऋणलाई जेएफ–१७ लडाकु विमान सम्झौतामा परिवर्तन गर्नका लागि वार्ता गरिरहेका छन् । त्यसले यी दुई लामो समयदेखिका सहयोगीहरू बीचको सैन्य सहयोगलाई अझ सुदृढ बनाउनेछ । यो छलफल गत वर्ष सेप्टेम्बरमा उनीहरूले पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गरेको केही महिनापछि भएको हो ।
डिसेम्बरको अन्त्यमा आएका रिपोर्टहरूपछि यी दुवै घटनाक्रम भएका हुन् । त्यसमा पाकिस्तानले लिबियाको एक विद्रोही गुट स्वघोषित लिबियन नेशनल आर्मीसँग एक दर्जनभन्दा बढी जेएफ–१७ थन्डर विमानको बिक्रीसहित ४ अर्ब डलरको सम्झौता गरेको थियो ।
पाकिस्तानी सेनाले लिबिया वा साउदी अरबसँगको कुनै पनि सम्झौतालाई अझै औपचारिक रूपमा पुष्टि नगरे पनि र बंगलादेशले हालसम्म सम्झौतामा हस्ताक्षर गर्नुको साटो केवल चासो मात्र व्यक्त गरे पनि सन् २०२५ मा भएका घटनाहरूले जेएफ–१७ को आकर्षण बढाएको विश्लेषकहरू बताउँछन् ।
यद्यपि, यस विमानको तुलनात्मक रूपमा सस्तो मूल्य (लगभग २.५ करोड देखि ३ करोड डलर अनुमान गरिएको) का कारण पछिल्लो १० वर्षमा धेरै देशहरूले यसमा चासो देखाएका छन् । तीमध्ये नाइजेरिया, म्यानमार र अजरबैजानको वायुसेनामा यो जेट पहिले नै समावेश भइसकेको छ । हालैका घटनाहरूले पाकिस्तानको हवाई युद्ध क्षमताको प्रतिष्ठालाई बढाएको विश्लेषकहरू बताउँछन् ।
मे महिनामा भारतीय प्रशासित कश्मीरमा बन्दुकधारीहरूले २६ जना नागरिकको हत्या गरेपछि भारत र पाकिस्तानले एकअर्काको क्षेत्र उनीहरूले प्रशासन चलाउने कश्मीरका भागहरू र सैन्य आधारहरूमा मिसाइल र ड्रोन प्रहार गर्दै चारदिने तीव्र हवाई युद्ध लडे । यसका लागि भारतले पाकिस्तानलाई दोष दियो । पाकिस्तानले आक्रमणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेको थियो ।
पाकिस्तानले हवाई युद्धका क्रममा धेरै भारतीय लडाकु विमानहरू खसालेको जनाएको थियो । त्यस दाबीलाई भारतीय अधिकारीहरूले सुरुमा कुनै पनि क्षति भएको अस्वीकार गरे पनि पछि स्वीकार गरे । तर, कतिवटा विमान खसालिएको हो भन्ने संख्या खुलाएनन् ।

‘पाकिस्तान वायुसेनाले धेरै महँगो पश्चिमी र रुसी प्रणालीहरूको तुलनामा उत्कृष्ट प्रदर्शन गर्यो जसले गर्दा यी विमानहरू धेरै वायुसेनाहरूका लागि आकर्षक विकल्प बनेका छन्,’ पाकिस्तान वायुसेनाका पूर्व एयर कमोडोर आदिल सुल्तानले भने ।
भारतीय वायुसेना परम्परागत रूपमा रुसी मिराज–२००० र एसयू–३० जेटहरूमा निर्भर रहँदै आएको छ । तर, सन् २०२५ को लडाइँमा फ्रान्सेली राफेल जेटहरू पनि प्रयोग गर्यो ।
पाकिस्तानले भने हालै आयात गरिएको चिनियाँ जे–१० सी भिगोरस ड्य्रागन र जेएफ–१७ थन्डरका साथै अमेरिकाको एफ–१६ फाइटिङ फाल्कन जेटहरूमा भर पर्यो । पाकिस्तान वायुसेनाका अनुसार, ७२ वटा भारतीय वायुसेनाका विमानहरूसँग लड्न ४२ वटा विमानहरूको समूह परिचालन गरिएको थियो ।
जेएफ–१७ थन्डर के हो, यसले के गर्न सक्छ र किन यति धेरै देशहरूले यसमा चासो देखाइरहेका छन् ?
