
एजेन्सी । आजको विश्वमा भेनेजुएलाको हैसियत बुझ्नका लागि तेल, विचारधारा वा शीतयुद्धकालीन भूराजनीतिको परिचित भाष्यमा मात्र भर पर्नु पर्याप्त छैन ।
ती २०औं शताब्दीका कुरा हुन् । सन् २०२६ को भेनेजुएलालाई २१औं शताब्दीको सैन्य र प्राविधिक दृष्टिकोणबाट हेरिनुपर्छ ।
त्यसलाई भौतिक पूर्वाधारसँग जोडिएको कृत्रिम बुद्धिमत्ता (एआई) ले परिभाषित गर्दछ । यस परिवर्तनले भेनेजुएला किन महत्त्वपूर्ण छ, कसले यसमा चासो राख्छ र वास्तवमा के कुरा जोखिममा छ भन्ने तथ्यलाई मौलिक रूपमा परिवर्तन गरिदिन्छ ।
आधुनिक सैन्यशक्ति अब सेनाको आकार वा ट्यांक र लडाकु विमानको संख्यामा मात्र मापन गरिँदैन । समकालीन प्रतिस्पर्धा स्वचालित प्रणाली, ड्रोन, उन्नत सेन्सर, सटीक–निर्देशित हतियार र इलेक्ट्रोनिक युद्ध क्षमताहरूमा केन्द्रित छ । यी सबै प्रणालीहरूको केन्द्रमा एआई छ ।
तर, यो क्लाउडमा आधारित सफ्टवेयर मात्र होइन । यो सीधा हार्डवेयरमा समाहित एआई हो जसमार्फत मशिनहरूले आफैं देख्न, निर्णय गर्न, मार्गनिर्देशन गर्न, लक्ष्य निर्धारण गर्न र वास्तविक समयमा कारबाही गर्न सक्छन् । एआई यसरी भौतिक स्वरूपमा आउँदा शक्तिराष्ट्रको रणनीतिक ध्यान त्यसको निर्माणमा उपयोग हुने कच्चा पदार्थतर्फ मोडिन्छ ।
यस नयाँ परिवेशमा तेलले आफ्नो केन्द्रीयता गुमाउँदैछ । त्यसको साटो दुर्लभ खनिज पदार्थ र रणनीतिक खनिजहरू जस्तै ट्यान्टलम, कोबाल्ट र एन्टिमोनी महत्त्वपूर्ण स्रोत बनेका छन् । यी सामग्रीहरू एआई प्रणालीका आधारभूत अंग हुन् ।
यिनीहरू सेमिकन्डक्टर, सेन्सर, गाइडेन्स सिस्टम, ब्याट्री, रेडार र सञ्चार हार्डवेयरका लागि अपरिहार्य छन् । यिनीहरू बिना एआई–सक्षम सैन्य प्रणालीहरूले काम गर्न सक्दैनन् । यी खनिजहरू वास्तवमा आधुनिक एआईका परमाणुहरू हुन् ।
भेनेजुएलामा यस्ता महत्त्वपूर्ण सामग्रीहरूको ठूलो भण्डार छ । यस तथ्यले मात्रै भेनेजुएलाको रणनीतिक महत्त्वलाई यसको परम्परागत भूमिकाभन्दा धेरै माथि उठाएको छ । यस युगमा सैन्य लाभ एआई प्रणालीहरू निर्माण र सञ्चालन गर्ने क्षमतामा निर्भर हुन्छ । यस्तोमा यी खनिजहरूमाथिको पहुँच र नियन्त्रण राष्ट्रिय सुरक्षाको उच्च प्राथमिकताको विषय बन्छ । वाशिङटनको दृष्टिकोणबाट भेनेजुएला स्रोतसाधन भएको देश मात्र होइन, बरू यो गलत शासकको हातमा परेको देश हो ।
