सुनको सञ्चिति बढाउन विभिन्न देशहरूको होड, के होला अमेरिकी डलरको भविष्य ?


काठमाडौं । विश्व अर्थतन्त्रमा यतिबेला देखिएको मोडले शक्ति र विश्वासको केन्द्र परिवर्तन भइरहेको आभास दिलाइरहेको छ । लामो समयदेखि अमेरिकी डलरले विश्वको निर्विकल्प सञ्चिति मुद्राको रूपमा राज गर्दै आएकोमा हालका वर्षहरूमा विश्वका केन्द्रीय बैंकहरूले देखाएको सुनप्रतिको आशक्तिले डलरको यो वर्चस्वमाथि गम्भीर प्रश्न खडा गरिदिएको छ ।

ऐतिहासिक रूपमा हेर्दा मुद्रा र सुनको सम्बन्ध सधैं उतारचढावपूर्ण रहेको छ तर वर्तमान समयमा देखिएको सुन सञ्चय गर्ने प्रवृत्तिले सन् १९७१ को निक्सन शकपछिको सबैभन्दा ठूलो आर्थिक परिवर्तनको संकेत गरिरहेको छ ।

दुई फरक युग र उस्तै देखिने घटनाक्रमहरूले विश्व अर्थतन्त्रमा नयाँ तर चुनौतीपूर्ण बाटो बनाइरहेको छ । यसले अन्ततः डलरको भविष्यलाई अनिश्चित बनाउन सक्छ ।

आजभन्दा करिब ५४ वर्षअघि सन् १९७१ मा विश्वका केन्द्रीय बैंकहरूमा अमेरिकी डलरप्रति चरम अविश्वास पैदा भएको थियो । त्यतिबेला विश्व ब्रेटन वुड्स प्रणालीमा आधारित थियो । त्यसअन्तर्गत डलरको मूल्य सुनसँग प्रति औंस ३५ डलरमा स्थिर गरिएको थियो ।

तर, अमेरिकाले भियतनाम युद्ध र आन्तरिक सामाजिक सुरक्षा कार्यक्रमहरूमा गरेको अत्यधिक खर्चका कारण डलरको क्रयशक्ति कमजोर हुँदै गयो । विदेशी मुलुकहरूले अमेरिकाको यो खर्चालु नीतिप्रति शंका गर्दै आफ्ना डलरहरू फिर्ता गरेर सुन माग्न थाले ।

तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनले सन् १९७१ अगस्ट १५ मा डलरलाई सुनमा परिवर्तन गर्न सकिने प्रावधानलाई खारेज गरिदिए । यसलाई इतिहासमा निक्सन शक भनिन्छ । त्यसपछि डलरको मूल्य कुनै भौतिक वस्तुमा आधारित नभई सरकारी विश्वासमा मात्र टिकेको फिएट मुद्रामा परिणत भयो ।

हालका तथ्यांकहरू हेर्दा इतिहासले आफूलाई फेरि दोहोर्याइरहेको देखिन्छ । जर्मनीको फ्र्यांकफर्टमा रहेको युरोपको केन्द्रीय बैंकले गत साता सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार, विश्वका केन्द्रीय बैंकहरूले आफ्नो पोर्टफोलियोमा अमेरिकी ट्रेजरी बिलभन्दा सुनको हिस्सा बढाउन थालेका छन् ।

सन् २०२५ को अन्त्यसम्ममा केन्द्रीय बैंकहरूको कुल सञ्चितिमा सुनको हिस्सा २७ प्रतिशत पुगेको छ जुन अघिल्लो वर्ष २० प्रतिशत मात्र थियो । अर्कोतर्फ, अमेरिकी ऋणपत्रको हिस्सा २५ प्रतिशतबाट घटेर २२ प्रतिशतमा झरेको छ । यो तथ्यांक आफैंमा ऐतिहासिक छ किनकि शीतयुद्धपछिको समयमा पहिलोपटक डलरभन्दा सुन बढी सुरक्षित मानिन थालेको छ । यो परिवर्तन आर्थिक मात्र नभई गहिरो भूराजनीतिक र रणनीतिक कारणहरूले प्रेरित छ ।

अमेरिकी डलरको शक्ति यसको आर्थिक मूल्यमा मात्र सीमित छैन । यो अमेरिकाको विश्वव्यापी प्रभाव र सुरक्षा छातासँग पनि जोडिएको छ ।

