
काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सत्ता फेरियो । सरकारी संरचनामाथि प्रहार भयो, निजी क्षेत्रका व्यवसायीमाथि पनि आक्रमण भयो यसले निजी क्षेत्रको मनोवल पनि ध्वस्त भयो । निजी क्षेत्रले सम्पत्ति र लगानी बढाउने भन्दा ज्यान कसरी बचाउने भन्ने सोच्नु परेको छ । यीनै विषयमा क्लिकमान्डुका रोविन पौडेलले उद्योगीहरुको छाता संगठन नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेसँग कुरा गरेका छन् । प्रस्तुत छ, पाण्डेसँगको कुराकानी-
लगानी बढाउनुपर्ने बेलामा ज्यान कसरी जोगाउने भन्ने सोच्नुपर्ने दिन छ । जेनजी आन्दोलन र त्यसपछिको वातावरण कसरी नियाल्नु भएको छ ?
त्यो दुई दिनको घटनाक्रम यति तीब्र गतिमा, एकदमै अभूतपूर्व तरिकाले विकसित भयो कि सायद कसैले पनि त्यसलाई पूर्ण रूपमा बुझ्ने मौका पाएन । पहिलो दिन नै स्कुले पोसाकमा रहेका धेरै भाइबहिनीहरूले ज्यान गुमाउनुपर्यो, जुन अत्यन्त पीडादायी थियो । दोस्रो दिन सरकारी संरचनादेखि लिएर सांस्कृतिक सम्पदा, निजी सम्पत्ति तथा निजी व्यक्तिहरूका घर–घरमा समेत ठूलो मात्रामा क्षति भयो । यसले सर्वसाधारणदेखि उद्योगी–व्यवसायीसम्म सबैको मनोबल एकदमै कमजोर बनाइदिएको छ ।
लगानीको सुरक्षा त आफ्नै ठाउँमा छ, तर व्यक्तिगत जीवन, परिवार र नागरिकको रुपमा संविधानले सुनिश्चित गरेका हक–अधिकारहरूको सुरक्षामा पनि प्रश्नचिह्न उठेको वर्तमान परिस्थितिमा उद्योगी र व्यवसायीहरू यस घटनाको कारण, प्रक्रिया र पृष्ठभूमिबारे निकै गम्भीर भएर सोचिरहेका छौं । भविष्यमा यस्तो अवस्था दोहोरिन नदिने उपाय कसरी सुनिश्चित गर्न सकिन्छ ? औद्योगिक सुरक्षाका आधार कसरी हाम्रो प्रणालीमा प्रस्ट रूपमा स्थापित गर्न सकिन्छ ? भन्ने हामी खोजीमा छौं ।
प्रभावित उद्योगहरूलाई सरकारले सकेसम्म छिटो सहुलियत प्रदान गरोस्, ती उद्योग चाँडो पुनःस्थापित होउन् भन्ने उद्देश्यले पनि हामी निरन्तर सक्रिय छौं ।
भौतिक क्षति त छँदैछ तर त्यसभन्दा ठूलो समस्या मानसिक आघातको हो, जुन आज-भोलिमै हटाउन गाह्रो छ । संरचना फेरि निर्माण होला, उद्योगहरू फेरि उठ्लान् तर जुन स्तरको मनोवैज्ञानिक प्रभाव परेको छ त्यसलाई कम गर्न हामीले भरमग्दुर प्रयास गरिरहेका छौं ।
भविष्यका पुस्तामा पनि सकेसम्म ‘जब-सिकर’ (जागिर खोज्ने) भन्दा ‘जब-क्रिएटर’ (रोजगारी सिर्जना गर्ने) अर्थात् उद्यमी भएर अघि बढ्ने सोचको प्रवद्र्धन आवश्यक छ
अब सरकार, प्रभावित उद्योगहरू र पाइपलाइनमा रहेका सम्भावित लगानीकर्ताहरूलाई एउटै प्लेटफर्ममा ल्याएर संवाद गराउने कार्य थालिएको छ । भविष्यबारे उनीहरूको धारणा, आशंका र अपेक्षा सुन्न तथा विश्वस्त बनाउन सार्वजनिक–निजी संवादका फोरमहरू स्थापना गरेका छौं । देश र अर्थतन्त्रलाई जोगाउन तथा यथाशीघ्र सामान्य अवस्थामा फर्काउन सीएनआईले आफ्नो तर्फबाट सक्दो सक्रियता देखाइरहेको छ । तर मनोबल निकै कम भएको मैले महसुस गरेको छु ।
केही कमाउँ भनी धेरै लगानी जोखिममा राखेर रोजगारी सिर्जना गर्ने, राज्यलाई कर तिर्ने व्यवसायीमाथि छानिछानि प्रहार गर्नु, व्यक्तिगत आक्रमण गर्नु कुन मनोवृत्तिले निर्देश गरेको होला ?
यसका बारेमा के-के हो ? किन हो ? कसरी भयो ? भन्ने कुरा समयक्रमले नै स्पष्ट पार्दै जानेछ । तर मुलतः हाम्रो समाजमा उद्यमलाई प्रोत्साहन गर्ने, उद्यमीलाई सम्मान गर्ने र त्यस्ता प्रयासलाई सहज र सकारात्मक रूपमा विकास गर्न अनुकूल वातावरण तयार गर्दै लैजानु अत्यन्त आवश्यक छ । सँगै उद्यमी भएर लगानी गर्ने, जोखिम बहन गर्ने, समाजका विशिष्ट समस्याहरू समाधान गर्न प्रयास गर्ने र देशमै औद्योगिक वातावरण निर्माण गर्न लागि पर्ने समूहप्रति सकारात्मक दृष्टिकोण राख्ने मानसिकता हाम्रो समाजमा विकास हुनुपर्छ । भविष्यका पुस्तामा पनि सकेसम्म ‘जब-सिकर’ (जागिर खोज्ने) भन्दा ‘जब-क्रिएटर’ (रोजगारी सिर्जना गर्ने) अर्थात् उद्यमी भएर अघि बढ्ने सोचको प्रवद्र्धन आवश्यक छ । किनभने उद्यमशीलता भन्ने कुरा विद्यालयमा केबल पाठ्यपुस्तक पढेर आर्जन हुने सीप मात्र होइन । जोखिम बोक्ने क्षमता, समस्यालाई समाधान गर्ने दृष्टिकोण, दीर्घकालीन योजना, कार्यक्षमता र म्यानेजमेन्ट कुशलताजस्ता गुण अत्यन्त महत्वपूर्ण तत्त्वहरू हुन् ।
कुनै पनि देश समृद्ध बन्न उद्यमीहरूको भूमिका अपरिहार्य हुन्छ । त्यसैले उद्यमशीलता र उद्यमप्रति सम्मान तथा सम्पत्तिलाई सकारात्मक रूपले स्वीकार र उत्सवपूर्वक कदर गर्ने परम्परालाई अझ मजबुत र सुदृढ बनाउँदै लैजानुपर्छ ।
अनेकौं मेहनत गरेर बनाउनुभएको साम्राज्य आँखै अगाडि दनदनी बलिरहँदा एउटा व्यवसायीको मनमा त्यतिखेर के आएको थियो ?
