कोल्ड स्टोर सञ्चालन गर्ने एग्रिवस्तुले स्टोरेज क्षमता बढाउन डेढ अर्ब लगानी गर्दै, १ अर्बको कारोबार

336
Shares

काठमाडौं । एग्रिवस्तु कोल्ड स्टोरेजले एकै वर्ष १ अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ११ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२४ मा १३ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२१ मा स्थापना भएको कम्पनीले कोल्ड स्टोरेज र प्रशोधन, मिक्सिङ र प्याकेजिङ गर्दै आएको छ ।

कम्पनीले फलफूल, तरकारी र आलु, फ्रोजनका परिकार जस्तै सीफुड, कर्न, स्वीट पीज र फ्रेन्च फ्राई र अन्य खाद्यान्नको कोल्ड स्टोरेजको सेवा दिँदै आएको छ ।

लुम्बिनीमा रहेको कम्पनीको २८ सय मेट्रिक टन स्टोरेज गर्न सक्ने क्षमता छ । साथै, कम्पनीको काठमाडौंमा ४ वटा वितरक केन्द्र रहेको छ । उक्त कोल्ड स्टोरेज भाडामा लिइएको रेटिङमा उल्लेख छ ।

कम्पनीले कोल्ड स्टोरेजको क्षमता बढाउने तयारी गरेको छ । कम्पनीले २८ सय मेट्रिक टन क्षमतालाई बढाएर १० हजार मेट्रिक टन बनाउने योजना बनाएको छ । कम्पनीले उक्त स्टोरेज बनाउनका लागि १ अर्ब ४६ करोड १० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । उद्योग भने चितवनको भरतपुरमा बनाउने भएको छ ।

कम्पनीले उद्योग निर्माणका लागि ७०:३० को लगानी अनुपात राखेको छ । जसमा ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट लगानी गर्ने भएको छ भने ३० प्रतिशत लगानी गर्ने भएको छ ।

कम्पनीले उद्योग निर्माण गर्न दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ८५ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ३३ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५२ करोड रुपैयाँको रेटिङ गराएको हो ।