
विराटनगर । विराटनगर र झापाका पाँचतारे होटलले सञ्चालन गर्दै आएका क्यासिनो सामाजिक विकृति र झगडाको अखडा बन्दै गएका छन् । यी क्यासिनोहरु राजनीतिक दलका कार्यकर्ताको संरक्षण रहँदा ग्याङफाइट र झगडाको अखडाका रुपमा चिनिनुका साथै हरेक दिन लफडा हुने गरेको पाइएको छ । तर कुनै पनि लफडामा संलग्नलाई प्रहरी प्रशासनले नियन्त्रणमा लिएर कारबाही गरेको तथ्याङक स्थानीय प्रहरी प्रशासनसँग छैन ।
क्यासिनो जुवा वा मनोरञ्जनको थलो नभएर राजनीतिक प्रभाव र अवैध आर्थिक कारोबारको केन्द्र बन्दै गइरहेको विराटनगरका स्थानीयवासीको भनाइ छ । विराटनगरदेखि काँकडभिट्टासम्मका क्यासिनो कानुनभन्दा माथि राजनीतिक पहुँच र पैसाको खेल देखिने गरेको आरोप लाग्ने गरेको छ ।
क्यासिनो सञ्चालन कार्यविधि २०८२ ले सीमा नाकादेखि ५ किलोमिटरभित्र क्यासिनो सञ्चालन गर्न निषेध गरेको छ । तर विराटनगर, झापाको विर्तामोड र काँकरभिट्टका क्यासिनोले यो कार्यविधि कार्यान्वयन गरेको देखिको छैन ।
विराटनगरमा बिग होटलको च्याम्पोन जोन, रत्ना होटलको स्मार्ट क्यासिनो तथा झापामा दुई ठूला र दुई साना गरी चारवटा क्यासिनो संचालित छन् । काँकडभिट्टामा ह्याप्पी आवर र एसएस लङ मिनी क्यासिनो संचालित छन् ।
यो क्षेत्रका क्यासिनोलाई न त सीमा क्षेत्रको दूरीले असर गरेको न त क्यासिनो सञ्चालन कार्यविधिले छोएको छ । क्यासिनोमा स्थानीय राजनीतिक दलका दादाहरुको राज चल्दा स्थानीय प्रहरी प्रशासन मुकदर्शक देखिन्छन् ।
कोशी प्रदेशको राजधानी विराटनगरको रत्ना होटलको क्यासिनोभित्र गत चैत पहिलो साता झिलिमिली बत्तीमुनि जुवाडेहरू जुवा खेल्नमा मस्त थिए । केही क्षणमै त्यो मस्तीको वातावरण एकाएक राणभूमिमा परिणत भयो ।
विवादास्पद व्यवसायी अभिषेक गिरी र एमाले जिल्ला कमिटी सदस्य किरण लामाका समूहबीचको झडपले क्यासिनो कुटाकुटको मैदानमा परिणत भएकाे स्थानीयको भनाइ छ ।
क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश निषेध भए पनि प्रहरी प्रशासनको मौनताले यस्तो गतिविधि खुलेआम चलिरहेको छ । त्यति मात्र होइन यहाँका क्यासिनोहरूमा चलिरहेको राजनीतिक संरक्षण, कानुनी उल्लंघन र आर्थिक अपराध दिनहुँ खुलेआम भइरहदा पनि स्थानीय प्रहरी प्रशासन मौन छन् । किन कि क्यासिनोवाट स्थानीय प्रहरी प्रशासन प्रमुखको भरणपोषण हुँदै आएको स्थानीयको दाबी छ ।
घटनास्थलमा प्रहरी पुग्दा दुबै समूह भागिसकेका थिए । यो झगडा व्यक्तिगत विवादले मात्रै निम्तिएको भने हैन । विराटनगर र पूर्वका सहरहरुमा वर्षौदेखि नियमविपरित संचालित क्यासिनोका कारण भएको हो । नेपाली नागरिकलाई क्यासिनो खेल्न निषेध छ । तर, पूर्वका सवै क्यासिनोका मुख्य ग्राहक नै नेपाली छन् । क्यासिनो खेल्ने क्रममा गिरी र लामा समूहबीच विवादपछि झडप भएको स्रोतको भनाइ छ ।
‘क्यासिनोमा नेपाली प्रवेशमा रोक भए पनि यहाँ त्यस्तो छैन,’ स्रोतले भन्यो, ‘क्यासिनोमा बारम्बार विवाद र झगडा हुने गरेको छ तर त्यसलाई प्रहरीले नजरअन्दाज गरेको छ । किनकी त्यस्ता क्यासिनोमा पुग्ने र लफडा गर्ने प्राय हाइप्रोफाइल र दल संरक्षित व्यक्ति हुने गरेका छन् ।’