उद्यम त साँच्चिकै इँटामाथि इँटा राख्दै निर्माण गरिएको हुन्छ । धेरै साथीहरूको उद्यम पनि अत्यन्त सानो लगानीबाट सुरु भएर क्रमशः वृद्धि हुँदै आजको अवस्थामा पुगेको हो । आफ्नै सन्तानलाई हुर्काएजस्तै एक किसिमको भावनात्मक सम्बन्ध हो । जीवनको ऊर्जाशील समय समर्पित गरेर, वर्षौंसम्म कठोर परिश्रम गर्दै, दिनमा १८ घण्टा काम गरेर, बिदा नभनी मेहनत गर्दै, धेरै जोखिमहरू व्यहोरेर बनाइएको त्यो मेहनतको फलमा प्रहार हुँदा भित्रि मनसम्म पीडा भएको थियो ।
अर्थतन्त्रले सिथिलताको बिन्दु पार गरेर विस्तारै सुधारको बाटोमा अघि लाग्दै गर्दा यस किसिमको अपरिकल्पनीय गतिविधि हुँदा भविष्यबारे के सोच्नु भएको थियो ?
आन्दोलनअघिका कुरा सुन्ने हो र अन्त पनि भएका यस्तै मुभमेन्ट हेर्ने हो भने जे उद्देश्यका साथ त्यो आन्दोलन सुरु भएको थियो, त्यो त निकै राम्रो नै थियो । सुशासनको कुरा होस्, भ्रष्टाचारविरुद्ध आवाज उठाउने होस् वा अभिव्यक्तिको स्वतन्त्रताको कुरा होस् यी सबैमा सबै प्रकारले ठीक माग थिए । यस्ता माग र वातावरणले त सधैं उद्योग–व्यवसायलाई उभिन, फस्टाउन, स्थिर र सकारात्मक माहोल दिन मद्दत गर्छ । समाजलाई पनि यो नै सही दिशा हुने थियो ।
तर पहिलो दिन सकिनै लाग्दादेखि दोस्रो दिनको अन्त्यसम्म आइपुग्दा धेरै कुरा अनपेक्षित रूपमा भए । व्यापक आगजनी भयो, ठूलो असर पर्यो । त्यसले ‘सुरक्षा’ भन्ने कुरा कति अत्यावश्यक र सर्वोपरि रहेछ भन्ने एकदमै गहन अनुभूति दिलायो । कानूनी व्यवस्था र सुरक्षा जस्तो मूल आधार नै भएन भने जे गरे पनि हुने रहेछ भन्ने भयो । फेरि शून्यमा फर्किएको धरातल नै नभएको अवस्थामा पुगेजस्तो महसुस भयो । त्यतिबेला त राज्यको उपस्थिति नै छैन जस्तो पनि लाग्यो ।
सेना परिचालित हुनुअघि देखिएको त्यो अवस्था त कुनै पनि सभ्य समाजमा नआउनु पर्ने हो । सेना परिचालन भएपछि परिस्थिति सहज हुँदै गयो । त्यसपछि परिस्थितिहरू क्रमशः नियन्त्रणतर्फ मोडिँदै गए । अर्को दिनमात्र जनमानसमा केही हदसम्म आत्मविश्वास फर्काइदियो ।
यसले सिकाएको कुरा के हो भने राज्य–व्यवस्था र लगानीको सुरक्षा मात्र होइन, व्यक्तिगत सुरक्षाको प्रश्न नै सबैभन्दा प्यारामाउन्ट रहेछ । सिंहदरबार जलेको देख्दा, अदालत जलेको देख्दा, प्रहरी पूर्वाधार जलिरहेको देख्दा मैले जुन पीडा महसुस गरें । त्यो पीडा मेरो मात्र थिएन, सबै नेपालीको भावना एउटै थियो ।
यहाँ मैले सोध्न चाहेको के हो भने बैंकमा ब्याजदर कम भइसकेको थियो, मान्छेहरूको क्रयशक्ति बढ्दै थियो, रेमिट्यान्स राम्रो दरमा आइरहेको थियो । अर्थतन्त्र अब चाहिँ सुध्रिन्छ र अब त समुन्नति आउँदा भन्दै गर्दा भदौ २३ र २४ को परिस्थिति बेहोर्नुपर्यो । यो चोटको दाग कहिलेसम्म रहिरहला ? पूर्ववत स्थितिमा आउन सकिएला कि नसकिएला ?
भूकम्पपछि हाम्रो अर्थतन्त्रले अर्को वर्षमै एकदमै छिटो अर्थात् भी-आकारमा रिकभर गर्यो । करिब ९ प्रतिशतको आर्थिक वृद्धि हासिल भयो । पुनर्निर्माणले अगाडि बढाएको आर्थिक गतिविधि केही वर्ष बढिरह्यो । त्यो उद्यमशीलता पनि प्रबद्र्धन भयो।
त्यसपछि कोभिडको समयमा आइपुग्दा सबै व्यवसायहरू पुनः निष्क्रिय बस्नुपर्यो । नाकाबन्दीदेखि बन्दाबन्दीसम्मको अवस्था झेल्यौं । तर त्यसपछिपछि पनि हामी विस्तारै रिकभर हुँदै थियौं । तर, कोभिडपछि अन्य नीतिगत उल्झनले गर्दा दुई–तीन वर्षसम्म हाम्रो अर्थतन्त्रले रिकभरी गर्नै सकेन । बैंकमा लगानीयोग्य रकमको अभाव, विदेशी मुद्राको सञ्चितिको कमी हुँदा आयात प्रतिबन्ध जस्ता कडाका कदम चालियो ।
तर, हालैमात्र अर्थतन्त्र अलिकति रिकभर हुन खोज्दै थियो, त्यही बेलामा अर्को एकदमै ठूलो आघात भोग्नुपरेको छ । हाम्रो प्रारम्भिक अनुमानअनुसार जेनजी आन्दोलनको असर कुल गार्हस्थ्य उत्पादनको करिब ५ प्रतिशत जीडीपी बराबरको पर्ने हाम्रो अनुमान छ । सरकारले ६ प्रतिशतको वृद्धि लक्ष्य राखेकामा विश्व बैंकले २.१ प्रतिशत मात्र हुने प्रक्ष्येपण गरिसकेको छ । जे भए पनि, यसको सीधा असर हाम्रो अर्थतन्त्रमा पर्छ नै ।
तर, वर्तमान परिस्थितिलाई समयमै चुनाव गरेर, राजनीतिक स्थिरता ल्याएर र वर्तमान जेनजी आन्दोलनको सारलाई प्रणाली, प्रक्रिया र हाम्रो सोचमा आत्मसात् गरेर सुधारको बाटोमा लाग्न सक्छौं । त्यसका लागि सम्पूर्ण समाज नै प्रतिबद्ध हुनुपर्छ । हाम्रा भाइबहिनीहरूले ज्यान बलिदान दिएर परिवर्तन खोजेका छन्, त्यो आकांक्षालाई अहिलेका राजनीतिक दल, नागरिक समाज र निजी क्षेत्र सबैले आत्मसात् गर्दै अगाडि बढ्नुपर्छ भन्ने लाग्छ मलाई ।
जेनजी आन्दोलनमा भएको क्षति ‘कोल्याटरल ड्यामेज’ मात्रै भयो भने त ठिकै छ । तर, यसको प्रभाव लामो समयसम्म रहिरहे व्यवसायीको आत्मबल झन् कमजोर बनाउनेछ । त्यो स्थितिमा पनि नेपालमै बसेर काम गर्ने जाँगर चल्छ होला त ?
