कमब्याकसँगै एनआईसी एशियाको गियर बदल्ने सुजितको दुईसुत्रीय योजना (भिडियो)


काठमाडौं । नबिल बैंकको सिनियर डीसीओको पद छाडेर संकटउन्मुख एनआईसी एशियामा किन गए सुजित शाक्य ? यस्तो छ उनको रणनीति

एनआईसी एशिया बैंक अहिले इतिहासकै सबैभन्दा कठिन अवस्थामा गुज्रिरहेको छ । विगतमा आक्रामक भएर अन्धाधुन्ध कर्जा विस्तार गरेको एनआईसी एशियाले त्यही कर्जा उठ्न नसक्दा कठिन परिस्थिति बेहोरिरहेको छ । अधिकांश सूचकमा वाणिज्य बैंकहरूको सूचीमा अन्त्यतिर छ । व्यवसायको आकार लगातार घटाइरहेको छ ।

२०७८ असारमा बैंकको निक्षेप २ खर्ब ९० अर्ब र कर्जा २ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको थियो । अहिले निक्षेप बढेको छ तर कर्जा घटेको छ । अब बैंकको भविष्य के होला भन्ने आम मानिसमा चासो र चिन्ता बढेको छ । यही बीचमा बैंकलाई सम्हाल्ने जोश र अठोट बोकेर अहिले सुजित कुमार शाक्य आएका छन् । ८ वर्ष अघि उनी एनआईसी एशिया बैंकमै थिए । ८ वर्षपछि फेरि कमान्डरको जिम्मा लिएर गत कात्तिक १७ गते उनी एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका हुन् ।

नबिल बैंकको सिनियर डीसीईओ रहेका शाक्य सीईओमा बढुवा भएर ८ वर्षपछि एनआईसी एशियामै फर्किए ।

तर एउटा आम प्रश्न छ, ‘राम्रैसँग चलिरहेको नबिल बैंकको सिनियर डीसीओको पद छाडेर संकटउन्मुख एनआईसी एशियामा किन गए होलान् ?’

यो प्रश्नको जवाफमा सीईओ शाक्य भन्छन्, ‘एनआईसी एशियामात्रै होइन, नेपालको बैंकिङ क्षेत्र नै कठिन मोडमा छ । एनआईसी एशिया जति बिग्रनु थियो बिग्रिसक्यो, अब सुध्रने मात्रै हो ।’

विगतमा एनआईसी एशिया बैंक कर्पोरेट बैंकिङ छाडेर रिटेल (खुद्रा) मा केन्द्रित रह्यो, जुन त्यसबेलाका लागि ठिकै रणनीति थियो । तर अर्थतन्त्रमा देखिएको संकुचनले सबैभन्दा बढी प्रभाव साना तथा मझौला उद्योगमा पर्यो । घरजग्गामा मन्दी आयो, जसको सबैभन्दा बढी असर एनआईसी एशियामा पर्यो । पछिल्ला २/३ वर्षमा दैनिकजसो सबैभन्दा बढी धितो लिलामीका सूचना निकाल्ने पहिलो नम्बरमा पर्छ यो बैंक ।

घरजग्गामा आएको मन्दीले लिलामीमा राखिएका धितोहरू अपेक्षित रूपमा बिक्री हुन सकिरहेका छैनन्, जसकारण बैंकको खराब कर्जा बढ्दै गएको छ भने नबिकेका धितो बैंक आफैंले गैरबैंकिङ सम्पत्तिका रूपमा बुक गरेको छ । गत असोज मसान्तमा एनआईसी एशियाको गैरबैंकिङ सम्पत्ति ४ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ ।

यो बैंकको ९० प्रतिशतभन्दा बढी कर्जा खुद्रा छ । बैंकको ५ लाख, १ करोड, २ करोड रुपैयाँ बराबर अर्थात् ५ करोड रुपैयाँभन्दा कमको कर्जा ८० प्रतिशतभन्दा बढी छ । यो बैंकले ५ करोड रुपैयाँभन्दा ठूलो कर्जालाई कर्पोरेट कर्जा मान्दै आएको छ ।

अर्थतन्त्रमा समस्या देखिँदा पनि कर्पोरेट ग्राहकले नियमित रूपमा सावाँ–ब्याज तिरिरहेकै छन् । तर कतिपय साना तथा मझौला उद्यमीहरू बन्द गरेर भागेका छन् ।

खुद्रा कर्जामा ‘क्रान्ति’ नै गरेको एनआईसी एशियाको बैंकिङ मोडल अर्थतन्त्रमा देखिएको सुस्तताले असफल बनाइदिएको छ । घरजग्गाको भाउ घट्दो छ भने सेयर बजार पनि बढ्न सकेको छैन । कोरोना महामारीपछि बढ्दो युवा पलायन र अर्थतन्त्रमा देखिएको संकटले साना तथा मझौला उद्योगी टिक्न सक्ने अवस्था रहेन । साना र मध्यम वर्गका ऋणीहरू गम्भीर संकटमा फसे । उनीहरूले बैंकबाट लिएको ऋण तिर्न सकेनन् । बैंकले धमाधम धितो लिलामी गर्यो । तर उक्त धितो बिकेन । जसले एनआईसी एशियालाई नै संकटमा मात्र पुर्याएन, रिटेल बैंकिङबाट कर्पोरेट बैंकिङमा फर्कन बाध्य बनायो । तत्कालीन सीईओ रोशन न्यौपानेले लिएको रिटेल बैंकिङ मोडल असफल भएपछि कार्यकाल बाँकी रहँदै उनले जागिर गुमाउनुपर्यो ।

