गभर्नर पौडेललाई बर्खास्त गर्न माग गर्दै जेनजी युनाइटेडले अर्थमन्त्रीलाई बुझायो ज्ञापनपत्र

868
Shares

काठमाडौं । गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने माग गर्दै जेनजी युनाइटेडले अर्थमन्त्री रामेश्वर खनाललाई ज्ञापनपत्र बुझाएको छ ।

आइतबार बिहान अर्थमन्त्रालयमा जेनजी युनाइटेडका संयोजक जनक परियारले अर्थमन्त्री खनाललाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा नेपाल राष्ट्र बैंक ऐनलाई लत्याउँदै तत्कालीन सरकारले पौडेललाई स्वार्थ समूहको डिजाइनमा गभर्नर नियुक्त गरेको दाबी गरिएको छ । त्यस्तै, सरकारले गठन गरेको सिफारिस समितिले अख्तियारीको दुरुपयोग गर्दै पौडेललाई सिफारिस गरेको भन्दै पौडेललाई हटाएर नयाँ गभर्नर नियुक्त गर्न माग गरिएको छ।

‘सरकारले २०५८ (प्रथम संशोधन २०६३) को दफा १५ को उपदफा २ को (क) (ख) र (ग) बमोजिम नेपाल सरकारबाट गठित सिफारिस समितिले उपदफा ३ बमोजिम गभर्नर नियुक्तिको लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तिय, वाणिज्य व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरु तथा डेपुटी गभर्नरहरूमध्येबाट तीन जनाको नामवाली नेपाल सरकार मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ भनिएको छ । तर, उक्त व्यवस्थाको विरुद्ध डा. विश्वनाथ पौडेललाई सिफारिस गरियो’ ज्ञापनपत्रमा भनिएको छ ।

पौडेलले कम्प्युटर इन्जिनियरिङमा स्नातक, एग्रिकल्चरमा स्नात्तकोत्तर गरेको र अनुभवको हिसाबले पनि पौडेलको नियुक्ति राष्ट्र बैंक ऐनविरुद्ध भएको उनीहरुको भनाइ छ ।

अर्थमन्त्रालयमा विचौलियाको चलखेल रोक्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूको मनपरी नियन्त्रण गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरुले अनाधिकृतरुपमा लिएको ब्याज ऋणीलाई फिर्ता गर्नुपर्ने, नेपाल राष्ट्र बैंकका गभर्नरलाई बर्खास्त गर्नुपर्ने, राजस्व अनुसन्धान र सम्पत्ति शुद्धिकरण विभागलाई जिम्मेवार बनाउनुपर्ने, वैदेशिक ऋणको दुरुपयोग रोक्नुपर्नेलगायतका माग पनि ज्ञापनपत्रमा समेटिएको छ ।

Skip This