म एक व्यवसायी र उद्यमीको दृष्टिबाट भन्न चाहन्छु, हामीले जहिले पनि प्रतिकूल परिस्थितिमा अवसर देख्ने क्षमता राख्नुपर्छ । उद्यमी र उद्यमशील व्यक्ति सधैं सकारात्मक दृष्टिकोण राख्ने समूह हुन् । अहिले पनि सर्वाधिक प्रभावित व्यवसायीले हामी छिटो उठ्छौं, सकेसम्म चाँडो सेवा दिन तत्पर छौं र काममा निरन्तर सक्रिय छौं भन्ने स्पष्ट रुपमा देखाउनुभएको छ । उहाँहरूको प्रतिबद्धता, अझ बलियो र दृढ भएर अगाडि बढ्ने चाहना सार्वजनिक हुनुले सबैमा सकारात्मक ऊर्जा फैलाएको छ ।
अनुभवले हामीलाई सिकाएको छ कि प्रणालीलाई स्थिर बनाएर अगाडि बढाउनु आवश्यक छ । हामी स्थानीय लगानीकर्तासँग विकल्प सीमित छ, देशभित्र मात्रै लगानी गर्नुपर्ने अवस्था छ । नेपालको विकास र आर्थिक वृद्धिको आकांक्षा मात्र स्थानीय स्रोतले पूरा गर्न सक्दैन । अन्तर्राष्ट्रिय लगानीकर्ता र प्रत्यक्ष विदेशी लगानी (एफडीआई) आवश्यक छ । विदेशी लगानी ल्याउन हामीले विश्वका अन्य देशहरूसँग प्रतिस्पर्धा गर्नुपर्छ । साथै नेपालमा लगानी गर्नु सुरक्षित, प्रभावकारी र लाभदायी छ भन्ने महसुस गराउन सक्नुपर्छ ।
त्यसका लागि स्थानीय व्यवसायीले बढी मेहनत गर्नुपर्छ । हालको परिस्थितिमा देशका लागि उपलब्ध स्रोत स्थिर छैनन् र यदि विदेशी लगानीकर्तालाई विश्वास दिलाउन सकेनौं भने लगानी आउँदैन । त्यसैले नेपाल उद्योग परिसंघ (सीएनआई)ले एक छाता संगठनको रूपमा सबै निजी क्षेत्रसँग मिलेर निरन्तर काम गरिरहेको छ । साथै, वर्तमान आर्थिक अवस्थालाई रूपान्तरण गरी अगाडि बढाउन, कुन–कुन क्षेत्रहरूमा काम गर्नुपर्छ ? र दीर्घकालीन दृष्टिकोणका साथ योजना बनाउने विषयमा पनि हामी प्रोएक्टिभ भएर सोच बनाइरहेका छौं ।

एउटा छाता संगठनको अध्यक्षको रूपमा होइन, एउटा सामान्य व्यवसायीको रूपमा सोच्दा कहिलेकाहीँ यो देशमा के बसिरहनु ? यत्ति नै दुःख गर्यो भने त अर्को देशमा अझ राम्रो कमाइ हुन्छ, त्योभन्दा राम्रो अवसर छ भन्ने सोच मनमा आउँछ कि आउँदैन?
मान्छेहरूलाई केही हदसम्म निराशा हुन सक्छ । तर अन्ततः जहाँ अवसर छ, त्यहाँ चुनौती पनि अवश्य हुन्छ । संसारका सबै ठाउँकाल लागि यही सत्य हो । नेपाली समाज अत्यन्त लचिलो र दृढ समाज हो । हाम्रो सामाजिक संरचना बलियो छ । अहिलेसम्म हरेक संकटलाई हामीले सामूहिक रूपमा सामना गरेका छौं, त्यो स्पष्ट रूपमा देखाउन सफल भएका छौं ।
चाहे त्यो नाकाबन्दीको समय होस्, भूकम्प वा अन्य प्राकृतिक विपत्तिको समयमा होस्, हामी सधैं एकजुट भएर सामना गरेका छौं । त्यसै क्रममा निजी क्षेत्रले पनि संकटका समयमा अत्यावश्यक सेवा निरन्तर उपलब्ध गराउन ठूलो योगदान दिएको छ । आर्थिक रूपमा पनि उनीहरूले सक्रिय र प्रोएक्टिभ सहयोग गर्दै आएका छन् ।
अहिलेको अवस्थामा पनि स्वतःस्फूर्त रूपमा प्रहरी कार्यालय लगायतका संरचना सरकारको खर्चबिना अर्थात् निजी क्षेत्र र स्थानीयको सहयोगमा पनि सञ्चालनमा छन् । यसले देखाउँछ कि हाम्रो समाज र निजी क्षेत्र दुवै संकटका समयमा जिम्मेवारीपूर्वक काम गर्न सक्षम छन् ।
त्यस्तो खुला र उदार हृदयको भावना सबै समाजमा नहुन सक्छ । तर यसले अवसरको ढोका पनि खोल्छ । हाम्रो लगानी गर्ने क्षमता अझै पर्याप्त छ । पूर्वाधारमा हामीले खर्च धेरै गरेका छैनौं । औद्योगिक योगदान जिडीपीको ५ प्रतिशतभन्दा कम छ । त्यसैले यहाँ अझै ठूलो स्कोप छ । प्राकृतिक स्रोत धेरै छन् । ती स्रोतलाई कसरी, कुन क्षेत्र वा पेशामा प्राथमिकता दिने, कसरी अघि बढाउने भन्ने स्पष्ट खाका बनाउनु आवश्यक छ ।
यो खाका पञ्चवर्षीय योजनामा त छ, तर बदलिँदो समय र परिवेशअनुसार त्यसलाई अझ परिष्कृत र सुधार गर्दै अघि बढाउनुपर्छ । अवसर नभएको होइन, यहाँ पर्याप्त अवसर छ । कहिलेकाहीँ शंका उत्पन्न हुन सक्छ, तर हामीले शंका उब्जन नदिने उपाय पनि सोच्नुपर्छ । तर देश छोडेर जानुपर्छ भन्ने भावना व्यवसायीको मनमा पलाउँदैन भन्ने मेरो विश्वास छ ।
तपाईंले आशावादी कुरा त गर्नुभयो । तर व्यवसायीप्रति राज्यले हेर्ने नजर, आम सर्वसाधारणले हेर्ने नजरले तपाईंहरुलाई निराशा त ल्याउँदैन ?
