
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरले सार्वजनिक पदहरू स्थायी नहुने भन्दै पदप्रति आफ्नो कुनै ठूलो आशक्ति नरहेको बताएका छन् ।
नेपाल राष्ट्र बैंक र नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को संयुक्त आयोजनामा आर्थिक पत्रकारहरूलाई आयोजना गरेको एक तालिम कार्यक्रममा उनले पत्रकारहरूसँग कुरा गर्दै आफ्नो पद र बर्खास्तीका बारेमा चल्ने गरेका हल्लाहरूप्रति यस्तो प्रतिक्रिया दिएका हुन् ।
आफूलाई हटाउन लागिएको वा पद रिक्त हुन लागेको भनी आउने गरेका समाचारहरूतर्फ संकेत गर्दै गभर्नरले भने, ‘पदहरू सबै अस्थायी हुन् । पदमा म यहीँ बसेर जिन्दगी बिताउँछु भनेर कोही पनि आउँदैन । हरेक पदको आउने र जाने निश्चित समय हुन्छ,’ गभर्नर पौडेलले भने, ‘त्यसैले कुनै पनि कुरामा आवश्यकताभन्दा बढी आशक्ति राख्नु हुँदैन।’
उनले आफूलाई हटाउने तयारी भइरहेको भन्ने कुरा केवल सञ्चारमाध्यममा मात्र सीमित रहेको बताए । ‘मैले गभर्नर हट्ने वा हटाउने कुरा पत्रिकाहरूमा मात्रै पढेको छु,’ उनले थपे, ‘अहिलेसम्म कसैले पनि “हामी आयौँ, अब तँ के गर्छस्?” भनेर सोधेको छैन, न त कसैले यस्तो–उस्तो गर्दैछन् भनेर नै सुनेको छु।’
आफूले पाएको जिम्मेवारीलाई केही समयका लागि सुम्पिएको दायित्वका रूपमा लिएको भन्दै उनले मिडियामा आउने यस्ता जिज्ञासाहरूलाई ‘रिक्रियसनल भ्यालु’ (मनोरञ्जनात्मक मूल्य) का रूपमा लिने गरेको बताए ।
‘कतिलाई लाग्दो हो, गभर्नर नौ महिना भयो, अब नयाँ आए के हुन्थ्यो भन्ने। तर म सधैं सकारात्मक छु,’ ठट्टाको शैलीमा उनले भने, ‘तपाईंहरूले “ए, यो बस्ने भएछ” भन्दा पनि रमाइलो मान्छु । “जाने भएछ” भन्दा पनि रमाइलो नै मानेको छु। सार्वजनिक पदमा बस्ने मान्छेले सर्वसाधारण र मिडियाको जिज्ञासालाई यसरी नै सहज रूपमा लिनुपर्छ ।’
गभर्नरले व्यक्ति हुनु र नहुनुले संस्थाको कार्यप्रणालीमा धेरै ठूलो असर पार्न नहुने उनले बताए ।








प्रतिक्रिया