विष्णु न्यौपानेको सर्वोत्तम स्टिलको व्यापार एकै वर्ष पौने २ अर्बले बढ्यो

784
Shares

काठमाडौं । सर्वोत्तम स्टिलको व्यापार २६ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा पौने २ अर्ब रुपैयाँले बढेको हो । यो २७ प्रतिशतको वृद्धि हो ।

सन् २०२४ मा ६ अर्ब ८५ करोड ८० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२५ मा ८ अर्ब ७२ करोड ६० लाख रुपैयाँको कारोबार गरेको हो ।

कम्पनीले सन् २०२३ मा ७ अर्ब ७५ करोड ३० लाख रुपैयाँ र सन् २०२२ मा ८ अर्ब ९३ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सौरभ ग्रुपद्वारा सञ्चालित कम्पनी सन् २०१७ मा स्थापना भएको थियो । कम्पनी सन् २०२१ मा पब्लिक कम्पनीको रुपमा परिणत भएको थियो।

कम्पनीले सन् २०२२ देखि डण्डी, बिलेट, वायरको व्यापार गर्दै आएको छ । कम्पनीले वार्षिक ७ लाख ६४ हजार १६० मेट्रिक टन क्षमतामा उद्योग सञ्चालिन गरिरहेको छ ।

कम्पनीको व्यापार पूर्ण डण्डीमा निर्भर रहेको रेटिङमा उल्लेख छ । कम्पनीले सन् २०२४ र २०२५ मा गरेको व्यापारमध्ये डण्डीको हिस्सा नै ९० प्रतिशत रहेको छ । बाँकी आम्दानी बिलेट र बाइन्डिङ वायरबाट भएको पाइएको छ ।

कम्पनीले गत आवमा २.१९ प्रतिशत खुद नाफा कमाएको छ । साथै, कम्पनीको कुल सञ्चय रकम ४० करोड ९० लाख रुपैयाँ पुगेको छ । सन् २०२४ मा १७ करोड ४० लाख रुपैयाँ कुल सञ्चय रकम थियो ।

विष्णुप्रसाद न्यौपाने अध्यक्ष रहेको कम्पनीमा पाँच जना बोर्ड निर्देशक छन् ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६ अर्ब ४४ करोड ४० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ३ करोड ४६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५ अर्ब ४१ करोड रुपैयाँको रेटिङ गराएको हो ।