कहिलेकाहीँ त्यस्ता परिस्थितिहरूले दबाब दिन सक्छन् । हामीले देखेका छौं कि कति फ्यामिली बिजनेस छन् । बिजनेस गर्न दिनरात मेहनत गर्नुपर्छ, १६–१८ घण्टा दैनिक काम गर्नुपर्छ, घरखेत सम्हाल्नुपर्छ, व्यवसायमा उतिकै ध्यान दिनुपर्छ । अलिकति समस्या भए व्यवसायी सडकमा त आउँदैन, आफैं पुनः प्रयास गरेर सफलता हासिल गर्छ । यस्ता व्यवसायी समुदाय देशको लागि अत्यन्त आवश्यक हुन् ।
व्यवसायीले ८० प्रतिशतभन्दा बढी रोजगारी सिर्जना गर्छन्, कर तिर्छन् र करबाटै देशको तलब, स्वास्थ्य सेवा, सामाजिक कल्याण र अन्य सेवा चल्छ । त्यसैले यस्ता उद्यमीहरूलाई सकारात्मक दृष्टिले हेर्नुपर्छ । यदि केही समस्या देखियो भने, त्यसका लागि कानूनी प्रणाली, प्रक्रिया र संरचना छन्, जसले व्यवस्थित रूपमा व्यवस्थापन गर्न सक्छन् । तर एकतर्फीरुपमा व्यवसायीलाई दोषी देख्नु हुँदैन ।
कानुनी सिद्धान्त अनुसार कुनै पनि समयमा भविष्यका लागि हुने परिवर्तनले अघिल्ला विषयलाई कभर गर्नुहुँदैन । यस्ता व्यवस्थाले विदेशी लगानीकर्ता पनि उत्साहित हुँदैनन्
हामीले लामो समयदेखि यही कुरा दोहोर्याउँदै आएका छौं । सरकारले पनि हालै उद्यमशीलता र व्यवसायीलाई सम्मान, मान्यता र करदाता पहिचान दिने दिशामा काम गरिरहेको छ । सबैले बुझ्नुपर्छ कि व्यवसाय गर्न चाहनेलाई अवसर खुला छ । व्यवसाय भनेको ब्रिक बाइ ब्रिक, स्टेप बाइ स्टेप प्रक्रिया हो । धेरै मेहनत र पसिनाले बनेको संरचना सधैं स्थायी हुन्छ । समाजले उद्यमशीलतालाई सकारात्मक दृष्टिले हेर्नुपर्छ । सरकारले पनि समान अवसर र भेदभावबिनै प्रोत्साहन दिने वातावरण बनाउनुपर्छ । यसो गरे मात्रै हामी देशका लागि प्रतिस्पर्धी बन्न सक्छौं । विश्वका अगाडि बढिरहेका अर्थतन्त्रसँग तथा छिमेकीहरूसँग प्रतिस्पर्धा गर्न सोच, बुझाइ र सामाजिक दृष्टिकोण सकारात्मक बनाउनुपर्छ ।
कहिले भूतप्रभावी कर लाइदिने, कहिले पहिलेको बिल अहिले तिर भन्ने, बिनाप्रमाण पैसा तिर्न लगाउने जस्ता राज्यले गरेको व्यवहार कत्तिको पाच्य छन् ?
हामीले बुझ्नुपर्छ कि कुनै पनि व्यवसाय वा उद्यम तुरुन्तै आजको भोलि रिटर्न दिन सक्दैन । उद्यमशीलता भनेको १०–१५ वर्षको भिजन राखेर ग्रोथ गर्नुपर्ने प्रक्रिया हो । कति लगानी गर्यो भने कति प्रतिफल हुन्छ ? भन्ने हिसाबले योजना बनाउनु पर्छ । त्यसक्रममा हाम्रो कानुनी फ्रेमवर्क, नियम–कानुन, कर प्रणाली लगायतका सबै आवश्यकताहरू अनुसार योजना बनाएर कार्यान्वयन गर्नुपर्छ ।
कानुनी सिद्धान्त अनुसार कुनै पनि समयमा भविष्यका लागि हुने परिवर्तनले अघिल्ला विषयलाई कभर गर्नुहुँदैन । यस्ता व्यवस्थाले विदेशी लगानीकर्ता पनि उत्साहित हुँदैनन् । हामीले सार्वजनिक रुपमा पनि कानुनी हेरफेर भुतप्रभावी नहुने भनिसकेका छौं । हालका ऐन कानुनहरूमा कम्तीमा २५–३० बुँदामा सुधार आवश्यक छ । निजी क्षेत्रले यसबारे कानुन जानकारसमेतको सहभागितामा विस्तृत अध्ययन गरी र उद्योग प्रतिनिधिहरूसँगको भेटघाट गरी आवश्यक दस्तावेज तयार पारेर सरकारलाई पेस गरिसकेको छ ।
यदि वातावरण स्वास्थ्यपूर्ण र लगानी अनुकूल नबनेसम्म, योजना अनुसार ग्रोथ आउँदैन । यसले अन्ततः सरकारकै राजस्वमा असर पुर्याउँछ, किनभने प्रत्येक व्यवसायको साझेदार सरकार नै हो किनकी कर प्रणालीमार्फत राजस्व सुनिश्चित हुन्छ । त्यसैले सरकारले सकारात्मक वातावरण निर्माण गर्नुपर्छ । लगानी अनुकूल, स्थिर र पारदर्शी वातावरण प्रदान गर्नुपर्छ । भूतप्रभावी कर नीतिले कहिलेकाहीँ समस्या ल्याउने हुँदा तिनलाई सुधार्नु पनि आवश्यक छ ।

पछिल्लो घटनाक्रमको कुरा गरौं । डेडिकेटेड ट्रंकलाइन विवादमा करिब दुई दर्जन उद्योग बन्द भए । उद्योगीहरु हामीले तिर्नै नपर्ने पैसा महसुलको रूपमा पठायो भन्छन्, प्रमाण तिरे तिर्छु पनि भन्छन् । उद्योगीहरुको संगठनको नेता भएको नाताले यो विषयलाई कसरी हेर्नुभएको छ ?
