हिरक जयन्तीका अवसरमा होटल एक्स्पो २०२६ को आयोजना हुने

14
Shares

काठमाडौं । होटल संघ नेपाल (हान) स्थापनाको ६०औं वर्ष पुगेको अवसरमा आगामी २०८२ माघ २ गते शुक्रबार काठमाडौंमा संघले हिरक जयन्ती मनाउने भएको छ । उक्त अवसरमा विगतदेखि हालसम्म पर्यटन तथा होटल क्षेत्रमा भए गरिएका सफलता, सम्भावना र चुनौतीहरुका बारेमा चर्चा हुनेछ । संघको स्थापना दिवसका अवसरमा विगत २ वर्षदेखि मनाइँदै आएको सत्कार दिवस समेत मनाइनेछ ।

सो अवसरमा माघ २ र ३ गते दुई दिने होटल एक्स्पो–२०२६ को आयोजना हुनेछन् । उक्त एक्स्पोमा होटलहरुमा आवश्यक पर्ने ५० भन्दा बढी विभिन्न सर सामानहरुको स्टलहरु रहनेछन् भने विभिन्न कम्पनीहरुले उक्त कार्यक्रमलाई प्रायोजनको समेत भूमिका निर्वाह गर्ने हानले जानकारी दिएको छ ।

‘टेक पावरर्ड हस्पिटालिटी’ थिममा आयोजित हिरक जयन्तीका अवसरमा ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरुले आतिथ्य उद्योगमा भए गरेका असल अभ्यासहरुको जानकारी रहनेछ भने होटलहरुमा प्रयोग भइरहेका अटोमेसन, प्रविधिमैत्री व्यवसाय संचालन तथा एआई सहितको सेवा प्रवाह लगायतका विषयलाई कार्यान्वयनमा ल्याउन प्रोत्साहित गरिने जनाएको छ ।

नेपाल होटल इएर बुक–२०२६ का साथै सातै प्रदेशका विभिन्न ६० थरिका मौलिक रैथाने खानाहरुको संग्रह फुड बुक सार्वजनिक गरिनेछ भने उक्त अवसरमा आमन्त्रित स्वदेशी तथा विदेशी पाहुनाहरुलाई उक्त मौलिक परिकारबाट सत्कार गरिने पनि हानको भनाइ छ ।

कार्यक्रममा मुलुकलाई अन्तर्राष्ट्रिय जगतमा पहिचान गराउने होटल तथा पर्यटन उद्योगले मुलुकको अर्थतन्त्रमा पुर्याएको योगदान, यसबाट सृजित रोजगारी चर्चा गरिनेछ । पर्यटनको व्यापक सम्भावना बोकेको हाम्रो मुलुकमा पछिल्लो समयमा देशैभरि द्रुत गतिमा नयाँ ठूला होटलहरु खुल्ने क्रमले यसलाई व्यापकता दिएको छ ।

अन्तर्राष्ट्रिय चेन ब्राण्डका होटलहरुको आकर्षणले अझ यसलाई उजागर गरेको छ । मुलुकका केही गन्तव्यहरु मात्र नभएर सातै प्रदेशमा पर्यटन चलायमान बनाउन पनि यस कार्यक्रमले मद्दत गर्ने नै छ ।

कार्यक्रममा होटल तथा पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने विशिष्ट व्यक्तित्वहरुलाई सम्मानित गरिने पनि संघले विज्ञप्तिमार्फत जनाएको छ । यस कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न संघ संस्थाहरुलाई संघले अपिल गरिसकेको छ ।