दोस्रो विश्वयुद्धपछि अमेरिकाले आफ्ना सहयोगी राष्ट्रहरूलाई आणविक छाता वा सुरक्षाको ग्यारेन्टी दिएको थियो । यसको बदलामा ती राष्ट्रहरूले आफ्नो सञ्चिति डलर र अमेरिकी ऋणपत्रमा राख्ने एउटा मौन सहमति जस्तै बनेको थियो ।

तर, हालका वर्षहरूमा वाशिङटनको विदेश नीति र आन्तरिक राजनीतिमा आएको अस्थिरताले यो विश्वासको कडीलाई कमजोर बनाइदिएको छ । नेटो सदस्य राष्ट्रहरू र युरोपेली देशहरूसँगको सम्बन्धमा देखिएको चिसोपनले गर्दा उनीहरूले अब डलरमा मात्र भर पर्नु जोखिमपूर्ण ठानेका छन् ।

सुरक्षाको ग्यारेन्टी कमजोर हुँदै जाँदा राष्ट्रहरूले सुनतर्फ हात बढाउनु स्वाभाविक प्रतिक्रिया हो किनकि सुनको कुनै राष्ट्रिय सीमा हुँदैन र यो कुनै पनि सरकारको राजनीतिक सनकको बन्धक हुँदैन ।

अहिलेको सुन खरिद गर्ने प्रवृत्तिमा भूराजनीतिक जोखिम सबैभन्दा ठूलो कारक बनेको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिकाले रुसको विदेशी विनिमय सञ्चिति रोक्का गरिदियो र उसलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली (स्विफ्ट) बाट अलग गरिदियो ।

यस घटनाले विश्वका धेरै देशहरूलाई झस्काइदिएको छ । उनीहरूको सम्बन्ध अमेरिकासँग बिग्रियो भने उनीहरूको डलर सञ्चिति रातारात मूल्यहीन हुन सक्छ भन्ने कुरा देशहरूले बुझेका छन् । त्यसैले चीन, भारत, टर्की र ब्राजिल जस्ता उदीयमान शक्तिहरूले आक्रामक रूपमा सुन थुपार्न थालेका छन् । स्ट्याटिस्टाको पछिल्लो तथ्यांकअनुसार, उज्बेकिस्तानको केन्द्रीय बैंक सुन सञ्चितिमा पहिलो नम्बरमा रहेको छ ।

विशेषगरी चीनले विगत केही वर्षमा ३५० टनभन्दा बढी सुन खरिद गरेको साउथ चाइना मर्निङ पोस्टको रिपोर्टमा उल्लेख गरिएको छ । पोल्यान्ड जस्तो रुससँग सीमा जोडिएको र नेटोको सुरक्षालाई उच्च महत्त्व दिने देशले पनि गत वर्ष मात्रै १०० टन सुन थपेको छ । यो डलरको राजनीतिक प्रयोग विरुद्धको एक प्रकारको वित्तीय सुरक्षाकवच हो ।

अमेरिकाको आन्तरिक आर्थिक अवस्थाले पनि डलरको साख गिराउन भूमिका खेलेको छ । अमेरिकाको बजेट घाटा हाल कुल गार्हस्थ्य उत्पादनको करिब ६ प्रतिशत पुगेको छ जुन सामान्यतया युद्ध वा चरम मन्दीको समयमा मात्र देखिने गर्छ । अत्यधिक सार्वजनिक ऋण र बढ्दो मुद्रास्फीतिले डलरको दीर्घकालीन मूल्यमा क्षय हुने डर लगानीकर्ताहरूमा छ ।

सन् १९७० को दशकमा पनि यस्तै अवस्था थियो । त्यतिखेर महँगी नियन्त्रण बाहिर गएको थियो र बेरोजगारी दर उच्च थियो । त्यतिबेला निक्सनले मूल्य र तलबमा सरकारी नियन्त्रण लागू गर्नुपरेको थियो ।

अहिले पनि अमेरिकी राजनीतिमा देखिएको विभाजन र ऋणको सीमालाई लिएर हुने खिचातानीले विश्व बजारमा अमेरिकाले आफ्नो ऋण तिर्न सक्छ कि सक्दैन भन्ने शंका पैदा गरिदिएको छ ।