जेएफ–१७ थन्डर पाकिस्तान एरोनटिकल कम्प्लेक्स र चीनको चङ्तु एयरक्राफ्ट कर्पोरेसनद्वारा संयुक्त रूपमा निर्मित हलुका तौल भएको, सबै मौसममा काम गर्ने, बहु–भूमिका सहितको लडाकु विमान हो ।
पाकिस्तान र चीनले सन् १९९० को दशकको अन्त्यमा यो विमान विकास गर्न सम्झौता गरेका थिए । त्यसको काम सन् २००० को दशकको सुरुमा इस्लामाबादबाट ८० किलोमिटरभन्दा कम दूरीमा पाकिस्तानको पञ्जाब प्रान्तको कामरास्थित पीएसीमा सुरु भएको थियो ।
यस कार्यक्रममा नजिकबाट काम गरेका पाकिस्तान वायुसेनाका एक सेवानिवृत्त एयर कमोडोरले उत्पादन दुई देशहरूबीच विभाजित रहेको बताए । त्यसमा ५८ प्रतिशत काम पाकिस्तानमा र ४२ प्रतिशत चीनमा गरिन्छ ।
‘हामी विमानको अगाडिको भाग र पुच्छर उत्पादन गर्दैछौं जबकि चीनले विमानको बीचको र पछाडिको भाग बनाउँछ । यसमा रुसी इन्जिन प्रयोग गरिएको छ र बेलायती निर्माता मार्टिन बेकरको सिट जडान गरिएको छ । तर, विमानको पूर्ण जडान पाकिस्तानमा गरिन्छ,’ उनले अल जजीरालाई आफ्नो संलग्नताका कारण नाम नबताउने शर्तमा भने ।
यो विमान पहिलोपटक मार्च २००७ मा सार्वजनिक गरिएको र सन् २००९ मा यसको पहिलो संस्करण ब्लक १ समावेश गरिएको उनले बताए । सबैभन्दा उन्नत ब्लक ३ संस्करण सन् २०२० मा सेवामा प्रवेश गर्यो ।
‘पाकिस्तानको पुराना विमानहरू विस्थापन गर्नु यसको मुख्य उद्देश्य थियो र पछि अर्को दशकमा यी विमानहरू हाम्रो वायुसेनाको मुख्य हिस्सा बने । त्यसमा १५० भन्दा बढी लडाकु जेटहरू सामेल छन्,’ उनले भने ।
जेएफ–१७ भन्दा पहिले पाकिस्तान मुख्यतया फ्रान्सेली निर्माता डासल्टको मिराज थर्ड र मिराज ५ का साथै चिनियाँ जे–७ लडाकु विमानहरूमा निर्भर थियो ।
ब्लक ३ संस्करणले जेएफ–१७ लाई लडाकु जेटहरूको ४.५ पुस्तामा राख्छ । यसमा आकाशबाट आकाशमा र आकाशबाट जमिनमा आक्रमण गर्ने क्षमता, उन्नत एभियोनिक्स, एक्टिभ इलेक्ट्रोनिकली स्क्यान्ड एरे रेडार, इलेक्ट्रोनिक युद्ध प्रणाली र दृश्य दायराभन्दा टाढाका मिसाइलहरू प्रहार गर्ने क्षमता छ ।
तिनीहरूको एभियोनिक्स र इलेक्ट्रोनिक क्षमताहरू चौथो पुस्ताका लडाकु विमानहरू जस्तै एफ–१६ र एसयू–२७ भन्दा माथिल्लो स्तरका छन् । यी मुख्यतया गति र आकाशमा आमने–सामनेको लडाइँका लागि बनाइएका थिए ।
एईएसए रेडारले यी विमानहरूलाई एकैपटक धेरै लक्ष्यहरू पछ्याउने क्षमता र लामो दूरीमा बढी दृश्यता प्रदान गर्दछ । यद्यपि, पाँचौं पुस्ताका विमानहरू जस्तो यसमा रेडारबाट बच्ने स्टेल्थ क्षमता भने छैन ।
