
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।
सोमबार न्यायाधीशद्वय शारंगा सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासमा भएको सुनुवाइ नसकिएपछि मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखिएको छ । यससँगै उक्त रिटमाथि मंगलबार पनि निरन्तर सुनुवाइ हुने भएको छ ।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतमा विचाराधीन रहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाहरू संशोधन गरी फिर्ता लिन जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिएकी थिइन् ।
उक्त निर्णय कानुनविपरीत रहेको दाबी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल ‘सफल’ ले सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरेका थिए ।
महान्यायाधिवक्ता भण्डारीले गत पुस ३० गते लामिछानेमाथि सहकारी ठगीमा मात्र मुद्दा चलाउन र संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको अभियोग संशोधनमार्फत फिर्ता लिन मातहतका कार्यालयहरूलाई पत्राचार गरेकी थिइन् । सोही निर्देशनका कारण उत्पन्न कानुनी विवादमा अहिले सर्वोच्चले न्यायिक निरुपण गरिरहेको छ ।







प्रतिक्रिया