
काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको कम उत्पादन भएको ‘अभाव’ देखाएर मंसिर महिनामा अण्डाको मूल्यमा चार पटक मूल्य हेरफेर गर्यो ।
मंसिर ३ गते रहेको सानो अण्डा भएको एक क्रेटको मूल्य ३७१ रुपैयाँ ४२ पैसालाई वृद्धि गरी मंसिर २३ गते चौथो पटक मूल्य समायोजनको नाममा प्रति क्रेट ४६४ रुपैयाँ २८ पैसा निर्धारण गरियो ।
नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन फार्म (होलसेल) बिक्री मूल्य प्रति क्रेट ४६४.२८ पैसा तोक्दा आम उपभोक्ताले यो अण्डा प्रतिगोटा १७ रुपैयाँ गोटासम्ममा पाउनु पर्ने थियो । तर बजारमा यो अण्डा प्रतिगोटा २४ देखि २५ रुपैयाँ घटीमा पाइँदैन ।
बजारमा अधिकांश खुद्रा पसलमा यहि सानो अण्डालाई २५ रुपैयाँसम्ममा बिक्री गर्दा पनि नियमनकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कुनै नियमन गरेको छैन ।
यस्तै मंसिर ३ गते ४३५ रुपैयाँ प्रतिक्रेट रहेको मिडियम अण्डाको मूल्य चौथो पटक मूल्य समायोजन गरी २३ मंसिरमा प्रतिक्रेट ५५० पुर्याइयो ।
यसरी नेपाल लेयर्स कुखुरापालक संघले मंसिर ३, मंसिर ७, मंसिर १३ र मंसिर २३ गते एक महिनामै चार पटकसम्म अण्डाको समर्थन फार्म (होलसेल) बिक्री मूल्य निर्धारण गर्यो ।
संघले सानो अण्डातर्फ एक महिनामै प्रतिक्रेट ९२ रुपैयाँ ८६ रुपैयाँ, मिडियम अण्डा र ठूलो अण्डातर्फ ११५-११५ र अति ठूलो अण्डातर्फ ६० रुपैयाँसम्म होलसेलमा मूल्य वृद्धि गरेको छ ।
संघले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३ को उपदफा २ को (ख), दफा ५४ को उपदफा २ को (ख) र दफा १६ को उपदफा ४ को (घ) विपरित एक महिनामै चार पटकसम्म आफुखुशी मूल्य निर्धारण गर्दा पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका साथै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कुनै चासो देखाएको छैन ।
उपभोक्तावादी माधव तिम्लिसिनाले उत्पादनकर्ताको नाममा केहि सिमित व्यवसायीहरुले कार्टेलिङ र मिलमतो गरेर एक महिनामै चार पटकसम्म अण्डाको मूल्य निर्धारण गरेको बताए ।
विगतमा अण्डा उत्पादक संघले यसरी अण्डाको मूल्य निर्धारण गर्दैआएको थियो । पछिल्लो समयमा कहिले नेपाल लेयर्स कुखुरापालक संघ र पोल्ट्री व्यवसायी मञ्चलगायतका संघले पनि यस्तो मूल्य निर्धारण गर्दैआएका छन् ।
अण्डाकै हकहितमा भनेर अहिले आधा दर्जनको हाराहारीका संघसंस्थाले किसानको नाममा भन्दै लागत मूल्य तोक्न प्रतिस्पर्धा गर्दैआएका छन् ।
‘उपभोक्ता संरक्षण ऐनले उपभोक्ताको हकहितमा प्रतिकूल असर पर्ने वा पर्न सक्ने गरी एकाधिकार वा अनुचित व्यापारिक क्रियाकलाप गर्न रोक लगाएको छ,’ तिम्लिसिनाले क्लिकमान्डुसँग भने,‘मिलेमतो र सिण्डिकेट हुने गरी अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गर्न नपाइने व्यवस्थालाई खिल्ली उडाउँदै किसानको अनुहार देखाएर सिमित बिचौलियाहरु मूल्य निर्धारण गरेका छन् ।’
किसानले लागत मूल्य पाउनुपर्ने धारणा राख्दै तिम्लिसिनाले यो मंसिरमा किसानलाई देखाएर व्यवसायीहरुले आफु खुशी मूल्य निर्धारण गरेको बताए ।
