सरकारले फुकुवा गर्‍यो साढे ३१ अर्ब बराबरको ११४२ आयोजनाको बजेट


काठमाडौं । सरकारले साढे ३१ अर्ब रुपैयाँको करिब १२ सय पूर्वाधार सम्बन्धी योजनाको बजेट फुकुवा गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका प्राथमिकता प्राप्त क्षेत्रका ३१ अर्ब ६९ करोड रुपैयाँ बराबरको १ हजार १ सय ४२ वटा योजनाको बजेट फुकुवा गरिएको छ ।

आवश्यकता, औचित्य र पूर्वतयारीको आधारमा सम्पन्न भइसकेका र सम्पन्न हुन बाँकी रहेका महत्त्वपूर्ण योजनाहरूको बजेट फुकुवा गरिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् ।

अर्थमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै रामेश्वर खनालले आवश्यकता, औचित्य र पूर्वतयारी नभएका पूर्वाधारका टुक्रे योजनाहरूको बजेट होल्ड गर्ने घोषणा गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायतका विकासे मन्त्रालयहरूको ९० अर्ब रुपैयाँ बराबरको बजेट होल्ड गर्न लगाएका थिए ।

तत्कालीन समयमा यस्ता विकासे मन्त्रालयअन्तर्गतका ३ करोडसम्मका टुक्रे योजनाको बजेट होल्ड गर्न लगाएका थिए । अर्थ मन्त्रालयले औचित्य र आवश्यकताको आधारमा सञ्चालनमा रहेका र दूरगामी प्रभाव पार्न सक्ने योजनाहरूका बारेमा अध्ययन गरी क्रमिक रूपमा बजेट फुकुवा गर्न थालेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट गरी ८९ अर्ब ५४ करोड रुपैयाँ बराबरको खुद्रे योजनाको बजेट सरकारले होल्डमा राखेको थियो । यसमध्ये सहरी विकास मन्त्रालयको मात्रै २ हजार १ सय खुद्रे योजना होल्डमा परेका थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयतर्फ करिब १३ अर्ब रुपैयाँ बराबरको ४ सय ५० भन्दा बढी खुद्रे योजनाको बजेट होल्ड गरिएको थियो । त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत २० करोड रुपैयाँसम्मका १ अर्ब ४ करोड रुपैयाँ बराबरको योजनाहरू होल्डमा राखिएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयतर्फ ५० करोड बजेट होल्ड गरिएको थियो ।