
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। निगमले बुधबार साँझ एक सूचना जारी गर्दै पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर १५/१५ रुपैयाँले वृद्धि गरेको जानकारी दिएको हो।
निगमको यो निर्णयसँगै उपभोक्ताले अब इन्धनका लागि थप महँगो शुल्क तिर्नुपर्ने भएको छ। मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य देशका विभिन्न क्षेत्र (वर्ग) अनुसार फरक-फरक कायम भएको छ। निगमका अनुसार पहिलो वर्गका क्षेत्रहरूमा पेट्रोलको मूल्य प्रतिलिटर १६९ रुपैयाँ ५० पैसाबाट बढेर १८४ रुपैयाँ पुगेको छ। त्यस्तै, दोस्रो वर्गका लागि १८६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १८७ रुपैयाँ मूल्य निर्धारण गरिएको छ।
यसैगरी, डिजेल र मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर १५ रुपैयाँ नै बढाइएको छ। नयाँ मूल्यसूची अनुसार पहिलो वर्गका क्षेत्रमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा पुगेको छ, जुन यसअघि १४९ रुपैयाँ ५० पैसा रहेको थियो। दोस्रो वर्गका लागि १६६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६७ रुपैयाँ मूल्य कायम भएको छ।
निगमले ढुवानी लागत र भौगोलिक अवस्थितिका आधारमा विभिन्न बिक्री केन्द्रहरूलाई तीन वर्गमा विभाजन गरेको छ। जसअन्तर्गत पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई राखिएको छ।
दोस्रो वर्गमा सुर्खेत र दाङ रहेका छन् भने तेस्रो वर्गमा संघीय राजधानी काठमाडौं सहित पोखरा र दिपायललाई निर्धारण गरिएको छ। निगमले जारी गरेको यो नयाँ मूल्यसूची तत्काल लागू हुने जनाइएको छ।









प्रतिक्रिया