मिथिला हस्पिटालिटीद्वारा जनकपुरमा पाँचतारे होटलको भूमि पूजन, २ अर्ब लागतमा १२४ कोठा बन्ने


जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाममा मिथिला हस्पिटालिटीले पाँचतारे होटल निर्माणका लागि भूमि पूजन गरेको छ ।

करिब २ अर्ब रुपैयाँको लागतमा १२४ कोठाको सुविधायुक्त होटल निर्माणका लागि सोमबार भूमि पूजन गरिएको हो ।

होटल निर्माणको काम अब द्रुत गतिमा अगाडि बढ्ने र ३ वर्षभित्र सम्पन्न गरी सञ्चालनमा ल्याइने मिथिला हस्पिटालिटीका अध्यक्ष रामेश्वर साहले बताए ।

उनले जनकपुरलाई ‘वेडिङ डेस्टिनेसन’ (विवाह गन्तव्य) का रूपमा विकास गर्न यो होटलले महत्त्वपूर्ण सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

जनकपुर उपमहानगरपालिका–१४, मुजेलियामा बन्ने यो होटल अन्तर्राष्ट्रिय स्तरको र आधुनिक सुविधाहरूले सुसज्जित हुनेछ ।

चितवनमा ‘रोयल टुलिप’ सञ्चालन गरिरहेका व्यवसायी साहले अन्य तीन जना लगानीकर्तासँगको साझेदारीमा यो होटल बनाउन लागेका हुन् ।

यस परियोजनामा साहका साथै ऊर्जा व्यवसायी काजी लामा, सुदीप चौधरी, ऊर्जाविद् उदयकान्त झा र नबिल बैंकका पूर्व सीईओ ज्ञानेन्द्र ढुङ्गानाको लगानी रहनेछ ।

भूमि पूजन कार्यक्रममा बोल्दै मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले २ अर्बको लागतमा बन्ने यो परियोजना जनकपुरकै गौरवको विषय भएको बताए ।

त्यस्तै, व्यवसायी उपेन्द्र महतोले जनकपुरको जुन विशेषता छ, त्यो विश्वका कुनै पनि देशले खर्बौँ डलर खर्च गरेर पनि बनाउन नसक्ने भन्दै यहाँ बन्ने पर्यटकीय संरचनाले यसको महत्त्व अझ बढाउने उल्लेख गरे ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका रास्वपाका नेता मनिष झाले जनकपुरमा पहिलो पाँचतारे होटल बन्नु सुखद भएको बताए । उनले यस क्षेत्रमा हुने लगानीको सुरक्षा गर्ने जिम्मेवारी स्थानीय र सरोकारवालाको भएको बताउँदै लगानीकर्तालाई ‘चन्दादाता’ का रूपमा नभई ‘विकासका साझेदार’ का रूपमा हेर्नुपर्नेमा जोड दिए ।

झाले जनकपुरको पर्यटन प्रवर्द्धनका लागि बुध्द एयरले जनकपुर–अयोध्या उडानको तयारी गरिरहेको समेत जानकारी दिए ।