पाकिस्तान वायुसेनाका अनुसार, यस जेटले मध्यम र कम उचाइमा उच्च चालबाजी प्रदान गर्छ र यसले मारक क्षमता, चपलता र बाँच्न सक्ने क्षमतालाई जोड्छ । त्यसले यसलाई कुनै पनि वायुसेनाका लागि एक शक्तिशाली प्लेटफर्म बनाउँछ ।
एयर स्टाफका प्रमुख, एयर चिफ मार्शल हसन महमूद खानको नेतृत्वमा बंगलादेशको एक उच्चस्तरीय रक्षा प्रतिनिधिमण्डलले एयर चिफ मार्शल जहीर अहमद बाबर सिद्धुसँग भेट गर्यो । बंगलादेशका एयर चिफ मार्शल हसन महमूद खानले जनवरी ६ मा इस्लामाबादमा पाकिस्तानी एयर चिफ मार्शल जहीर अहमद बाबर सिद्धुसँग भेट गरे । त्यसक्रममा जेएफ–१७ को सम्भावित खरिदबारे पनि छलफल भएको थियो ।

म्यानमार जेएफ–१७ किन्ने पहिलो देश थियो । उसले सन् २०१५ मा कम्तीमा १६ वटा ब्लक २ विमान अर्डर गरेको थियो । अहिलेसम्म सातवटा हस्तान्तरण गरिएको छ ।
नाइजेरिया दोस्रो खरिदकर्ता बन्यो जसले सन् २०२१ मा तीनवटा जेएफ–१७ लाई आफ्नो वायुसेनामा समावेश गर्यो ।
अजरबैजानले फेब्रुअरी २०२४ मा १.५ अर्ब डलरभन्दा बढीको १६ वटा जेटको सुरुवाती अर्डर दियो । नोभेम्बर २०२५ मा अजरबैजानले आफ्नो विजय दिवस परेडको क्रममा पाँचवटा जेएफ–१७ सार्वजनिक गर्यो जसले यसलाई औपचारिक रूपमा यस विमानको तेस्रो विदेशी प्रयोगकर्ता बनायो ।
एक मित्रराष्ट्रसँग जेएफ–१७ खरिदका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको सोही महिना पाकिस्तानी सेनाले घोषणा गर्यो । खरिदकर्ताको नाम नबताई यसलाई उल्लेखनीय विकासको रूपमा वर्णन गरिएको थियो ।
इराक, श्रीलंका र साउदी अरब लगायतका अन्य देशहरूले पनि पछिल्लो दशकमा जेएफ–१७ किन्ने विकल्प खोजेका थिए, यद्यपि ती योजनाहरू साकार भएनन् ।
जेएफ–१७ ले पाकिस्तान वायुसेनाको मुख्य लडाकु टोली बनाए पनि यो विमान चिनियाँ वायुसेनाले प्रयोग गर्दैन जुन आफ्नो जे–१०, जे–२० र नयाँ विकसित जे–३५ लडाकु विमानहरूमा बढी निर्भर छ ।
विमानको सम्पूर्ण जडान कामरामा गरिने भएकाले पाकिस्तान जेएफ–१७ लडाकु विमान र यसको बिक्रीपछिको सेवाहरूको मुख्य बिक्रेता हो ।
जेएफ–१७ अन्य लडाकु जेटहरूसँग कसरी तुलना हुन्छ?
हाल विश्वभर सेवामा रहेका सबैभन्दा उन्नत लडाकु विमानहरू अमेरिकी एफ–२२ र एफ–३५, चीनको जे–२० र जे–३५ र रुसको एसयू–५७ जस्ता पाँचौं पुस्ताका जेटहरू हुन् । यी विमानहरूमा स्टेल्थ प्रविधि (रेडारबाट बच्ने प्रविधि) छ जुन जेटका अघिल्ला सबै पुस्ताहरूमा छैन ।
यसको विपरीत, जेएफ–१७ को ब्लक ३ संस्करण ४.५ पुस्तामा पर्छ जसमा स्विडेनको ग्रिपेन, फ्रान्सको राफेल, युरोफाइटर टाइफुन, भारतको तेजस र चीनको जे–१० लगायतका जेटहरू छन् ।
