होटल व्यवसायी रामेश्वर साहले जनकपुरमा हेलिप्याडसहितको पाँच तारे होटल बनाउँदै

287
Shares

काठमाडौं । होटल व्यवसायी रामेश्वर साहले जनकपुरमा आधुनिक सुविधा सम्पन्न पाँच तारे होटल बनाउने भएका छन् ।

सन् २०२६ को फेब्रुअरीमा मिथिला हस्पिटालिटी प्रालि कम्पनी दर्ता गरी जनकपुरमा पाँच तारे होटल निर्माण गर्न लागेको हो ।

कम्पनीले १ सय २४ वटा कोठाको सुविधासहित होटल निर्माण गर्नेछ । होटलमा ब्याङ्क्वेट, स्वीमिङ पुल, क्यासिनो, हेलिप्याड र स्पाको सुविधा हुनेछ । होटल १ लाख २० हजार स्क्वारफिट क्षेत्रफलमा फैलिनेछ ।

कम्पनीले होटल निर्माण गर्न २ अर्ब रुपैयाँ लागत अनुमान गरेको छ । कम्पनीले होटल इक्विटी र ऋणमार्फत् लगानी गर्नेछ । जसमा कम्पनीले ८०ः२० को लगानी अनुपात राखेको छ ।

कम्पनीअनुसार हाल आयोजना पहिलो चरणमा छ । जग्गा अधिग्रहणको कार्य भइरहेको छ भने कर्जाको प्रक्रिया अगाडि बढिसकेको छ ।

रामेश्वर साह अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ६५ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ६० करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५ करोड रुपैयाँको रेटिङ गराएको हो ।

साहले होटल व्यवस्थापनका लागि सरोबर होटल प्रालिसँग सम्झौता गर्ने योजना बनाएका छन् । उनले यस अघि नै लुभ्र होटल ग्रुपद्वारा सञ्चालित कम्पनीले ‘रोयल टुलिप’ ब्रान्डमा चितवनमा पाँचतारे होटल सञ्चालन गर्दै आएकोले नयाँमा पनि त्यसैको ब्यवस्थापनका लागि तयारी गरेका हुन् ।

कम्पनीले जानकी मन्दिर र धनुषाधाम सहितका धार्मिक स्थलहरूका कारण प्रत्येक वर्ष हजारौं हिन्दू तीर्थयात्रीहरु आकर्षित गर्ने प्रमुख गन्तव्य भएकाले होटललाई फाइदाजनक हुने जनाएको छ ।

नेपाल सरकारले जनकपुरधामलाई विवाह पर्यटनको केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले पूर्वाधार विकासमा लगानी गरेकाले यो क्षेत्र भारतीय विवाह पर्यटकहरुबीच थप लोकप्रिय बन्दै गएको छ ।

भारत सरकारको पर्यटन मन्त्रालयअन्तर्गत स्वदेश दर्शन योजनाको रामायण सर्किटमा यस क्षेत्रलाई समावेश गरिएकाले सीमापारका पर्यटकहरुका लागि आकर्षण अझ बढेको कम्पनीको भनाइ छ ।

बढ्दो पर्यटकको आकर्षण तथा सम्भावनाका बाबजुद उक्त क्षेत्रमा हालसम्म स्तरीय होटलहरुको अभाव छ । जसले उच्चस्तरीय पर्यटक, विवाह समारोहका सहभागी तथा व्यावसायिक आगन्तुकहरूको आवश्यकतालाई सम्बोधन गर्ने अवसर सिर्जना गरेको छ ।

कम्पनीले उक्त आवश्यकतालाई सम्बोधन पूरा गर्नुका साथै राष्ट्रिय पर्यटन विकासका प्राथमिकतालाई पनि समर्थन गर्ने अपेक्षा गरेको छ ।