छानबिन आयोगमा ओलीको बयान: प्रधानमन्त्रीले प्रहरीलाई गोली हान्न आदेश दिने अधिकार हुँदैन

273
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनालाई सुनियोजित रूपमा उत्तेजना फैलाएर गराइएको बताएका छन् ।

जेनजी आन्दोलनको दमनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगसमक्ष दिएको बयानमा ओलीले युवाहरूलाई अगाडि सारेर आफ्नो उद्देश्य पूरा गर्न खोज्ने समूहले आन्दोलनलाई उग्र बनाएको बयान दिएका हुन् ।

उनका अनुसार आन्दोलनका नाममा सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, आगजनी र तोडफोडजस्ता गतिविधि जेनजी पुस्ताबाट नभई घुसपैठ समूहबाट भएको हो । ‘आन्दोलनको फाइदा उठाएर केही समूहले युवाहरूलाई उक्साई ज्यानै जाने अवस्था सिर्जना गराए,’ उनले बयानमा उल्लेख गरेका छन्।

ओलीले भदौ २३ गते संसद भवनमा आक्रमण र आगजनीको प्रयास भएको दाबी गर्दै राज्यका प्रमुख निकायहरू संसद भवन, सिंहदरबार र सर्वोच्च अदालतमाथि गरिएको आक्रमण योजनाबद्ध रहेको बताएका छन्। ती घटनामा संलग्न व्यक्तिहरूको भिडियो सार्वजनिक भइसकेको भन्दै उनले आयोगले उनीहरूमाथि अनुसन्धान गरेको छ कि छैन भन्ने प्रश्नसमेत उठाएका छन् ।

उनले प्रधानमन्त्रीका रूपमा प्रहरीलाई प्रत्यक्ष गोली चलाउन आदेश दिने अधिकार नभएको स्पष्ट पार्दै सुरक्षा व्यवस्थापन गृह मन्त्रालयमार्फत हुने बताए । हताहती कम गर्न निर्देशन दिएको दाबी गर्दै उनले सेना परिचालन गर्ने सरकारको मनसाय नभएको र नेपाली सेनाको सुझाव पनि सोहीअनुसार रहेको उल्लेख गरे।

ओलीका अनुसार भदौ २२ गते नै सुरक्षा निकायबाट आन्दोलन शान्तिपूर्ण हुने आकलन गरिएको थियो । तर त्यसको भोलिपल्ट हिंसात्मक घटना भएपछि बेलुका बसेको मन्त्रिपरिषद् बैठकले न्यायिक आयोग गठन, घाइतेको उपचार, मृतकका परिवारलाई राहत र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।

भदौ २४ गते आफूले राजीनामा दिएको उल्लेख गर्दै ओलीले आफ्नो राजीनामापछि पनि आन्दोलन नरोकिनुले घटनाको कारण अन्यत्र रहेको संकेत गरेको बताएका छन् ।