इजरायलले लेबननमा फेरि आक्रमण गरेपछि बढ्यो कच्चा तेलको भाउ

42
Shares

एजेन्सी । दुई देशबीच विद्यमान युद्धविरामका बाबजुद आइतबार इजरायलले लेबननमा नयाँ आक्रमण गरेपछि सोमबार तेलको मूल्य प्रति ब्यारल ३ डलरभन्दा बढीले बढेको छ ।

यस नयाँ तनावले बृहत्तर क्षेत्रीय द्वन्द्व अन्त्य हुने आशामा तुषारापात गरिदिएको छ र हर्मुज जलयोजकबाट कच्चा तेलको ढुवानी पुनः सुरु हुने विषयमा चिन्ता बढाएको छ ।

ब्रेन्ट कच्चा तेलको मूल्य ३.२० डलर वा ३.३९ प्रतिशतले बढेर प्रति ब्यारेल ९६.२४ डलर पुगेको छ भने अमेरिकी कच्चा तेलको मूल्य २.८७ डलर वा ३.१७ प्रतिशतले वृद्धि भई प्रति ब्यारल ९३.४१ डलर पुगेको छ ।

पछिल्लो आक्रमणलाई सम्भावित अमेरिका–इरान शान्ति सम्झौता र विश्वव्यापी तेल तथा ग्यास आपूर्तिका लागि महत्त्वपूर्ण मार्ग मानिने हर्मुज जलयोजक पुनः खोल्ने प्रयासमा अर्को अवरोधको रूपमा हेरिएको छ । वाशिङटनसँग कुनै पनि शान्ति सम्झौताका लागि लेबननसँगको युद्धविराम अनिवार्य शर्त भएको अडान इरानले राख्दै आएको छ ।

आफ्नो सहयोगी हेजबुल्लाहलाई लक्षित गरी बेरुतमा गरिएका आक्रमणहरूको जवाफमा तेहरानले इजरायलमाथि मिसाइल प्रहार गरेको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई इरानविरुद्ध जवाफी आक्रमण नगर्न आग्रह गर्ने बताएका छन् ।

इरान समर्थित हेजबुल्लाहले सीमा क्षेत्रमा रकेट र ड्रोन प्रहार गरेपछि मार्च महिनामा इजरायल लेबनन प्रवेश गरेको थियो । वाशिङटनमा भएको वार्तापछि इजरायल र लेबननले जुन ३ मा युद्धविरामको घोषणा गरेका थिए । यसअघि यी दुई पक्ष अप्रिलमा शत्रुतापूर्ण गतिविधि रोक्न सहमत भएका थिए यद्यपि सम्झौताका बावजुद झडपहरू जारी रहेका थिए ।

अप्रिलको सुरुमा अमेरिका र इजरायलले इरानमाथिको आक्रमण स्थगित गरेपछि बृहत्तर द्वन्द्व मुख्य रूपमा रोकिएको थियो । तर, तेहरानले हर्मुज जलयोजकबाट हुने अधिकांश ढुवानी गतिविधिमा अझै प्रतिबन्ध लगाइरहेको छ ।

आपूर्तिमा आएको अवरोधका बीच ओपेक प्लसले आइतबार चार महिनामा चौथोपटक तेल उत्पादन वृद्धिको निर्णय स्वीकृत गरेको छ । तर, विश्लेषकहरूका अनुसार हर्मुज जलयोजकमा अवरोधका कारण धेरै ओपेक प्लस उत्पादकहरूले उत्पादन लक्ष्य पूरा गर्न नसकेकाले यस कदमले बजारको चिन्तालाई उल्लेख्य रूपमा कम गर्ने सम्भावना छैन ।

हाइटोङ फ्युचर्सले आपूर्ति र मागको कसिलो अवस्थासँगै विश्वव्यापी तेलको मौज्दातमा आएको तीव्र गिरावटले गर्दा कच्चा तेलको मूल्य कारोबार दायराको माथिल्लो बिन्दुतिर जान सक्ने बताएको छ ।

युद्धविराम भयो भने पनि हर्मुज जलयोजकबाट हुने ढुवानी सामान्य हुन महिनौं लाग्न सक्ने विश्लेषकहरूले बताएका छन् । ऊर्जा पूर्वाधारमा हुने कुनै पनि क्षतिले पुनरुत्थान प्रक्रियालाई थप सुस्त बनाउन सक्छ ।

गत महिना साउदी अराम्कोका प्रमुख कार्यकारी अधिकृत अमीन नासेरले हर्मुज जलयोजकमा हुने अवरोधले विश्वव्यापी तेल बजारको स्थिरतालाई सन् २०२७ सम्म धकेल्न सक्ने चेतावनी दिएका थिए । लामो समयसम्मको अवरोधले प्रत्येक हप्ता झन्डै १० करोड ब्यारल तेल आपूर्तिमा असर पार्न सक्ने उनले बताएका थिए ।

साउदी अराम्को विश्वकै सबैभन्दा ठूलो तेल उत्पादक कम्पनी हो ।

मोर्गन स्टेनलीले तेल बजारलाई समयविरुद्धको दौडमा रहेको बताएको छ र हर्मुज जलयोजक जुन महिनाभरि बन्द रहेमा अहिलेसम्म कच्चा तेलको मूल्यलाई तीव्र रूपमा बढ्नबाट रोकेका कारकहरू हराउन सक्ने चेतावनी दिएको छ ।

अमेरिकाको बलियो कच्चा तेल निर्यात र चीनको कमजोर मागले आपूर्तिको धक्कालाई केही हदसम्म कम गर्न मद्दत गरेको सो ब्रोकरेजले उल्लेख गरेको छ । तर, यो महत्त्वपूर्ण ढुवानी मार्ग लामो समयसम्म बन्द हुनाले विश्वव्यापी आपूर्तिलाई फेरि संकुचित पार्न सक्ने चेतावनी यसले दिएको छ । विशेषगरी, अमेरिका र चीनले प्रभावलाई सन्तुलनमा राख्न सक्ने अवधिभन्दा बढी समयसम्म अवरोध कायम रहेमा यस्तो हुन सक्ने बताइएको छ ।