अब बैंकलाई यो अवस्थाबाट बाहिर निकाल्न नवनियुक्त सीईओ शाक्यले खासगरी दुईवटा रणनीति बनाएका छन्-पहिलो, कर्पोरेट बैंकिङ गर्ने; दोस्रो, कर्जा बढाउने ।

यो रणनीतिबाट बैंकले अब आफ्नो पहिचान बदल्ने गरी बैंकिङमा आक्रामक ढंगले अघि बढ्ने उनको विश्वास छ ।

तर तत्कालै एनआईसी एशियालाई कर्पोरेट बैंकिङ गर्न त्यति सजिलो भने छैन ।

किनभने, पहिलो कारण-एनआईसी एशियाले कोरोना महामारीका बेला कर्पोरेटलाई ऋण तिर्न ताकेता गर्यो । महामारीपछि एनआईसीले सबै ठूला कर्जावालालाई दिएको ऋण फिर्ता मागेको थियो । त्यसपछि बैंकले व्यापक मात्रामा शाखा विस्तार गर्यो र धितोमा आधारित खुद्रा कर्जा आक्रामक ढंगले विस्तार गर्यो । जसकारण यो बैंकसँग कर्पोरेट जगत रिसाएको छ । दोस्रो कारण-यो बैंकको आधारदर सञ्चालनमा रहेका वाणिज्य बैंकहरूमध्येकै सबैभन्दा धेरै अर्थात् ६.६० प्रतिशत छ । राष्ट्रियस्तरका विकास बैंकको भन्दा पनि धेरै छ । यसको अर्थ-एनआईसी एशियाबाट कर्जा लिन निकै महँगो पर्छ । केही वर्षअघिमात्रै कर्पोरेट कर्जा बन्द गरेर आक्रामक रूपमा खुद्रा बैंकिङ गरेको एनआईसी एशिया बैंक अब फेरि कर्पोरेट र निर्माण क्षेत्रमा फर्कन लागेकाले बैंकलाई त्यति सहज भने छैन ।

तर, नवनियुक्त सीईओ शाक्य यसमा दृढताका साथ लागेको देखिन्छ । उनले सबै विभागीय प्रमुखहरूलाई रणनीति बदलेर जाने प्रष्ट निर्देशन दिइसकेका छन् ।

कर्पोरेट बैंकिङको दशकौंको अनुभव भएका सुजित शाक्य सीईओ बनेर कर्जा नीति बदल्दैछन् । अब विगतमा जस्तो धितो मात्रै हेरेर ऋण नदिने उनी बताउँछन् । राष्ट्र बैंकको सहजीकरण भए पुँजी र कर्जा दुवै बढाउने लक्ष्य लिएका छन् । बैंकका ४० लाखभन्दा बढी ग्राहक छन्, जसमध्ये ३० लाख सक्रिय प्रयोगकर्ता छन् । बैंकले विभिन्न सेवा प्रवाह गर्दा १०/२० रुपैयाँमात्रै सेवा शुल्क लिने हो भने पनि बैंकले अर्बको हाराहारीमा आम्दानी गर्न सक्छ । तर यसका लागि राष्ट्र बैंकले सहजीकरण गरिदिनु पर्छ ।

‘ग्राहकले थाहा नै नपाउने गरी वा ग्राहकलाई भार नपर्ने गरी सेवा शुल्क बढाउने हो भने मात्रै पनि अर्बको हाराहारीमा आम्दानी गर्न सकिन्छ,’ शाक्यको भनाइ छ । यसका लागि राष्ट्र बैंकले सहजीकरण आवश्यक छ ।

त्यसैगरी, ५० वटा शाखा मर्ज गरेर सेवाको गुणस्तर बढाउनुका साथै बैंकको खर्च घटाउने आफ्नो रणनीति रहेको उनी बताउँछन् ।

‘दर्जनौं शाखा मर्ज गरेर सिनियर मान्छेलाई शाखा प्रबन्धक बनाउँदा सेवाको गुणस्तर पनि बढ्ने र कर्जाको गुणस्तर पनि कायम रहने’ उनको रणनीति छ ।

राष्ट्र बैंकले सहजीकरण गरेको खण्डमा आफ्नो यो रणनीतिले बैंकलाई सबल र सुदृढ बनाउने उनको विश्वास छ ।

पुँजीकोषमा दबाब परेपछि लिएको ‘कर्जा घटाउने’ नीतिले बैंकलाई पछि पारेको उनको बुझाइ छ ।