विराटनगरका २ क्यासिनोमा प्रहरीले मार्‍यो छापा, २ व्यवस्थापकसहित २० नेपाली पक्राउ


विराटनगर । प्रहरीले विराटनगरका दुई क्यासिनोमा छापा मारेर २० जना नेपाली नागरिकलाई पक्राउ गरेको छ ।

आइतबार मध्यराति प्रहरीले बिग होटलभित्र सञ्चालित च्याम्पियन जोन क्यासिनोबाट ६ जना र रत्ना होटलभित्रको गोल्डेन क्यासिनोबाट १४ जना पक्राउ गरेको हो ।

क्यासिनोमा नेपाली नागरिक प्रवेश निषेध भए पनि विराटनगरका यी दुई क्यासिनोमा नेपालीको सहज आवतजावत हुँदै आएको थियो भने पटक पटक ति क्यासिनोमा विवाद र झैझगडासमेत हुने गरेको थियो ।

पक्राउ पर्नेमा गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका व्यवस्थापक रामकृष्ण गौतमसमेत छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख कबित कटुवालका अनुसार पक्राउ परेकाहरूविरुद्ध जुवा ऐनअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको छ ।

क्यासिनो जुवा वा मनोरञ्जनको थलो नभएर राजनीतिक प्रभाव र अवैध आर्थिक कारोबारको केन्द्र बन्दै गइरहेको विराटनगरका स्थानीयवासीको भनाइ छ । विराटनगरदेखि काँकडभिट्टासम्मका क्यासिनो कानुनभन्दा माथि राजनीतिक पहुँच र पैसाको खेल देखिने गरेको आरोप लाग्ने गरेको छ ।

क्यासिनो सञ्चालन कार्यविधि २०८२ ले सीमा नाकादेखि ५ किलोमिटरभित्र क्यासिनो सञ्चालन गर्न निषेध गरेको छ । तर विराटनगर, झापाको विर्तामोड र काँकरभिट्टका क्यासिनोले यो कार्यविधि कार्यान्वयन गरेको देखिको छैन ।

विराटनगरमा बिग होटलको च्याम्पोन जोन, रत्ना होटलको स्मार्ट क्यासिनो तथा झापामा दुई ठूला र दुई साना गरी चारवटा क्यासिनो संचालित छन् । काँकडभिट्टामा ह्याप्पी आवर र एसएस लङ मिनी क्यासिनो सञ्चालित छन् ।