कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी ‘विराट ट्रेड एक्स्पो २०२५’ आजदेखि


विराटनगर । कोशी प्रदेशकै बृहत् अन्तर्राष्ट्रिय स्तरीय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी ‘विराट ट्रेड एक्स्पो २०२५’ आजदेखि सुरु हुँदै छ ।

उद्योगी व्यवसायीहरूको जेठो संस्था मोरङ उद्योग व्यापार संघको आयोजनामा पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगर–१, शान्ति चोकमा सञ्चालन हुने एक्स्पोको उद्घाटनका लागि अर्थमन्त्री रामेश्वर खनाल आज विराटनगर आउने आयोजकको भनाइ छ।

एक्स्पोले कोशी प्रदेशसहित देशभरका औद्योगिक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, ऊर्जा लगायत विभिन्न क्षेत्रका उत्पादन तथा सेवाको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

एक्स्पोमा स्टार्टअप, महिला तथा युवा उद्यमीलाई स्वदेशी तथा विदेशी लगानीकर्तासँग व्यावसायिक सम्बन्ध स्थापना र विस्तारका लागि साझा मञ्च प्रदान गर्ने आयोजकको भनाइ छ ।

कोशी पर्यटन वर्ष २०८२ को प्रवर्द्धनलाई केन्द्रमा राख्दै एक्स्पोमार्फत कोशी प्रदेशको संस्कृति, परम्परा तथा पर्यटकीय गन्तव्यहरूको प्रचार–प्रसार गरिनेछ । एक्स्पो स्थलमा निर्मित ३ वटा ह्याङ्गर र २०० भन्दा बढी स्टलमार्फत कृषि तथा औद्योगिक उत्पादन, कला–संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका सेवासँगै भारत, बंगलादेश, पाकिस्तान लगायत विभिन्न मुलुकका उत्पादनहरू प्रदर्शनीमा राखिनेछन् ।

एक्स्पोमा लगातार ८ दिनसम्म स्टार्टअप, महिला उद्यमशीलता, पर्यटन, एआई, सूचना प्रविधि लगायतका विषयमा थिमेटिक सेसन र सेमिनार सञ्चालन गरिनेछ । सहभागीलाई ज्ञान, सीप र अवसर प्रदान गर्ने उद्देश्यले स्विस कन्ट्र्याक्ट, आइडिया स्टुडियोजस्ता पेसागत संस्थासँग सहकार्य गरिएको आयोजकले जनाएको छ ।

कोशी प्रदेश सरकार र विराटनगर महानगरपालिकाको प्रवर्द्धन रहेको यस एक्स्पोलाई रमपम तयारी चाउचाउ र मारुती सिमेन्टले मुख्य प्रायोजन गरेका छन् । खुकुरी रम, सेन्चुरी मसला र ग्रिन टायर्स गोल्ड स्पोन्सरका रूपमा रहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, उद्योग संगठन मोरङ लगायत विभिन्न संघ–संस्थाहरू सहयोगी संस्थाका रूपमा आबद्ध छन् ।

त्यस्तै, एक्स्पोमा सिल्भर स्पोन्सर, नलेज पार्टनर, बैंकिङ, इन्स्योरेन्स, हेल्थ, सोलार, सेक्युरिटी, एजुकेसन लगायत विभिन्न पार्टनरहरूको समेत सहभागिता रहेको छ ।

एक्स्पोमा करिब २ लाख दर्शकको आगमन हुने र करिब ३० करोडको आर्थिक कारोबार हुने अनुमान गरिएको एक्स्पोका संयोजक तथा मोरङ उद्योग व्यापार संघका सचिव अमितकुमार सारडाले बताए ।