त्यतिखेरदेखि सीएनआईको एउटा स्पष्ट अडान यो थियो कि उद्योगीहरूले समयभन्दा अगाडि नै महसुल तिरेका छन् । यदि अगाडि नै महसुल तिरेर छुट लिएका रकम तिर्ने प्रक्रिया पूरा भइसकेको छ ।
तर प्रिमियमको विषयमा भने लाल आयोगका प्रतिवेदन र यससम्बन्धी विस्तृत छलफल पहिलेबाट नै भइसकेको छ । यदि उद्योगीहरूले उक्त सुविधा प्रयोग गरेका छन् भने तिर्नुपर्छ । तर, सम्झौताअनुसार नेपाल विद्युत प्राधिकरणले आवश्यक प्रमाण (एभिडेन्स) प्रस्तुत गर्छ भने सर्तहरू पूरा भएको मानेर उद्योगीले पैसा तिर्छौं भनिरहेका छौं ।
कसैले विशेष लाभ लिने निर्णय गरेअनुसार अतिरिक्त भुक्तानी तिर्न तयार भएर कतिपय उद्योगीहरूले तिरिसकेका छन् । तर जसले यस्तो सुविधा प्रयोग गरेका छैनन्, वा सर्तहरू पूरा भएको छैन भने जबर्जस्ती भुक्तानी गराउनु हुँदैन ।
उद्योगी र सेवा प्रदायक बीचको सम्बन्ध कन्ट्रयाक्ट र प्रमाणको आधारमा निर्धारण हुनुपर्छ । अहिले पनि धेरै चरणमा रहेका विवाद पूर्ण समाधान भएका छैनन् र यसलाई सकेसम्म छिटो समाधान गर्नु आवश्यक छ ।
यस विषयमा आयोग गठन भएको छ, अन्य अध्ययनहरू गरिएको छ, सिफारिसहरू आएका छन् र मुद्दाहरू पनि चलिरहेका छन् । उद्योगीलाई जबर्जस्ती गर्नु हुँदैन । यस अवस्थामा राज्यले न्यायसंगत, स्पष्ट र औचित्ययुक्त निर्णय लिनुपर्छ।
सर्वसाधारण उपभोक्ताबाट महसुल उठाउँदा बिल पठाइन्छ तर उद्योगलाई २०७५ चैतमा पठाएको पत्रमा बिल संलग्न थिएन । राज्य र राज्यका निकायले बिना प्रमाण पैसा उठाउन पाइन्छ ?
यो दुई व्यावसायिक विषयमा आधारित छ । पहिलो, यदि उद्योगले जेनेरेटर चलाएर बिजुली प्रयोग गर्नुको सट्टा प्रिमियममा तिर्नु उत्तम हुन्छ भन्ने र त्यसको आधारमा एउटा कन्ट्रयाक्ट भएको छ भने उहाँहरुले तिर्नुपर्छ । तर यदि प्रमाण छैन भने उद्योगलाई जबर्जस्ती भुक्तानी गराउनु हुँदैन । राज्यले जबर्जस्ती गर्नु हुँदैन । विवादको समाधान यीनै आधारमा हुनुपर्छ भन्ने हाम्रो विश्वास छ।
तर, बिजनेस गर्नेहरु पनि पहुँच र सम्बन्धको आधारमा घुमाइफिराइ लाभ लिइरहेका हुन्छन् । यो कुरा कहीँ कतै प्रतिबिम्बित पनि भएको छ । पछिल्लो समय निजी क्षेत्रमाथिको प्रहार र राज्यले गरेको व्यवहार त्यही सम्बन्ध प्रत्युत्पादक बन्नुको नतिजा हो ?
हुन सक्छ । तर यसलाई जेनेरलाइज गरेर हेर्नु हुँदैन । किनभने कसैले व्यक्तिगत लाभ वा आफ्नो संस्थाका लागि केही लाभ लिए पनि होलान्, लिएनन् पनि होला । तर सम्पूर्ण निजी क्षेत्रका सबै व्यवसायीले त्यसरी नै काम गरेका छन् भन्न मिल्दैन । यदि अवाञ्छित वा नियमविपरीत क्रियाकलाप भएका छन् भने त्यसलाई कानुनी माध्यमबाट नियन्त्रण गर्नु पर्छ । विधिको शासन कार्यान्वयन हुनु आवश्यक छ ।
तर केवल केही व्यवसायीहरूले अतिरिक्त लाभ लिएका छन् भनेर सम्पूर्ण उद्योगलाई त्यसरी हेर्नु उचित हुँदैन । धेरै व्यवसायी इमानदार र जिम्मेवार छन् । कोहीले गल्ती गरे भने कानुनअनुसार समाधान वा कारबाही हुनुपर्छ ।

मेरो प्रश्नको अन्तर्य यो हो कि विदेशमा व्यवसायीहरुले राजनीति गर्न खोज्दा कति राम्रो भन्छौं । नेपालमा चाहिँ कोही बिजनेस गर्ने मान्छे पोलिटिसियन भयो अथवा राजनीतिको नजिक भयो भने त झन् बढी बिरोध हुन्छ । पछिल्लो समय उद्योगी विनोद चौधरी, व्यवसायी मीनबहादुर गुरुङको व्यवसायमाथिको प्रहार पनि राजनीतिक निकटताका कारण हो भनिन्छ । तपाईंलाई के लाग्छ ?