तैपनि, स्टेल्थ क्षमता नभए पनि ४.५ पुस्ताका विमानहरूमा आफ्नो रेडार संकेत कम गर्नका लागि विशेष लेपन गरिएको हुन्छ । त्यसले गर्दा तिनीहरूलाई पत्ता लगाउन गाह्रो हुन्छ यद्यपि असम्भव भने हुँदैन ।
उदाहरणका लागि, ४.५ पुस्ताको जेट शत्रुको रेडार क्षेत्रमा प्रवेश गर्दा यो पत्ता लाग्न सक्छ । तर, यसले आफ्नो इलेक्ट्रोनिक जामिङ क्षमता प्रयोग गरेर संकेतहरू अवरुद्ध गर्ने प्रयास गर्न सक्छ वा फर्कनुअघि लक्ष्यमा आक्रमण गर्न लामो दूरीको मिसाइल प्रयोग गर्न सक्छ ।
अर्कोतर्फ, पाँचौं पुस्ताको विमान यसको भौतिक बनावट र भित्र राखिएका हतियारका कारण रेडारबाट पूर्ण रूपमा जोगिन्छ ।
आधिकारिक मूल्य सार्वजनिक नगरिए पनि जेएफ–१७ को प्रति एकाइ लागत २.५ करोड देखि ३ करोड डलरको बीचमा रहेको अनुमान गरिएको छ । तुलनात्मक रूपमा, राफेलको मूल्य प्रति विमान ९ करोड डलरभन्दा बढी पर्छ भने ग्रिपेनको मूल्य १० करोड डलरभन्दा बढी छ ।
जेएफ–१७ को विकासलाई नजिकबाट नियालेका इस्लामाबादस्थित एक क्षेत्रीय सुरक्षा विश्लेषकले यस जेटको आकर्षण यसको लागत–प्रभावकारिता, कम मर्मत आवश्यकता र युद्ध रेकर्डमा रहेको सोही महिना पाकिस्तानी सेनाले घोषणा गर्यो ।
‘जेएफ–१७ को आकर्षण हेडलाइन प्रदर्शनभन्दा पनि यसको समग्र प्याकेजमा छ । त्यसमा कम मूल्य, लचिलो हतियार एकीकरण, तालिम, स्पेयर पार्ट्स र सामान्यतया पश्चिमी देशहरूका थोरै राजनीतिक शर्तहरू समावेश छन्,’ उनले जेएफ–१७ परियोजनामा आफ्नो संलग्नताका कारण नाम नबताउने शर्तमा अल जजीरालाई बताए ।
‘त्यस अर्थमा जेएफ–१७ पहुँचका लागि अनुकूल बनाइएको एक राम्रो बहु–भूमिका भएको जेट हो । यो सीमित बजेटमा आधुनिकीकरण गरिरहेका वायुसेनाहरूका लागि उपयुक्त हुन सक्छ । तर, यो रेन्ज, पेलोड, इलेक्ट्रोनिक युद्धको परिपक्वता र दीर्घकालीन अपग्रेडको हिसाबले जे–१० सी वा एफ–१६ भी जस्ता उच्चस्तरीय लडाकु विमानहरूको प्रत्यक्ष विकल्प भने होइन ।’
इस्लामाबादको एयर युनिभर्सिटीमा एयरोस्पेस एन्ड स्ट्राटेजिक स्टडीज संकायका डिन समेत रहेका सुल्तानले सन् २०२५ मा भारतीय विमानहरू विरुद्धको प्रदर्शनले जेएफ–१७ को क्षमतालाई पुष्टि गरेको बताए ।
यद्यपि, हवाई युद्धको नतिजा विमानमा मात्र नभई यसलाई कसले चलाइरहेको छ भन्ने कुरामा भर पर्ने उनले सतर्क गराए । ‘जमिन र हवाई रेडार, सञ्चार प्रणाली र तालिमका क्रममा हासिल गरिएका मानवीय सीपहरू जस्ता अन्य प्रणालीहरूसँगको जेटको एकीकरणले सबैभन्दा महत्त्वपूर्ण भूमिका खेल्छ,’ उनले भने ।
जेएफ–१७ मा किन चासो बढ्दैछ?
