शेखर गोल्छाको हुलास फिनसर्भले आईपीओ जारी गर्ने, साधारणसभाबाट अनुमोदन

455
Shares

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेजको वार्षिक साधारणसभा सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त कर्जा प्रदायक कम्पनीको साधारणसभाले आईपी‌ओ जारीसहित विविध एजेन्डा पारित गरेको जनाएको छ ।

सभामा सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गरेको आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन, तथा नाफा–नोक्सान, नगद प्रवाह विवरण सहितका वित्तीय प्रतिवेदनहरूमाथि विस्तृत छलफल गरी सर्वसम्मतिले स्वीकृत गरिएको छ ।

यस्तै, सभाले आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति, सञ्चालक समिति सदस्यहरूको पुनर्नियुक्ति, तथा सभाको निर्णयमा हस्ताक्षर गर्ने सेयरधनी प्रतिनिधिको मनोनयनसमेत अनुमोदन गरेको छ । साथै, सार्वजनिक निष्कासन सम्बन्धी विशेष प्रस्ताव पनि सभाबाट पारित भएको कम्पनीले जनाएको छ ।

विगत वर्षहरूमा झैं हरेकको जीवनस्तर उकास्नमा महत्वपूर्ण भूमिका खेल्दै आएको हुलास फिनसर्भ हायर पर्चेजले आम सर्वसाधारणलाई सहज तथा शुलभ कर्जा सुविधा उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याएको छ ।

बुक बिल्डिङमार्फत् प्राथमिक सेयर निष्काशन (आईपीओ) ल्याउने तयारी रहेको हुलास फिनसर्भ हायर पर्चेजको आम्दानी ७९ प्रतिशतले बढेको छ । कम्पनीको आम्दानी सन् २०२४ को तुलनामा सन् २०२५ मा ७८.७५ प्रतिशतले बढेको हो ।

कम्पनीले सन् २०२४ मा ५३ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो । सन् २०२५ मा आम्दानी बढेर ९५ करोड १० लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, कम्पनीले सन् २०२३ मा ४८ करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा ५२ करोड १० लाख रुपैयाँ र सन् २०२१ मा ६१ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीले बुक बिल्डिङमार्फत् २० लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्दैछ । जसमध्ये ४० प्रतिशतमा योग्य संस्थागत लगानीकर्ता र ६० प्रतिशतमा सर्वसाधरणको लगानी रहनेछ । सेयर निष्काशनका लागि कम्पनीले २०८१ को असोजमै एनएमबि क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कम्पनीको हाल १ अर्ब ४९ करोड १० लाख रुपैयाँको कुल सम्पत्ति रहेको छ । कम्पनीको सन् २०२४ मा १ अर्ब २४ करोड ५० लाख रुपैयाँ, सन् २०२३ मा १ अर्ब १९ करोड १० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब १९ करोड ७० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब ४ करोड ८० लाख रुपैयाँ कुल सम्पत्ति थियो ।

कम्पनीले गत आर्थिक वर्षमा कुल ८ अर्ब १८ करोड १० लाख रुपैयाँको पोर्टफोटफोलियो व्यवस्थापन गरेको थियो । सन् २०२४ मा ३ अर्ब ४६ करोड ९० लाख रुपैयाँ कुल पोर्टफोलियो व्यवस्थापन गरेको थियो ।

कम्पनीको पोर्टफोलियो सन् २०२५ मा १३६ प्रतिशतले बढेको छ । कम्पनीअनुसार मोबाइलफोन र सवारी साधनको सेग्मेन्टमा कर्जा प्रदान गर्दा फोर्टफोलियोमा उच्च वृद्धि भएको पाइएको हो । सन् २०२५ मा नयाँ सेग्मेन्टमा बढी फोर्टफोलियो व्यवस्थापन भएको पाइन्छ । जसमा २६ प्रतिशत मोबाइलफोन सेग्मेन्टको हिस्सा छ भने दुई पाङ्ग्रे सवारी साधनको ३८ प्रतिशत र २८ प्रतिशत निजी सवारी साधनको हिस्सा छ ।

गोल्छा ग्रुपद्वारा सञ्चालित यस कम्पनीको हाल कुल सम्पत्ति ९ अर्ब ७१ करोड ९० लाख रुपैयाँ रहेको छ । सन् २०२४ मा ८ अर्ब ५८ करोड ८० लाख रुपैयाँ कुल सम्पत्ति थियो । कम्पनीको सम्पत्ति सन् २०२४ को तुलनामा सन् २०२५ मा १ अर्ब रुपैयाँ बढीले बढेको पाइएको छ ।

हुलास फिनसर्भका अध्यक्ष शेखर गोल्छा हुन् । सञ्चालकमा सीमा गोल्छा, अभिमन्यु गोल्छा, श्रेया गिरी र अमिताभ अग्रवाल छन् ।

हुलास फिनसर्भ हायर पर्चेज नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गैर–बैंकिङ वित्तीय संस्था हो । कम्पनीले सन् २०१२ देखि ग्राहकहरुलाई हायर पर्चेज सेवा प्रदान गर्दै आइरहेको छ ।

गोल्छा ग्रुप अन्तर्गतको यो कम्पनी ग्राहकहरूलाई ‘इन्स्टा फाइनान्स’ सेवा प्रदान गर्नेमा विशेषज्ञ रहेको छ । ८० करोड रुपैयाँ पुँजी रहेको कम्पनीले १ लाखभन्दा बढी सवारी साधनमा फाइनान्स गरिसकेको छ ।

उपभोक्ता फाइनान्सिङ सेवाहरू दुई पाङ्ग्रे, तीन पाङ्ग्रे, चार पाङ्ग्रे सवारी, मोबाइल फोन, उपभोक्ता इलेक्ट्रोनिक्स, ल्यापटप र फर्निचरमा उपलब्ध छन् । २०० भन्दा बढी कर्मचारीहरू र ६०० भन्दा बढी व्यापारिक साझेदारले कम्पनीलाई थप मजबुद बनाएको छ । प्रतिस्पर्धात्मक ब्याजदर र नविनतम किस्ता सुविधाहरूमार्फत ग्राहकहरूको खरिद प्रक्रियालाई सजिलो बनाउने प्रतिबद्धता हुलासले गरेको छ ।

पछिल्लो समय गोल्छा ग्रुपले बिक्रीवितरण गर्दै आएको सामसङ स्मार्टफोन, घरायसी सामाग्री तथा पल्सरलगायत सवारीसाधान खरिद किस्तामा गर्न सकिन्छ । सो सेवाको फाइनान्सिङ हुलास फिनसर्भबाट हुने गरेको छ ।

सन् २०१२ मा स्थापित हुलास इन्भेस्टमेन्ट कम्पनीको नाम सन् २०२१ मा हुलास फिनसर्भ बनेको थियो भने सन् २०२३ नोभेम्बरदेखि कम्पनीको नाम हुलास फिनसर्भ हायर पर्चेज भएको हो ।

कम्पनीमा हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको ८५ प्रतिशत सेयर छ भने बाँकी १५ प्रतिशतमा हुलास अटोक्राफ्ट, हिम इलेक्ट्रोनिक्स लगायत ६ जनाको स्वामित्व छ । एचएच एन्ड कम्पनी नेपालमा बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हो ।