कुनै पनि सभ्य समाजमा, कुनै पनि व्यक्ति संविधानले तोकेका योग्यताको दायराभित्र रहेर राजनीतिमा जान सक्छ । किनभने राजनीति भनेको ‘मदर अफ अल प्रोफेसन्स’ अर्थात् सबै व्यवसायको जननी हो । राजनीतिमा जुनसुकै पेशाका व्यक्तिहरू जान सक्नुपर्छ ।
तर यहाँ चेक एन्ड ब्यालेन्सको कुरा पनि आउँछ । यदि मैले कुनै विशेष व्यवसाय गर्दै आएको छु र त्यससँग सम्बन्धित मेरो स्वार्थको द्वन्द्व हुन्छ भने ती ठाउँमा (मन्त्रालय) जानु हुँदैन । वा म सम्बन्धित मन्त्री भएँ भने पनि मैले मेरो कन्फ्लिक्ट अफ इन्ट्रेस्टलाई सार्वजनिक गर्नुपर्छ र तेस्रो पक्षले हेर्ने व्यवस्था गर्नुपर्छ । मैले व्यक्तिगत लाभ लिनु हुँदैन किनभने त्यो अनैतिक हुन्छ।
यदि यस्तो मेकानिजम सुनिश्चित गरिएको छ भने, जो कोही पनि राजनीति गर्न सक्छ । संगीतकर्मी, कलाकार, व्यवसायी, प्रोफेसर जो आफ्नो देशको विकासमा योगदान गर्न चाहन्छ र समाजलाई राम्रो बनाउने उद्देश्यले आफ्नो ज्ञान र अनुभव उपयोग गर्न चाहन्छ । त्यसरी गएर कानून र प्रणालीमा योगदान गर्न सकिन्छ । तर समस्या त्यहीँबाट सुरु हुन्छ कि कन्फ्लिक्ट अफ इन्ट्रेस्टको उचित व्यवस्थापन नभएमा व्यक्तिगत लाभ लिने सम्भावना बढ्छ ।
यो समस्या त निजी क्षेत्रमा पनि देखिन्छ । निजी क्षेत्रको छाता संगठनले समग्र व्यावसायिक क्षेत्रको हीतको बारेमा कुरा गर्नुपर्नेमा कहिलेकाहीँ व्यक्तिगत व्यवसायको हीतका लागि लबिङ गर्ने गरेको सुनिन्छ । के लाग्छ तपाईंलाई ?
मेरो संस्था सीएनआईमा मैले अहिलेसम्म यस्तो कुनै अवस्था देखेको छैन । म २०१३–१४ देखि सीएनआईमा जोडिएको हुँ । त्यहाँ तीन वर्षसम्म भाइस प्रेसिडेन्ट रहें र अहिले अध्यक्षको रूपमा जिम्मेवारी बहन गरिरहेको छु । हामी जहिले पनि हाम्रा क्षेत्रगत समस्या समग्र रुपमा उठाउँछु । तर व्यक्तिगत व्यवसाय वा फाइदाका लागि होइन । यदि कुनै सदस्यले कानुनसम्मत अप्ठ्यारो भोगिरहेका छन् र त्यसलाई सुधार गर्न सकिन्छ भने, त्यसलाई हामी कहिलेकाहीँ उठाउँछौं । तर समष्टिगत रूपमा हामी कहिल्यै पनि कुनै विशेष इन्डस्ट्रीको लागि विशेष सुविधा वा लाभ माग्दैनौं । हामी जहिले पनि ओभरअल इकोनोमिक ग्रोथलाई केन्द्रमा राख्छौं । हाम्रो सोच यही हो कि यदि हामीले ‘केकको पाइको साइज’ ठूलो बनायौं भने त्यसको लाभ सबैलाई पुग्छ, उद्योग, समाजलाई र सरकारलाई । यसरी हाम्रो उत्पादनशील र सेवामूलक उद्योगको प्रतिनिधित्व गर्दै, हामी इम्पोर्टलाई कसरी सब्स्टिच्युट गर्न सकिन्छ, एक्सपोर्ट प्रवद्र्धनका लागि के समस्या छन् र यसले हाम्रो इकोनोमीको अभिन्न अंगको रूपमा कसरी योगदान गर्छ भन्ने कुरा समेटेर नीति सिफारिस गर्छौँ ।
हामी विश्वास गर्छौं कि कुनै पनि अर्थतन्त्र दीर्घकालीन, दीगो र रेजिलियन्ट (लचिलो) हुनको लागि स्थानीय उद्योग बलियो हुनु आवश्यक छ । यसमा ठूला उद्योगहरू पनि पर्छन्, साना तथा मझौला उद्योग पनि । औद्योगिक पर्यावरण बलियो हुँदा धेरै आयात गर्नु पर्दैन । आयात प्रतिस्थापन सम्भव हुन्छ र रोजगारीका अवसरहरू सिर्जना हुन्छन् । यदि हाम्रो औद्योगिक पर्यावरण कमजोर भयो भने युवाहरूले बाहिर रोजगारी खोज्नुपर्नेछ र हाम्रो अर्थतन्त्र जोखममा पर्नेछ । साना बाह्य धक्काले पनि ठूलो असर गर्न सक्छन् ।
नेपालका राजनीतिक दललाई चुनावका बेला व्यवसायीले फन्डिङ गर्ने गरेको आरोप लाग्ने गर्छ । व्यवसायीले फन्डिङ गरेका राजनीतिज्ञ सत्तामा हुँदा तपाईंहरूको पक्षमा निर्णयहरू गर्नुपर्यो । जब कि सरकारमा रहनेले देशको समग्र अर्थत्नत्र, व्यवसायीक क्षेत्रको हितमा काम गर्नुपर्नेमा निश्चित व्यवसायीका लागि गर्ने गरेको आरोप लाग्ने गरेको छ नि !
यसमा दुइटै प्रकारका स्थिति हुन्छन् । कोही व्यक्तिले आफ्नो व्यक्तिगत हितलाई सुरक्षित गर्नका लागि निर्णय लिन सक्छन् । तर, केही यसरी पनि हुन्छ कि मलाई कुनै पार्टीको नीति मन पर्छ, त्यसैले म त्यसलाई समर्थन गर्छु । यसले ओभरअल ग्रोथमा योगदान गर्छ, मलाई फाइदा हुन्छ र सँगसँगै देशको इकोनोमीलाई पनि फाइदा पुग्छ भनेर सोच्ने पनि अवस्था हुन्छ ।
तर, अहिलेको हाम्रो राष्ट्रिय आकांक्षालाई हेर्दा, हाम्रो निर्वाचन प्रणालीमा पनि सुधार आवश्यक देखिन्छ । हामीले कुनै पनि डोनेसन दिने वा प्राप्त गर्ने भए, त्यसलाई ट्रान्सपरेन्ट हिसाबले गर्नुपर्छ र यसको लेखा जोखा सार्वजनिक हुनु आवश्यक छ । कुन पार्टी, कुन व्यक्तिले वा कुन उद्योगले कति योगदान दियो भन्ने कुरा सार्वजनिक र पारदर्शी ढंगले देखिनुपर्छ । यसरी ट्रान्सपरेन्ट मेकानिजम अपनाउँदा प्रणाली स्वस्थ हुनेछ । साथै, निर्वाचनको लागत पनि कम गर्ने दिशा तर्फ अघि बढ्नुपर्छ । तर, यो अब पूर्ण रूपमा राजनीतिक विषय हो । मैले यो ठाउँमा बसेर व्यक्तिगत रूपमा धेरै राजनीतिक कुराहरू गर्दिनँ ।

सीएनआईले अनुसन्धान र तथ्यमा आधारित रहेर पोलिसी लबिङ कसरी गरिरहेको छ ?