पूर्वमा संचालित क्यासिनोमा पटक–पटक यस किसिमका घटना हुदै आएका छन् । कुनै घटना सतहमै आउँछन्, कुनै गोप्य नै राखिन्छ । विराटनगर मात्रै होइन, झापाको विर्तामोड, मेचीनगरको धुलावारी, काँकडभिट्टामा त कानुनको प्रत्यक्ष उल्लंघनै भइरहेको पनि यहाँका स्थानीयको भनाइ छ ।
झापामा दुई ठूला र दुई साना गरी चारवटा क्यासिनो संचालित छन् । काँकडभिट्टामा ह्याप्पी आवर र एसएस लङ मिनी क्यासिनो संचालित छन् । यी दुवै क्यासिनो अन्तर्राष्ट्रिय सीमा नाकाबाट केवल ५ सय मिटर भित्र छन् । तर, क्यासिनो सञ्चालन कार्यविधि २०८२ ले सीमा नाकादेखि ५ किलोमिटरभित्र क्यासिनो सञ्चालन गर्न निषेध गरेको छ ।
‘कानुनको त्यो रेखा यहाँ भने निरर्थक देखिन्छ । क्यासिनो खुलेआम चलिरहेका छन्, पर्यटक ओइरिन्छन्, र स्थानीय प्रशासन मौन छ,’ एक स्थानीय व्यवसायी भन्छन्, ‘हामीलाई चिया पसल खोल्नसमेत अनुमति चाहिन्छ, तर उनीहरू खुलेआम निषेधित क्षेत्रमा जुवा खेलाई रहेका छन ।’
पर्यटन विभागका अधिकारीदेखि प्रहरी प्रशासनसम्म कसैले पनि कारबाही गरेको प्रमाण छैन । वास्तवमा, नियमनको जिम्मेवारी पाएको पर्यटन कार्यालयले स्थानीय तहमा कुनै निगरानी नगरेको स्वीकार गर्दछ ।
सीमा क्षेत्रमा सुरक्षाको जिम्मेवारी लिने सशस्त्र प्रहरी समेत मौन छ । कानुन कागजमा मात्रै सीमित रहँदा व्यवहारमा पैसाको प्रभावले सबै कुरा ढाकिएको विराटनगरका एक व्यवसायीको बुझाइ छ ।
विराटनगर, विर्तामोड र काँकडभिट्टाका क्यासिनोहरुबीच अब एउटै ‘नेटवर्क’ बनेको देखिन्छ । बिर्तामोडको द किङ्सबेरी होटलभित्र ‘सेभेन हर्स क्यासिनो’ र काँकरभिट्टाको होटल मेची क्राउनभित्र ‘क्यासिनो भेगास’ चलिरहेका छन् । यी क्यासिनोहरूमा पनि कानुनी प्रतिबन्धका बाबजुद नेपाली नागरिकहरूको सहज प्रवेश पाइन्छ ।
स्थानीयहरूका अनुसार, क्यासिनोमा फस्ने व्यवसायीहरूले ऋणमा डुबेर व्यवसाय चौपट्ट पारिरहेका छन्, कतिपयले आत्महत्यासम्म गरेका छन् । स्थानीय व्यवसायी भन्छन्, ‘क्यासिनोले पैसा होइन, विनाश ल्यायो । जुवाको कुलतमा परेकाहरुको घर–परिवार लथालिङ्ग भएको छ ।’
‘क्यासिनो सञ्चालकहरूले सुरक्षा अधिकारीहरूलाई मासिक रकम बुझाउने चलन छ । त्यसको बदलामा प्रहरीले ‘निरीक्षणको नाटक’ मात्र गर्ने गर्छ,’ एक क्यासिनोका उच्च अधिकारीले क्लिमान्डुसँग भने, ‘क्यासिनोमा स्थानीय युवा निर्वाध छिर्नु र राजनीतिक संरक्षण हुने यसको ज्वालन्त उदाहरण हो ।’
अभिषेक गिरीदेखि किरण लामासम्मका पात्रहरू क्यासिनोको मात्र होइन, राजनीति र अपराधको संगम हुन् । गिरी अपहरण र शरीर बन्धक मुद्दामा जेल भुक्तान गरेर बाहिर निस्केका पात्र हुन् । उनी कांग्रेसको संरक्षणमा समाजसेवीका नाममा ‘गिरी फाउन्डेसन’ अभियान सञ्चालन गरेर बसेका छन् । उनले आफूलाई बाहिरी रुपमा भने समाजसेवीको नामले चिनिने प्रयास गरिरहेका छन् । त्यस्तै एमालेका लामा मिटरब्याज असुली र जग्गा कारोबारका आरोपी हुन् ।
क्यासिनो जुवा वा मनोरञ्जनको थलो नभइ, राजनीतिक प्रभाव र अवैध आर्थिक कारोबारको केन्द्र बन्दै गइरहेको विराटनगरका स्थानीयवासीको भनाई छ । होटल रत्ना नजिकका एक व्यवसायीले भने, ‘क्यासिनो अपराधको अड्डा बन्दा समाज त्रसित बनेको छ ।’
प्रहरी प्रशासन भने कानुनको अधिनमा रही आफूहरूले कार्यसम्पादन गरिरहेको बताउँछ ।







प्रतिक्रिया