सुन सञ्चय गर्ने होडमा अहिले परम्परागत राष्ट्रहरू मात्र नभई नयाँ डिजिटल शक्तिहरू पनि सामेल भएका छन् । उदाहरणका लागि, टेथर जस्ता स्टेबलकोइन जारी गर्ने संस्थाहरूले पनि ठूलो मात्रामा सुन खरिद गर्न थालेका छन् । टेथरले मात्रै गत वर्ष १०० टनभन्दा बढी सुन किनेको छ ।

यसले के संकेत गर्छ भने अब डिजिटल युगमा पनि डलरको विकल्प खोज्ने क्रममा सुनलाई नै अन्तिम आधार मानिएको छ । भविष्यमा अन्तर्राष्ट्रिय व्यापारका लागि डलरको साटो सुनमा आधारित डिजिटल मुद्रा वा अन्य कुनै प्रणाली विकास भयो भने डलरको ‘ग्लोबल रिजर्भ’ मुद्राको हैसियत पूर्ण रूपमा समाप्त हुन सक्छ ।

ऐतिहासिक रूपमा कुनै पनि मुद्रा सधैंका लागि विश्वको नेतृत्वमा रहन सकेको छैन । डलरभन्दा अगाडि ब्रिटिस पाउन्डको दबदबा थियो । त्यो बेलायती साम्राज्य खुम्चिएसँगै समाप्त भयो ।

डलरको पतन हुनेछ भन्नुको अर्थ यो भोलि नै शून्य हुन्छ भन्ने होइन । अझै पनि विश्वको ठूलो हिस्सा व्यापार डलरमै हुन्छ र अमेरिकी सेयर बजारमा विदेशी लगानीको ओइरो लाग्ने क्रम रोकिएको छैन । सन् २०२५ को तथ्यांक अनुसार विदेशी लगानीकर्ताहरूले अमेरिकी धितोपत्रमा करिब ३३०.७ खर्ब डलर होल्ड गरेका छन् ।

तर, अब जोखिम व्यवस्थापनको नाममा डलरबाट बाहिरिने प्रक्रिया सुरु भइसकेको केन्द्रीय बैंकहरूको व्यवहारले देखाउँछ ।

सुनको बढ्दो मागले डलरका लागि खतराको घण्टी बजाएको छ । राष्ट्रहरूले डलरको साटो सुन रोज्दा सस्तो ब्याजदरमा ऋण लिन सक्ने अमेरिकाकोे क्षमता घट्छ । यसले अमेरिकाभित्र ब्याजदर बढाउन दबाब दिन्छ । त्यसले अन्ततः आर्थिक वृद्धिमा बाधा गर्छ र विश्वव्यापी मन्दीको खतरा निम्त्याउँछ ।

डलरको वर्चस्व आर्थिक गणितमा नभई विश्वास र विधिको शासनमा टिकेको छ । अमेरिकाले आफ्ना सहयोगीहरूसँगको प्रतिबद्धता तोड्दै गयो र डलरलाई राजनीतिक हतियारको रूपमा मात्र प्रयोग गरिरह्यो भने विश्वले सुनको पुरानो युगमा फर्किन ढिलाइ गर्ने छैन ।

यसरी सुनको सञ्चितिमा देखिएको वर्तमान लहर सन् १९७१ पछिको सबैभन्दा ठूलो आर्थिक संक्रमणकाल हो । ५५ वर्षअघि निक्सनले डलरलाई सुनबाट अलग गरेर नयाँ युगको सुरुवात गरेका थिए तर आज त्यही सुनले डलरको साम्राज्यलाई चुनौती दिइरहेको छ ।

डलरको भविष्य आर्थिक सूचकहरूले मात्र नभई वाशिङटनले लिने भूराजनीतिक निर्णयहरूले तय गर्नेछन् । अमेरिकाले आफ्नो ऋण व्यवस्थापन गर्न सकेन र विश्वव्यापी विश्वास पुनर्जीवित गर्न सकेन भने डलरको सट्टा सुनले विश्व अर्थतन्त्रलाई नयाँ दिशा दिने निश्चित छ ।

यो डलरको अन्त्य नभए पनि यसको एकलौटी रजगजको अवसान हुन थालेको भने पक्कै हो । राष्ट्रहरूले सुन थुपार्नु भनेको भविष्यको अनिश्चितता विरुद्ध गरिएको बिमा हो र यो बिमा जति बलियो हुँदै जान्छ, डलर त्यति नै कमजोर बन्दै जानेछ ।