
काठमाडौं । दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट नेपाली खेलाडी बन्दै लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले कार पुरस्कार पाए । शनिबार राति सम्पन्न फाइनल खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो । पहिलो पटक लुम्बिनीले उपाधि जित्दा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत रहेका रोहित उत्कृष्ट खेलाडी बने ।
साथै रोहित नै नेपाली खेलाडीहरूमध्ये सर्वाधिक रन बनाउने खेलाडी पनि बने । उनले प्रतियोगिताभर कुल २७६ रन प्रहार गरे भने बलिङतर्फ फाइनल खेलमा ह्याट्रिकसहित १० विकेट लिए । रोहितले कारसहित उत्कृष्ट ब्याटर बनेर पल्सर मोटरसाइकल पनि जितेका छन् ।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीले पाएको जेको जे ५ कारको मूल्य ६१ लाख ९९ हजार रूपैयाँ रहेको छ । साथै उनले जितेको पल्सर बाइकको मूल्य ४ लाख २० हजार रूपैयाँ रहेको छ । यसरी उत्कृष्ट खेलाडी बनेर रोहितले जितेको कार र बाइकको कुल मूल्य ६६ लाख १९ हजार रूपैयाँ हुन्छ ।
आयकर ऐनको दफा ८८ ‘क’ यसरी प्राप्त गरेको आकस्मिक लाभमा २५ प्रतिशत कर तिर्नु पर्नेछ । अर्थात् रोहितले पाएको कार र बाइकको मूल्यमा २५ प्रतिशत कर तिर्नुपर्ने भएको हो ।
ऐनको दफा ८८’क’ को उपदफा १ मा साहित्य, संस्कृति, खेलकुद, पत्रकारिता, विज्ञान, प्रविधि तथा सार्वजनिक प्रशासन क्षेत्रमा योगदान पुर्याए बापत प्राप्त हुने राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका ५ लाख रुपैयाँसम्मको पुरस्कारमा आकस्मिक लाभ कर लाग्ने छैन भनिएको छ । यसअनुसार उनले विगतमा ५ लाख सम्मको पुरस्कार पाएको अवस्थामा ६६ लाख १९ हजारको २५ प्रतिशत अर्थात् १६ लाख ५४ हजार ७५० रुपैयाँ कर तिर्नु पर्ने छ । यसअघि ५ लाख बराबरको पुरस्कार पाइ नसकेको भए कार र बाइकको १५ लाख ३५ हजार रुपैयाँ कर बुझाउनु पर्नेछ ।
गत वर्ष सुदूरपश्चिमका कप्तान दिपेन्द्र सिंह ऐरी उत्कृष्ट खेलाडी बन्दै कार पुरस्कार जितेका थिए । त्यतिबेला उनले जितेको कारको कर तिर्नुपर्ने समाचार क्लिकमान्डुमा प्रकाशन भएपछि कार उपहार दिने कम्पनीले कर तिरिदिएको थियो ।
आयकर ऐन अनुसार नेपाल सरकारले पुरस्कारमा लाग्ने करमा छुट भने दिन सक्छ । नेपाल सरकार मन्त्रिपरिषद्ले निर्णय गरी पुरस्कारमा कर छुट दिने सक्ने व्यवस्था आयकर ऐनमा छ ।
जसअनुसार अब रोहितले यातायात कार्यालयमा गाडी नामसारी गर्नुअघि नेपाल सरकारले कर छुट नदिएको अवस्थामा भने उनले कर तिर्नुपर्ने छ । यातायात कार्यालयमा गाडी आफ्नो नाममा नामसारी गर्दा खरिद गरेको प्रमाण वा पुरस्कारको हकमा कर तिरेको प्रमाण पेस गर्नुपर्छ ।
एनपीएलमा सन्दीप लामिछाने र शेर मल्लले पनि रोहितको जस्तै बाइक पुरस्कार पाएका छन् । यदी उनीहरूले चालु आर्थिक वर्षमा ५ लाख रूपैयाँको पुरस्कार पाइसकेको भए उनीहरूले पनि ४–४ लाखको करिब १–१ लाख रूपैयाँ आकस्मिक लाभकर तिर्नुपर्नेछ।
एनपीएलको दोस्रो सिजन समाप्त भएर पुरस्कार प्रदान भइसकेको परिस्थितिमा आन्तरिक राजस्व विभाग र सम्बन्धित कर कार्यालयहरूले पुरस्कारको आकस्मिक लाभ करबारे नियालिरहेका छन् । विभागका एक अधिकारीले भने, ‘एनपीएल सकियो, अब सरकारले आकस्मिक लाभकर तिर्नुपर्ने खेलाडीहरूको हकमा छुट दिने निर्णय नगरेको हकमा आयकर ऐनले दिएको छुट समेत हिसाब गरी २५–२५ प्रतिशत रूपैयाँ तिर्नैपर्यो ।’







प्रतिक्रिया