लागत मूल्य पाइएन भने उपभोक्तालाई मारेर मूल्य वृद्धि गर्न नपाइने बताउँदै उनले लागत मूल्यका कारण व्यवसाय नै चल्न नसकेको अवस्थामा अर्को नाफामुखि व्यवसाय सञ्चालन गर्न राज्यले रोकटोक नगरेको जानकारी दिए ।

‘व्यवसायीहरु कतिसम्म गैर उपभोक्तामुखि भएका छन्, त्यसको ज्वलन्त उदाहरण हो, यो अण्डाको मूल्य निर्धारण । उपभोक्ताले सस्तो मूल्यमा गुणस्तरीय वस्तुको उपभोग गर्न पाउनु नैसर्गिक अधिकार हो,’ उपभोक्तावादी तिम्लिसिनाले भने,‘तर पछिल्लो समयमा जसरी हुन्छ, स्वदेशी उत्पादनको नाममा किसानलाई देखाएर उपभोक्ताले उपभोग गर्नै नसक्ने गरी महिनामै चार पटकसम्म मूल्य निर्धारण गरी उपभोक्तालाई लुट्न खोजिएको हो ।’
अर्कोतर्फ यहि व्यवसायीको आडमा अण्डाको आयातमा पनि सरकारले रोक लगाएको छ । यसले किसान होइन, बिचौलिया मोटाउने अवस्था आएको तिम्लिसिनाको भनाई छ ।
संघले भने अण्डाको लागतअनुसार थोक मूल्य निर्धारण गरिएको दावी गरेको छ ।
संघका अध्यक्ष बिनोद पोखरेलले जाडोयामका कारण अण्डाको उत्पादन निक्कै घटेकाले किसानलाई लागत मूल्यअनुसार खर्च उपलब्ध गराउन मंसिर महिनामा चार पटकसम्म अण्डाको समर्थन फार्म (होलसेल) बिक्री मूल्य निर्धारण गरिएको बताए ।
‘जाडोयामका कारण कात्तिकदेखि फागुन पहिलो सातासम्म अण्डाको उत्पादन निक्कै घट्छ, यो बेला आन्तरिक र बाह्य पर्यटक बढ्नुका साथै बिद्यालय र कलेजहरु नियमित रुपमा सञ्चालन हुने भएकाले अण्डाको माग अत्यधिक बढ्छ,’ पोखरेलले भने,‘तर उत्पादन अत्यन्तै कम भएकाले किसानको लागत मूल्य उठ्ने गरी संघले समर्थन मूल्य निर्धारण गरेको हो ।’
उपभोक्ताको टाउकोमा महँगीको मार थपिएको छैन: संघ
वृद्धि भएको मूल्यका कारण उपभोक्ताको टाउकोमा कुनै पनि प्रकारको महँगीको मार नथपिएको दावी गर्दै उनले भने,‘बढेको यो मूल्यका कारण उपभोक्ताको टाउकोमा कुनै पनि प्रकारका मार थपिएको छैन, नेपाली उपभोक्ताले ४-५ महिनाअघि पनि प्रतिगोटा २५ रुपैयाँमा अण्डा खरिद गरि उपभोग गरेकै थिए, आज पनि त्यहि हाराहारीमा मूल्य छ ।’
उनका अनुसार अण्डाको आकारअनुसार लागत मूल्य पनि फरक फरक हुने भएकाले आकारअनुसार अण्डाको बिक्री समर्थन मूल्य तोकिएको जानकारी दिए ।
अण्डामा रहेको विभिन्न तहगत बिचौलियालाई हटाइएका कारण तुलनात्मक रुपमा अण्डाको मूल्य केहि महँगो भएको पोखरेलले क्लिकमान्डुसँग भने । पछिल्लो समयमा समायोजन भएको मूल्यका कारण भारत र नेपालमा करिब एउटै मूल्य कायम भएको उनले बताए ।
भारतको नेशनल एग कोअर्डिनेशन कमिटी(एनईसीसी) काअनुसार भारतमा अहिले अण्डाको मूल्य न्यूनतम स्थानअनुसार ६ रुपैयाँ ८ पैसादेखि अधिकतम ७ रुपैयाँ ५२ पैंसासम्म छ । यसरी क्रेटमा हिसाव गर्दा प्रति क्रेट २०४ देखि २२५ भारतीय रुपैयाँ छ।
संघका अनुसार ४-५ वर्षअघि दैनिक ७० लाख गोटासम्म अण्डाको उत्पादन भइरहेको थियो । त्यो बेला अण्डाको लागत मूल्य किसानले नपाउँदा यो पेशाबाट करिब ६० प्रतिशतसम्म किसान पलायन भएको जानकारी गराउँदै उनले भने,‘अहिले नेपालमा दैनिक ३५ देखि ४० लाख गोटा उत्पादन हुन्छ । तर माग ४२ लाख गोटाको हाराहारीमा छ ।’
प्रतिअण्डाको लागत खर्च अधिकतम १५ रुपैयाँ मात्र