पहिला हामी आफ्नो रिसर्चका लागि बाह्य स्रोत प्रयोग गरिरहेका थियौं । ठूला अन्तर्राष्ट्रिय फर्महरू वा यहीँका विशेषज्ञबाट आवश्यक सहयोग लिएर काम गरिन्थ्यो । तर पछि हामीले आफ्नै रिसर्च सेल बनाएर अनुसन्धान गरिरहेका छौं । यसो गर्दा हाम्रो ज्ञानको दायर विस्तार हुन्छ र वास्तविक समस्या तथा समाधान बुझ्न सजिलो हुन्छ ।
हामीले नियमित रुपमा व्यवसायी र उद्योगसँग सम्बन्धित तथ्य संकलन पनि गर्दै आएका छौं । यसबाट प्रत्येक त्रैमासमा व्यवसायीहरूको अनुभव, आकांक्षा, संवेदनशील बिन्दु र समग्र बुझाइ कुन दिशामा परिवर्तन भइरहेको छ भनेर स्पष्ट जानकारी प्राप्त हुन्छ । त्यसको आधारमा हामी समयमक्रममा व्यवसाय कसरी अघि बढ्न सकिन्छ भन्ने रणनीति तय गर्छौँ ।
यसरी अनुसन्धानमा लगानी गर्दा राम्रो परिणाम पनि आएको छ । हामीले नियमित रुपमा प्रकाशनहरु निकाल्दै आएका छौं । सीएनआईमा १९–२० वटा विभिन्न समितिहरु पनि छन् । ती सबै समितिलाई रिसर्च सेलले डेटा र प्रमाण उपलब्ध गराउँछ । त्यस आधारमा फिल्टर गरी सुझाव तयार हुन्छ । यसो गर्दा समग्र आर्थिक विकासलाई समर्थन गर्छ भन्ने हाम्रो दृष्टिकोण छ ।
जेनेरेसन जेड अर्थात् जेनजी आन्दोलनको कुरा गरिरहँदा उद्यममा जेनजी अर्थात् नयाँ पुस्ताको प्रवेशले व्यवसायमा के कस्तो सहजता भइरहेको छ ?
यदि व्यक्तिगत रूपमा सोध्नु भएको हो भने म जीवनभर सिकाइमा विश्वास गर्ने मान्छे हुँ । हरेक समयमा नयाँ नयाँ कुरा सिकिरहनुपर्छ भन्ने मेरो विश्वास हो । सुरुमा हामीले कम्प्युटर देखेका पनि थिएनौं, टेलिफोन पनि घुमाउने खाले प्रयोग गथ्र्यौँ । तर अहिले स्मार्टफोनको युगमा हरेक पलमा केही न केही नयाँ कुरा सिकिरहेको हुन्छौं ।
जेनेरेसनहरूको ग्याप भए पनि, कसरी त्यो जानकारी र परिवर्तनलाई हामीले आत्मसात् गर्न सक्छौं भन्ने कुरा व्यक्तिको क्षमता र स्किलमा भर पर्छ । अहिले फ्यामिली बिजनेसहरू ट्रान्सफर्म हुँदैछन्, युवा साथीहरूले नयाँ नयाँ प्रणाली र सोच ल्याइरहेका छन्, जुन तारिफयोग्य छ । पुराना प्रणालीमा सञ्चालन भएका उद्योगहरूलाई नयाँ सिस्टममा ल्याउनु, अनुसन्धान र विकासमा लगानी गर्नु, साँच्चिकै राम्रो काम हो ।
सीएनआईमा पनि हामीले ‘वाईईएफ’ अर्थात् योङ आन्ट्रप्रेनर्स फोरम स्थापना गरेका छौं । यहाँ नयाँ उद्योगहरूको अनुभव, वर्तमान बजारको ज्ञान, नयाँ उदीयमान उद्योग तथा टेक्नोलोजी र नवप्रवर्तनलाई मर्ज गरेर राम्रो परिणाम ल्याइरहेका छौं । हामी वाईईएफसँग नजिकमा रहेर काम गर्छौँ, मेन्टरिङ र सिक्ने अवसर दुवै प्रदान गर्छौँ । यो नै एउटा सिकाइ प्रक्रिया हो । सबैसँग आफ्नो अनुभव आदानप्रदान गर्दै, समग्र उद्योगको उद्देश्य मूर्त रूप दिन यो काम गरिन्छ ।
जेनेरेसन जेड, वाई र नयाँ पुस्ताहरू आउँदैछन् । अल्फाबेट नयाँ पुस्तासँगै टेक्नोलोजी पनि तीव्र गतिमा विकसित हुँदैछ । हामीले नयाँ ज्ञान आत्मसात् गरेर अगाडि बढ्नुपर्छ । त्यसैकारण हाम्रो रिसर्च सेलले पनि यही लाइनमा काम गरिरहेको छ । हामी आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग, क्लाइमेट चेन्जको अध्ययन र त्यसबाट उत्पन्न जोखिमको व्यवस्थापनमा काम गरिरहेका छौं ।
हामी संसारका शीर्ष जोखिमयुक्त देशहरूमध्ये पर्छौँ । त्यसैले यसलाई कम गर्न र अनुकूलन गर्न, नयाँ टेक्नोलोजी, नयाँ उद्योग र व्यवसायहरू ल्याउने उपायमा हामी सक्रिय छौं । सर्कुलर इकोनोमीमा पनि नयाँ, अझ इनोभेटिभ फ्युचर बिजनेसहरू विकास गर्न सकिन्छ ।
सीएनआईले १०० बिलियन डलरको इकोनोमी र दोहोरो अंकको आर्थिक वृद्धिको कुरा गर्छ । त्यो के हो खासमा ?