यी खनिज पदार्थहरू भेनेजुएलाको माटोमा हुनु मात्र गम्भीर मुद्दा होइन । बरू यसमा कसको नियन्त्रण छ भन्ने कुरा महत्त्वपूर्ण छ । हालैको इतिहासले आपूर्ति शृंखलामाथिको नियन्त्रणलाई कसरी हतियारको रूपमा प्रयोग गर्न सकिन्छ भन्ने देखाइसकेको छ।
चीनले विश्वभरिका महत्त्वपूर्ण खनिजहरूको प्रशोधनमा आफ्नो वर्चस्व प्रकट गरिसकेको छ । सन् २०२५ को मध्यसम्ममा यो वर्चस्व प्रशोधनमा मात्र सीमित रहेन । चीनले भेनेजुएलाका खानीहरूमा प्रत्यक्ष परिचालन नियन्त्रण कायम गरेको छ । त्यसले गर्दा उत्खननदेखि ढुवानीसम्म चीनको प्रभाव फैलिएको छ ।
यस विकासले भेनेजुएलालाई स्रोतसम्पन्न देशबाट विश्वव्यापी एआई हतियार दौडको एक रणनीतिक केन्द्रमा परिणत गरिदियो । कच्चा पदार्थमाथि नियन्त्रण एउटा कुरा हो । तर, तिनको उत्खनन, प्रशोधन र वितरणमा नियन्त्रण हुनु अर्कै कुरा हो । समकक्षी भूराजनीतिक प्रतिद्वन्द्वीले एआईका लागि आवश्यक सामग्रीहरूको आपूर्ति शृंखलाको ठूलो हिस्सा ओगट्दा शक्तिको सन्तुलन सूक्ष्म तर गहिरो रूपमा परिवर्तन हुन थाल्छ ।
यसै समयमा भेनेजुएला अन्य विरोधी शक्तिहरूका लागि एउटा प्लेटफर्म बन्न पुग्यो । इरानले भेनेजुएलाको भूमिमा ड्रोन उत्पादन केन्द्र स्थापना गरिदियो । त्यसले अमेरिकाको निकट दायरामा स्वचालित हतियार उत्पादनलाई सम्भव बनायो ।
यो कुनै प्रतीकात्मक कदम वा कूटनीतिक इशारा मात्र थिएन । यो एक ठोस सैन्य विकास थियो जसले पश्चिमी गोलार्धको सुरक्षा परिदृश्यलाई नै बदलियो । ड्रोनहरू अब सहायक उपकरण मात्र होइनन् । तिनीहरू आधुनिक युद्धका केन्द्र हुन् जो कम लागतमा निगरानी, सटीक आक्रमण र सुरक्षा अवरोध गर्न सक्षम छन् ।
अर्कोतर्फ, रुसले यस क्षेत्रमा सल्लाहकारहरू, रेडार प्रणालीहरू र हवाई रक्षा पूर्वाधारहरू एकीकृत गरेर आफ्नो सैन्य उपस्थिति बलियो बनायो । रुसका यी प्रणालीहरूले स्थितिगत चेतना (सिचुएशनल अवेयरनेस) बढाउँछन् र हवाई क्षेत्रको नियन्त्रणलाई जटिल बनाउँछन् । यो कुनै साधारण गठबन्धन मात्र नभई एकै भूगोलमा अमेरिकाका तीन प्रतिद्वन्द्वीहरूको स्वार्थ र क्षमताको संगम थियो ।
यही संगमले वास्तवमा सबै हिसाबकिताब बदलिदिएको छ । भेनेजुएला पश्चिमी गोलार्धको यस्तो एकमात्र स्थान बन्यो जहाँ चीनले एआईका लागि आवश्यक सामग्री नियन्त्रण गर्छ, इरानले स्वचालित हतियार बनाउँछ र रुसले सैन्य पूर्वाधार एकीकृत गर्छ । यी तत्त्वहरू छुट्टाछुट्टै हुँदा पनि चिन्ताको विषय हुन्थे । तर, सँगै हुँदा यिनीहरूले अमेरिकाका लागि तेल निर्यात वा विचारधाराभन्दा धेरै ठूलो संरचनात्मक चुनौती खडा गर्छन् ।
