उत्तर कोरिया पुगेका चीनका राष्ट्रपति सी चिनपिङको भव्य स्वागत

98
Shares

एजेन्सी । चीनका राष्ट्रपति सी चिनपिङ उत्तर कोरियाको राजकीय भ्रमणका लागि सोमबार प्योङयाङ पुगेका छन् ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उन र उनकी पत्नी रि सोल–जुले सी र उनकी पत्नी पङ लियुआनलाई विमानस्थलमा स्वागत गरेका छन् । सी विमानको सिँढीबाट ओर्लिएपछि किमले उनीसँग अत्यन्तै हार्दिकताका साथ हात मिलाए ।

किमले प्योङयाङको किम इल–सुङ स्क्वेयरमा सीका लागि एउटा भव्य स्वागत समारोह आयोजना गरे । दुई पार्टी र दुई देशका शीर्ष नेताहरू संयुक्त रूपमा सलामी मञ्चमा उक्लिए । २१ तोपको सलामीका बीच सैन्य ब्यान्डले चीन र उत्तर कोरियाको राष्ट्रिय गान बजाएको थियो ।

किमको साथमा सीले कोरियाली जनसेनाका तीनवटै सेवाका गार्ड अफ अनरको निरीक्षण गरे । त्यसपछि सीले किमसँगै मार्च–पास्टको अवलोकन गरे ।

उत्सवको पोशाकमा सजिएका प्योङयाङका विभिन्न क्षेत्रका सर्वसाधारणका साथै बालबालिका र किशोरकिशोरीहरूले हातमा झण्डा, फूल र बेलुन लिएर न्यानो ताली र जयजयकारका साथ विशिष्ट चिनियाँ पाहुनाहरूलाई हार्दिक स्वागत गरे ।

विमानस्थलदेखि किम इल–सुङ स्क्वेयरसम्म र किम इल–सुङ स्क्वेयरदेखि कुम्सुसान स्टेट गेस्ट हाउससम्मको बाटोमा उत्तर कोरियाली जनताले सडकको दुवैतिर लामबद्ध भई हात हल्लाउँदै सीको स्वागत गरेका थिए ।

आफ्नो आगमनअघि सोमबार रोडोङ सिनमुनमा प्रकाशित हस्ताक्षरित लेखमा सीले दुई देशबीचको परम्परागत मित्रताका बारेमा छलफल गर्न र द्विपक्षीय सम्बन्धको समग्र विकासका बारेमा विचार आदानप्रदान गर्न आफू किमसँगको भेटको प्रतीक्षामा रहेको बताए ।