रोहितले पाएनन् दीपेन्द्रले झैं लाभ : सरकारले करछुट नदिने, गाडी दिने शारडा ग्रुपले नतिर्ने

1.8k
Shares

काठमाडौं । दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल)को उत्कृष्ट खेलाडी बनेर पाएको गाडी पुरस्कारमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल आफैंले कर तिर्नुपर्ने भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान समेत रहेका पौडेललाई सरकारले कर छुट नदिने भएको हो भने गाडी दिने कम्पनीले पनि कर नतिर्ने भएको हो ।

कप्तान पौडेलको उत्कृष्ट अलराउन्ड प्रदर्शन प्रेरित लुम्बिनी लायन्सले एनपीएलमा कमब्याक गर्दै उपाधी जितेको थियो । रोहितले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको रूपमा गाडी र सर्वाधिक रन बनाउने नेपाली खेलाडी बन्दै मोटरसाइकल जितेका थिए । उनले गाडी र बाइक आफ्नो नाममा नामसारी गर्न साढे १६ लाख रुपैयाँ कर तिर्नुपर्नेछ ।

गत सिजनको एनपीएलमा उत्कृष्ट खेलाडी बनेर दिपेन्द्रसिंह ऐरीले गाडी जितेका थिए । त्यतिबेला गाडीको कर पुरस्कारदाता कम्पनीले नै तिरिदिएको थियो ।

रोहित नै नेपाली खेलाडीहरूमध्ये सर्वाधिक रन बनाउने खेलाडी पनि बनेका थिए । उनले प्रतियोगिताभर कुल २७६ रन प्रहार गरे भने बलिङतर्फ फाइनल खेलमा ह्याट्रिकसहित १० विकेट लिए । रोहितले कारसहित उत्कृष्ट ब्याटर बनेर पल्सर मोटरसाइकल पनि जितेका छन् ।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीले पाएको जेको जे ५ कारको मूल्य ६१ लाख ९९ हजार रूपैयाँ रहेको छ । साथै उनले जितेको पल्सर बाइकको मूल्य ४ लाख २० हजार रूपैयाँ रहेको छ । यसरी उत्कृष्ट खेलाडी बनेर रोहितले जितेको कार र बाइकको कुल मूल्य ६६ लाख १९ हजार रूपैयाँ हुन्छ ।

आयकर ऐनको दफा ८८ ‘क’ यसरी प्राप्त गरेको आकस्मिक लाभमा २५ प्रतिशत कर तिर्नु पर्नेछ । अर्थात् रोहितले पाएको कार र बाइकको मूल्यमा २५ प्रतिशत कर तिर्नुपर्ने भएको हो ।

ऐनको दफा ८८’क’ को उपदफा १ मा साहित्य, संस्कृति, खेलकुद, पत्रकारिता, विज्ञान, प्रविधि तथा सार्वजनिक प्रशासन क्षेत्रमा योगदान पु¥याए बापत प्राप्त हुने राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका ५ लाख रुपैयाँसम्मको पुरस्कारमा आकस्मिक लाभ कर लाग्ने छैन भनिएको छ । यसअनुसार उनले विगतमा ५ लाख सम्मको पुरस्कार पाएको अवस्थामा ६६ लाख ९९ हजारको २५ प्रतिशत अर्थात् १६ लाख ५४ हजार ७५० रुपैयाँ कर तिर्नु पर्ने छ । यसअघि ५ लाख बराबरको पुरस्कार पाइ नसकेको भए कार र बाइकको १५ लाख ३५ हजार रुपैयाँ कर बुझाउनु पर्नेछ ।

गत वर्ष सुदूरपश्चिमका कप्तान दिपेन्द्र सिंह ऐरी उत्कृष्ट खेलाडी बन्दै कार पुरस्कार जितेका थिए । त्यतिबेला उनले जितेको कारको कर तिर्नुपर्ने समाचार क्लिकमान्डुमा प्रकाशन भएपछि कार उपहार दिने कम्पनीले कर तिरिदिएको थियो ।

आयकर ऐन अनुसार नेपाल सरकारले पुरस्कारमा लाग्ने करमा छुट भने दिन सक्छ । नेपाल सरकार मन्त्रिपरिषद्ले निर्णय गरी पुरस्कारमा कर छुट दिने सक्ने व्यवस्था आयकर ऐनमा छ ।

अर्थमन्त्री रामेश्वर खनालले खेलाडीलाई करछुट नदिने स्पष्ट पारे । ‘म मन्त्री भएर आएर आइसकेपछि कसैलाई कुनै पनि प्रकारको कर छुट दिएको छैन,’ खनालले क्लिकमान्डुसँग भने, ‘खेलाडीको हकमा पनि त्यही हुन्छ, कि त पुरस्कार दिने कम्पनीले कि त पुरस्कार पाउने व्यक्तिले कर तिर्नुपर्छ ।’

यता शारडा ग्रुपका निर्देशक पवनकुमार शारडाले कम्पनीले गाडीको सबै कर तिरेर खेलाडीलाई हस्तान्तरण गरेको भन्दै आयकर तिर्ने जिम्मेवारी पुरस्कार पाउने खेलाडीको रहेको बताए । ‘सरकारले छुट दियो भने अर्कै कुरा हो । पुरस्कार पाएको गाडीको आयकर तिर्ने जिम्मेवारी स्वयं पुरस्कार पाउने खेलाडीको हो,’ शारडाले भने, ’तर खेलाडीले कम्पनीको ब्राण्ड एम्बास्डर गर्ने सम्झौता गर्छन् भने हामी आयकर तिरिदिन्छौं ।’

गत वर्ष ऐरीले शारडा ग्रुपसँग ब्रान्ड एम्बास्डरको बन्ने सर्त मानेर आयकर आफैं तिर्नबाट जोगिएका थिए । शारडाको प्रस्तावअनुसार क्रिकेटर पौडेलले कम्पनीको तीन वर्ष ब्राण्ड एम्बास्डर बन्नुपर्नेछ ।

कम्पनीले नेपाल क्रिकेट संघ क्यानसँग पुरस्कार पाउने खेलाडीले ३ वर्षका लागि कम्पनीको ब्रान्ड एम्बास्डर रहने सम्झौता गरे पुरस्कार पाएको गाडीको सरकारलाई तिर्नुपर्ने आयकर कम्पनीले नै तिर्ने विषयमा सम्झौता नै गरेको शारडाले बताए ।

जसअनुसार अब रोहितले यातायात कार्यालयमा गाडी नामसारी गर्नुअघि १५ लाख ५० हजार रुपैयाँ कर तिर्नुपर्ने छ । यातायात कार्यालयमा गाडी आफ्नो नाममा नामसारी गर्दा खरिद गरेको प्रमाण वा पुरस्कारको हकमा कर तिरेको प्रमाण पेस गर्नुपर्छ ।

एनपीएलमा सन्दीप लामिछाने र शेर मल्लले पनि रोहितको जस्तै बाइक पुरस्कार पाएका छन् । यदी उनीहरूले चालु आर्थिक वर्षमा ५ लाख रूपैयाँको पुरस्कार पाइसकेको भए उनीहरूले सबैले पनि ४–४ लाखको करिब १–१ लाख रूपैयाँ आकस्मिक लाभकर तिर्नुपर्नेछ ।

Skip This