
चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई छावालाई आउँदो पुस २ गते कतार पठाइने भएको छ । प्रजनन केन्द्रमा हुर्किएर तालिमपछि सौराहा हात्तीसारमा लगिएका रुद्रकली र खगेन्द्रप्रसादलाई कतार पठाउन लागिएको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा. हरिभद्र आचार्यका अनुसार, यही डिसेम्बर १७ तारिखमा हात्ती कतार पठाउन लागिएको हो । भैरहवा विमानस्थलबाट हात्ती पठाउन लागिएको हो । चार्टर्ड कार्गो विमानमार्फत हात्ती पठाइने उनले बताए ।
विमानको समय मिलाएर बाटोको अवस्था हेरी सौराहाबाट अघिल्लो दिन हात्ती लैजाने तयारी छ । कतारको दोहास्थित अलखोर पार्कको चिडियाखानामा राख्न यी हात्ती पठाउन लागिएको हो । रुद्रकली सात र खगेन्द्रप्रसाद ६ वर्षका छावा हुन् । रुद्रकली पूजाकली र खगेन्द्र कोसीकलीको बच्चा हो ।
रुद्रकली र खगेन्द्रको बाबु जंगली हात्ती रोनाल्डो भएको हात्ती प्रजनन केन्द्रका प्रमुख मनिपुरण चौधरीले जानकारी दिए ।
खोरसोरमा रहेका पोथी हात्ती जंगली भाले रोनाल्डो, ध्रुवे, गोविन्देजस्ता शक्तिशाली हात्तीसँगको सहवासमा गर्भवती हुने गर्छन् । सरकारले हात्ती दिने निर्णय गरेपछि सबै प्रक्रिया पूरा गरी पठाउन लागिएको हो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले नाप गरी हात्ती राख्न खोर निर्माण गरेको छ । खोरसहित ट्रकमा राखेर सौराहाबाट अन्तर्राष्ट्रिय विमानस्थल लुम्बिनी लगिनेछ । लुम्बिनीबाट कार्गो विमानमा राखी कतार लगिनेछ । हात्तीसँगै निकुञ्जका पशु प्राविधिक दिनेश ढकालको नेतृत्वमा हात्तीका दुई माउते पनि कतार जाँदै छन् । उनीहरूले त्यहाँ हात्तीको व्यवस्थापन मिलाएर फर्कनेछन् ।
नेपालले यसअघि विभिन्न मित्रराष्ट्रलाई एकसिंगे गैँडालगायत वन्यजन्तु उपहारस्वरूप प्रदान गर्दै आएको छ । दुई देशबीचको सम्बन्ध बलियो बनाउन र नेपालको जैविक विविधताको महत्त्व अन्तर्राष्ट्रियस्तरमा परिचित गर्न वन्यजन्तु उपहार दिइँदै आएको छ । आचार्यका अनुसार, पहिलोपटक नेपालले हात्ती उपहारस्वरूप अरू देशमा पठाउन लागेको हो ।
नेपालले सन् १९८५ देखि हालसम्म विभिन्न देशलाई २६ गैँडा, १० घडियाल गोही, एक ब्वाँसो र दुई चितुवा उपहार दिइसकेको तथ्यांक छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणका क्रममा ०७५ मा नेपालले कतारलाई हात्ती उपहार दिने प्रतिबद्धता जनाएको थियो । त्यसपश्चात् कतार सरकारको कूटनीतिक निकायबाट माग भएअनुसार प्रक्रिया अघि बढाएर हात्ती पठाउन लागिएको हो । रासस









प्रतिक्रिया