अहिले नेपालको अर्थतन्त्र करिब ४४ अर्ब डलरको छ । अब हामीले यसलाई १०० अर्ब डलरमा पुर्याउन कति समय लाग्छ भन्ने कुरा विचार गर्नु जरुरी छ । त्यसका लागि कुन–कुन क्षेत्रले यसको वृद्धिलाई ड्राइभ गर्न सक्छन् भन्ने कुरा पनि स्पष्ट हुनुपर्छ । अहिलेका रहेका क्षेत्रहरू, नयाँ उदयमान क्षेत्रहरू, वा ती क्षेत्रका उपक्षेत्रले कसरी समग्र वृद्धि र जीडीपीमा योगदान पुर्याउन सक्छन्, त्यसको अध्ययन आवश्यक छ ।
आवश्यक नीति परिवर्तनहरू के–के हुनुपर्छ ? कहाँ–कहाँका बोटलनेक अनलक गर्नुपर्छ ? कति अतिरिक्त लगानी चाहिन्छ ? कुन प्रोजेक्टले वृद्धिलाई तीब्रता दिन सक्छन् ? र ती प्रोजेक्टमा कति लगानी आवश्यक हुन्छ ? यी सबै कुरा रोडम्यापको रूपमा तयार पार्ने काम हामीले सुरु गरिसकेका छौं । प्रारम्भिक रूपमा आठ वटा मुख्य क्षेत्र हामीले पहिचान गरेका छौं, तर समयसँगै आवश्यकतानुसार परिवर्तन पनि हुन सक्छ ।
अर्थतन्त्रमा सँधै केही न केही अनिश्चितता वा ‘शक’ आइरहन्छ । कहिले कुनै आन्दोलनको प्रभाव हुन्छ, कहिले कोभिड जस्ता महामारीको असर देखिन्छ । यस्ता परिस्थितिहरूलाई कसरी व्यवस्थित गर्ने ? दीगो रुपमा सर्वोत्कृष्ट सम्भव परिणाममा कसरी पुग्ने ? र ती शंका वा अनिश्चिततालाई म्यानेज गर्दै अगाडि कसरी बढ्ने ? भन्ने विषयमा हामी म्याक्रो इकोनोमिक मोडलिङ, सेक्टर मोडलिङ र नेपाली विशेषज्ञहरूको सहयोगमा नेपालमै स्थानीय प्रकारको अध्ययन गरिरहेका छौं ।
यी अध्ययनको आधारमा निकट भविष्यमा हामी यसका निष्कर्ष सार्वजनिक गर्नेछौं । र, हरेक देशलाई लागू गर्न सकिने, व्यावहारिक र सम्भाव्य सिफारिस तथा रोडम्याप तयार पार्ने हाम्रो प्रयास निरन्तर चलिरहेको छ । यसरी हामी प्रोएक्टिभ भएर अघि बढ्ने लक्ष्य राखेका छौं ।

जेनजी आन्दोलन लगत्तै सीएनआईले ‘वि विल राइज’ भन्ने थिममा लगानी बोर्ड, ३ जना मन्त्री डाकेर बृहत् छलफल गर्नुभयो । त्यसको निष्कर्ष के थियो ? अब कसरी अघि बढ्ने ?
अहिले मनोबल खस्किएको छ । भावनात्मक, मनोवैज्ञानिक र भौतिक क्षतिको सन्दर्भमा, समग्र देशको दृष्टिकोण के हुनुपर्छ, स्वदेशी र विदेशी लगानीकर्ताहरूले नेपालबारे कस्तो खालको बुझाई विकास गर्नुपर्छ ? उनीहरूको चिन्ताहरू के के छन् ? र त्यसलाई सरकारले कसरी सम्बोधन गरिरहेको छ भन्ने कुरा हेर्ने खालको एउटा फोरम हामीले सिर्जना गर्नुपर्छ भन्ने आवश्यकतामा आधारित कार्यक्रम हो ।
लगानीकर्ताहरु चाहे वर्तमान उद्योगी हुन् वा सम्भावित लगानीकर्ता, सीएनआईमा जहिले पनि नेपालको अवस्था, अवसर र रणनीतिबारे सल्लाह गर्नुहुन्छ । त्यसैले सम्बन्धित निकायसँग मिलेर एउटा डायलग सिर्जना गर्नु आवश्यक थियो । यस क्रममा सुरक्षा तथा कानून–व्यवस्था सम्बन्धी मुद्दा धेरै उठेका कारण हामीले गृहमन्त्रीज्यूलाई अनुरोध गर्यौं । अर्थमन्त्रीज्यूले मुख्य जानकारी प्रदान गर्नुभयो भने उद्योगमन्त्रीज्यू र सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरूसँग बैठक गरी लगानी बोर्डसहित प्रमुख सरोकारवालालाई पनि समेटेर ठूला लगानी परियोजनाहरूको प्रगति र पाइपलाइन समीक्षा गरियो ।
नेपालमा अवसरै अवसर छ । भविष्य सुन्दर छ । हाम्रो सामाजिक डायस्पोरा र परिवेशले पनि अवसर देखाउँछन् । मैले धेरै हिसाबले भविष्य सुन्दर देखेको छु । म्याक्रो इकोनोमिक अवस्था स्थिर छ । मुद्रास्फीति र ब्याजदर पनि अनुकूल छन्
छलफलमा प्रत्येक क्षेत्रका प्रमुख उद्योगी, प्रमुख कार्यकारी, वरिष्ठ नेतृत्वकर्ता र सीएनआईका आफ्नै सदस्यलाई समावेश गरेर व्यापक छलफल गरियो । सरकारले अहिलेसम्म गरेका कामहरू प्रस्तुत गरे र तत्कालै निजी क्षेत्रले अनुरोध गरेका लगभग सबै मुद्दा पूरा भइसकेको जानकारी गराइयो । भविष्यमा पनि बन्द समन्वयमा काम जारी रहने व्यवस्था गरिएको छ । यसरी निर्वाचन प्रक्रियाको समयतालिकासँगै कानून, सुरक्षा र व्यवस्था सबैले प्रत्याभूति प्राप्त गर्ने गरी स्थिरता कायम गरिएको छ ।
उद्यमीहरूको तर्फबाट भएको चिन्ता, भविष्यमा के हुने ? र कसरी हुने ? भन्ने सवालको सम्बोधन यस कार्यक्रममा प्रभावकारी रूपमा भएको छ । यो खालको छलफललाई भविष्यमा पनि निरन्तरता दिनुपर्छ भन्ने हाम्रो दृष्टिकोण हो । यसले गभर्मेन्ट र निजी क्षेत्रबीचको दूरी कम गर्दै विश्वासको वातावरण सिर्जना गर्नेछ । जसबाट लगानीकर्तामाझ विश्वास बढ्नेछ र नेपालको अर्थतन्त्रलाई थप समर्थन मिल्नेछ ।
अब लगानीकर्ताको मनोबल उकासियोस्, आम सर्वसाधारणको उद्योगीहरू अथवा व्यवसायीहरूप्रति हेर्ने नजर सुध्रियोस् र सरकारले पनि तपाईंहरूलाई ठीक तरिकाको व्यवहार गरोस् । अन्त्यमा के भन्नुहुन्छ ?
नेपालमा अवसरै अवसर छ । भविष्य सुन्दर छ । हाम्रो सामाजिक डायस्पोरा र परिवेशले पनि अवसर देखाउँछन् । मैले धेरै हिसाबले भविष्य सुन्दर देखेको छु । म्याक्रो इकोनोमिक अवस्था स्थिर छ । मुद्रास्फीति र ब्याजदर पनि अनुकूल छन् । लागनीलाई ड्राइभ गर्न कहिलेकाहीँ सरकारले अतिरिक्त लगानी गरेर केही मुख्य परियोजना उद्घोष गरेर सकारात्मक सन्देश दिनुपर्छ । यसले एउटा ‘स्नोबल इफेक्ट’ सिर्जना गर्छ र प्रक्रिया अगाडि बढ्छ ।







प्रतिक्रिया