मे २०२५ मा भारतसँगको चारदिने द्वन्द्वको क्रममा पाकिस्तानको वायुसेनाले फेरि ध्यान आकर्षित गर्यो । विशेषगरी मे ७ को रातमा भारतीय विमानहरूले पाकिस्तानी क्षेत्रभित्रका लक्ष्यहरूमा आक्रमण गरेका थिए ।
पाकिस्तान वायुसेनाका अनुसार, चीनमा निर्मित जे–१० सी जेट उडाएका पाकिस्तानी स्क्वाड्रनहरूले कम्तीमा ६ वटा भारतीय विमान खसाले । भारतीय अधिकारीहरूले सुरुमा क्षति अस्वीकार गरे पनि पछि केही विमानहरू गुमाएको स्वीकार गरे ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दुई देशबीच युद्धविराम गराउन श्रेय लिएका छन् । उनले बारम्बार पाकिस्तानी जेटहरूको प्रदर्शनलाई उजागर गरेका छन् जुन दाबीलाई भारतले कडा रूपमा अस्वीकार गरेको छ ।
यद्यपि, कथित रूपमा विमान खसाल्ने कार्यमा जेएफ–१७ संलग्न थिएन । यो भारतीय विमानहरूलाई संलग्न गर्ने समूहहरूको हिस्सा थियो भनी पाकिस्तान वायुसेनाले जनायो ।
तीन दिनपछि मे १० मा जेएफ–१७ लाई भारतको रुस निर्मित एस–४०० हवाई रक्षा प्रणालीमा हाइपरसोनिक मिसाइलले प्रहार गर्न प्रयोग गरिएको आईएसपीआरले दाबी गर्यो । भारतले आफ्नो रक्षा प्रणालीमा कुनै क्षति भएको कुरा अस्वीकार गरेको छ ।
पाकिस्तानले मे महिनाको द्वन्द्वलाई सीमित रक्षा बजेट भएका देशहरूका लागि जेएफ–१७ लाई युद्ध–प्रमाणित र किफायती विकल्पको रूपमा बजारीकरण गर्न प्रयोग गरिरहेको इस्लामाबादस्थित सुरक्षा विश्लेषकले बताए ।
यद्यपि, सम्भावित खरिदको सम्भावनालाई सावधानीपूर्वक हेरिनुपर्ने उनले थपे ।
‘लडाकु विमान खरिदका लागि खोजमूलक वार्ताबाट हस्ताक्षर गरिएका सम्झौता र डेलिभरीमा परिणत हुन सामान्यतया वर्षौं लाग्ने भएकाले चासोको अभिव्यक्तिलाई सावधानीपूर्वक हेरिनुपर्छ,’ उनले थपे, ‘जबकि पाकिस्तान वायुसेनाले जेएफ–१७ लाई आक्रामक रूपमा बजारीकरण गर्न जारी राखेको छ । तर, ऋणको बदलामा विमान लिने कुरा पाकिस्तान वायुसेनाले सोचेको जस्तो होइन ।’
इस्लामाबादले आफ्नो वायुसेनाको प्रदर्शनलाई रक्षा निर्यात सुरक्षित गर्न र आफूलाई उदाउँदो मध्यम शक्तिको रूपमा प्रस्तुत गर्न एउटा अवसरको रूपमा हेरेको अन्य पर्यवेक्षकहरू सहमत छन् ।
युद्धको प्रदर्शन नै अन्तिम मानक भएको जेएफ–१७ कार्यक्रममा संलग्न सेवानिवृत्त एयर कमोडोरले बताए ।
‘धेरै कम देशहरूले लडाकु जेटहरू बनाइरहेका छन् जसमा अधिकांश बजार पश्चिमी विकासकर्ताहरूको कब्जामा छ जसले प्रायः बिक्रीमा धेरै शर्तहरू जोड्छन्,’ उनले बताए, ‘तर सबैजना विविधता चाहन्छन् र आफ्ना सबै अण्डाहरू एउटै टोकरीमा राख्नबाट बच्न चाहन्छन् । त्यहीँ पाकिस्तानको भूमिका आउँछ ।’
बंगलादेशको सन्दर्भमासन् २०२४ मा सरकार परिवर्तन भएदेखि पाकिस्तानप्रति ढाकाको दृष्टिकोणमा ठूलो परिवर्तन आएको उनले बताए ।
‘यस्ता सम्झौताहरू एउटा प्लेटफर्म वा विमानको बिक्री मात्र होइनन् । यो एक सहकार्य हो, राष्ट्रिय स्तरको सम्झौता हो जसले दुई देशबीचको रणनीतिक तालमेल देखाउँछ,’ उनले भने ।
लडाकु जेटहरू तीनदेखि चार दशकको सेवा जीवन भएका दीर्घकालीन प्रतिबद्धता हुन् ।
‘बंगलादेशले जेएफ–१७ वा सुपर मुश्शाक प्रशिक्षकहरू लिइरहेको छ भने तपाईं निश्चित हुन सक्नुहुन्छ उनीहरू तालिम र बिक्रीपछिका सेवाहरूको लागि लामो समयका लागि यसमा जोडिएका छन् । उनीहरूले चिनियाँ जे–१० मा पनि चासो देखाइरहेका छन् जसको अर्थ रणनीतिक रूपमा उनीहरूले भविष्यमा कससँग मिल्ने भन्ने निर्णय गरिसकेका छन्,’ उनले भने ।








प्रतिक्रिया