कृषि तथा वन विज्ञान विश्वविद्यालयको विज्ञ सम्मिलित एक अध्ययन समितिले हालै अध्ययन गरी प्रतिगोटाको लागत मूल्य निर्धारण गरेको छ । जसअनुसार एक गोटा अण्डा उत्पादन गर्दा १९.२० रुपैयाँ पर्ने निश्कर्ष निकालिएको छ ।
पोल्ट्री व्यवसायी मञ्चले कृषि तथा वन विज्ञान विश्वविद्यालयका विज्ञहरुको समिति बनाएर हालै गराएको एक अध्ययनअनुसार यो लागत मूल्य निकालिएको हो ।
लागत मूल्य अध्ययन समितिका संयोजक प्राडा रेवन्तकुमार भट्टराईका अनुसार विगतमा प्रतिगोटाको लागत खर्च १६.५६ रुपैयाँ थियो ।
तर यो अध्ययनको क्रममा प्रतिगोटाको लागत खर्च १९.२० रुपैयाँ देखिन आएको भट्टराईले बताए । उनकाअनुसार चल्ला खरिद, दाना, औषधि, भ्याक्सिनलगायतका शीर्षकमा ठूलो खर्च हुँदै आएको छ ।
तर अण्डा उत्पादकले सबै आकारका अण्डाको प्रतिगोटाको लागत खर्च अधिकतम १५ रुपैयाँसम्म मात्रै पर्ने गरेको जानकारी दिएका छन् ।
काठमाडौं महानगरपालिका १ स्थित साङलाका अण्डा उत्पादन किसान शिव अधिकारीले साना, मध्यम, ठूला र अति ठूला गरी चार आकारको अण्डाको लागत मूल्य एउटै भएको जानकारी दिए ।
पछिल्लो १० वर्षदेखि अण्डा उत्पादन गर्दै आएका अधिकारीका अनुसार सबै आकारका प्रतिगोटा अण्डाका उत्पादन गर्दा लागत खर्च अधिकतम १५ रुपैयाँसम्म मात्रै पर्ने उनले बताए ।
उनका अनुसार प्रतिगोटा अण्डा उत्पादन गर्दा दाना खर्च ७ रुपैयाँ, औषधी, पानी, वत्ति, लेवर खर्च, बैंक ऋण, जग्गा भाडा खर्चसहित ६ रुपैयाँ र किसानको नाफा प्रतिअण्डा २ रुपैयाँ गरी १५ रुपैयाँ लागत खर्च पर्छ ।
‘यो लागत मूल्य भनेको जति खर्च गरेपनि अधिकतम हो, योभन्दा बढी लागत मूल्य कुनै पनि शर्तमा पर्दैन,’ अधिकारीले भने,‘तर किसानको नाममा विभिन्न चरणमा रहेका बिचौलियाले यसलाई बढाएर १९ देखि २० रुपैयाँसम्म लागत मूल्य परेको बताउँदै आएका छन् ।’
उनका अनुसार किसानले प्रतिअण्डा न्युनतम १२ देखि १५ रुपैयाँसम्म पाउँदै आएका छन् । कुखुराले अण्डा दिन सुरु गरेपछि पहिलो खेपमा सानो आकारको, दोश्रो खेपमा आकार बढेर मध्यम आकार, तेश्रो खेपमा झन आकार बढेर ठूलो र केहि कुखुराले अति ठूलो आकारको अण्डा पार्ने उनको भनाइ छ ।
के भन्छ, उपभोक्ता संरक्षण ऐन ?
उपभोक्ता संरक्षण ऐनको दफा ३ को उपदफा २ को (ख) ले स्वच्छ प्रतिस्पर्धात्मक मूल्यमा गुणस्तरीय वस्तु वा सेवाको छनौट गर्न पाउने उपभोक्ताको अधिकार भएको उल्लेख गरेको छ ।
यस्तै दफा ४ को उपदफा २ को (ख) ले उपभोक्ताको हकहितमा प्रतिकूल असर पर्ने वा पर्न सक्ने एकाधिकार वा अनुचित व्यापारिक क्रियाकलाप गर्न नपाइने व्यवस्था गरेको छ ।
त्यस्तै सोहि उपदफाको (घ) ले वस्तु वा सेवाको उत्पादक, बिक्रेता वा बितरकले अवाञ्छित तरिकाले गरेको मूल्य निर्धारण वा बृद्धिलाई रोक्ने विषयमा बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आवश्यक कदम चाल्न सक्ने व्यवस्था गरेको छ ।
ऐनको दफा १६ को उपदफा ४ को (घ) ले कुनै वस्तु वा सेवाको वास्तविक लागतको आधारभन्दा फरक आधारमा उपभोक्ता मूल्यमा पार्ने गरी अनुचित व्यापारिक तथा व्यवसायिक क्रियाकलाप गर्न नहुने गरी बन्देज लगाएको छ ।










प्रतिक्रिया