यो एआई, हार्डवेयर र आपूर्ति शृंखला नियन्त्रणमा केन्द्रित नयाँ प्रकारको भूराजनीतिक प्रतिस्पर्धाको भौतिक स्वरूप हो ।
एआईद्वारा सञ्चालित विश्वमा आपूर्ति शृंखला सुरक्षा र राष्ट्रिय सुरक्षाबीच कुनै भिन्नता हुँदैन । एआई प्रणाली सञ्चालन गर्ने सामग्रीहरूमा भरपर्दो पहुँच सुनिश्चित गर्ने क्षमताले नै कुनै देशले आफ्नो सैन्य, प्राविधिक र आर्थिक स्थिति कायम राख्न सक्छ कि सक्दैन भन्ने कुरा निर्धारण गर्छ । यस अर्थमा आजका महत्त्वपूर्ण खनिजहरूले त्यही रणनीतिक भूमिका खेलिरहेका छन् जुन गत शताब्दीमा तेलले खेलेको थियो ।
भेनेजुएला नै किन ? दशकौंदेखिको भाष्यले गर्दा भेनेजुएलामाथि अमेरिकाको आक्रमण तेलको बारेमा मात्र हो भन्ने लागे पनि वास्तवमा त्यसो होइन । वास्तविक मुद्दा कृत्रिम बुद्धिमत्ताको भौतिक आधारमाथिको नियन्त्रण हो । ती सामग्री, पूर्वाधार र औद्योगिक क्षमतामाथिको नियन्त्रणले नै एआईलाई डेटा सेन्टरमा मात्र सीमित नराखी भौतिक संसारमा वास्तविक बनाउँछ ।
यही प्रवृत्ति सन् २०२६ मा विश्वभरि देख्न सकिनेछ । सरकारहरूले ठूला विद्युत् उत्पादन आयोजनाहरूमा लगानी गरिरहेका छन्, विद्युत् ग्रिडहरू सुधारिरहेका छन् र पूर्ण रूपमा टाढाको क्लाउड पूर्वाधारमा भर पर्नुको साटो आफ्नै देशमा एआई पूर्वाधार निर्माणमा जोड दिइरहेका छन् ।
महत्त्वपूर्ण खनिजहरूको भण्डारण बढिरहेको छ र आपूर्ति शृंखलाहरूलाई लचिलो र सार्वभौम बनाउन पुनःसंरचना गरिँदैछ । यी छुट्टाछुट्टै पहल होइनन् । यी सबै एउटै साझा बुझाइका परिणाम हुन् । एआई अब सफ्टवेयरको कथा मात्र रहेन । यसलाई ऊर्जा, सामग्री, कारखाना र ढुवानी चाहिन्छ । यसले औद्योगिक नीति, सैन्य योजना र भूराजनीतिक रणनीतिलाई नयाँ आकार दिन्छ । जुन देशहरूले यो कुरा बुझेका छन्, तिनीहरूले आफूलाई सोही अनुसार तयार पारिरहेका छन् ।
भेनेजुएला ठ्याक्कै यस परिवर्तनको केन्द्रमा छ । त्यहाँको भूभागले खनिज सम्पदा, विरोधी शक्तिहरूको प्रभाव र सैन्य पूर्वाधारलाई यसरी जोड्दछ जुन विश्वका थोरै ठाउँमा मात्र सम्भव छ । त्यसैले, भेनेजुएलाको भूमिकाको कुनै पनि गम्भीर विश्लेषण पुराना मान्यताभन्दा माथि उठेर उदीयमान यथार्थलाई स्वीकार गर्ने किसिमको हुनुपर्छ ।
एआई, पूर्वाधार र सैन्यशक्तिको भविष्यलाई सोचेर अमेरिकाले कदम चालेको हो । भेनेजुएला अनपेक्षित रूपमा त्यो भविष्य साकार पार्ने केन्द्रमा रहेको छ ।








प्रतिक्रिया