
काठमाडौं । निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् ।
उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई सरकारले पूर्ण सुरक्षाको प्रत्याभुति गराउन नसकेको बताए ।
आगजनीमा संलग्नलाई अझै कारबाही नभएको भन्दै उनीहरुले तत्काल कारबाहीको माग समेत राखेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्र अहिले चुनौतीपूर्ण परिस्थीतिबाट अघि बढ्नुपरेको बताए ।
शुक्रबार काठमाडौंमा भएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले गत वर्षका सूचकहरु हेर्दा अर्थतन्त्र सकारात्मक देखिए पनि अहिले अत्यन्तै अप्ठ्यारो स्थीतिको सामना गर्नुपरिरहेको बताए ।
आन्दोलनका कारण फरक परिस्थिति सिर्जना भएको भन्दै व्यक्तिवादी आक्रमणलाई राज्यले छुट दिन नहुने उनको भनाइ छ ।
‘व्यक्तिवादी जुन तार्गेट भयो । सरकारी सम्पदाहरु र व्यवसायीहरुको व्यवसाय र घरघरमा गएर छानिछानी आक्रमण भएको छ । त्यसले गर्दा व्यवसायी हतोत्साहित भएका छन्,’ महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, ‘यो एकदमै विषम परिस्थीति हो । सरकारलाई हामीले स्पष्ट भनेका छौं, यसमा जोजो संलग्न छन् कारबाही गर्नुपर्छ । समयमै कारबाही होस् । यस्तो खालको गतिविधि भविष्यमा दोहोरिनु हुँदैन । किनभने भोलि पनि आन्दोलन हुनसक्छ । विगतमा पनि यस्तो आन्दोलनमा निजी क्षेत्रमाथि तार्गेट भएको थियो । लिस्ट बनाइ बनाइ गरिएको आक्रमण गम्भीर कुरा छ । सरकारले भोलका दिनमा यस्ता घटना नदोहोरिने वातावरण बनाउनैपर्छ ।’
कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले जेनजी पुस्ताले गरेको आन्दोलनपछि मुलुक चुनावतर्फ अग्रसर भएको भन्दै यसलाई सकारात्मक रुपमा हेरिनुपर्ने बताए । भ्रष्टाचार निवारण, परदर्शीता, नीतिगत स्पष्टता आफूहरुको समेत उठाउँदै आएको बताउँदै जेनजीहरु उठाउँदै आएका मागहरु पूरा हुनुपर्नेमा उनले जोड दिए ।
नयाँ सरकार गठनसँगै राष्ट्र बैंकले लिएका पछिल्ला नीतिहरुले समेत त्यो सन्देश दिएको उनको भनाइ छ । जेनजी आन्दोलनले पारेको असरलाई समेत समेटेर परिसंघले अध्ययन समेत गरिरहेको उनको भनाइ छ ।
‘विगतमा जस्तै आगामी दिनमा लगानी, अर्थतन्त्र, जेनजी आन्दोलनले व्यवसायमा पारेको प्रभाव, लगायतका विषयमा अध्ययन गरिरहेका छौं । हामी सार्वजनिक गर्नेछौं,’ उनले भने, ‘हालको ४५ अर्ब डलरको अर्थतन्त्रलाई आगामी १० बर्षमा १०० अर्ब डलरमा पुर्याउनुपर्छ र सकिन्छ भनेर सकल्प गरेको छ र यसको अध्ययन प्रतिवेदन पनि बाहिर ल्याउनेछौं ।’
उनले जनयुद्धहरु भोगिसकेको अर्थतन्त्र र निजी क्षेत्रले जेनजी आन्दोलनको समेत सामाना गर्ने बताए ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले जेनजी आन्दोलनपछि लगानीकर्तामा निराशा छाएको बताए । सरकारले तत्कालै सुरक्षाको प्रत्याभुति गर्न जरुरी रहेको बताउँदै उनले राष्ट्र बैंकले समेत प्रभावकारी नीति अंगिकार गर्नुपर्नेमा उनले जोड दिए ।
‘लगानीको आकर्षण बढाउन सरकारले सुरक्षाको प्रत्याभूति गराउनुपर्छ । हामीले प्रधानमन्त्री अर्थमन्त्रीलाई पनि भनिसकेका छौं । तत्कालै हामीलाई सुरक्षाको प्रत्याभुति चाहियो । विदेशीलाई मात्रै नभई स्वदेशी लगानीमा पनि इभेस्टमेन्ट प्रोटेक्सन पोलिसी अब सरकारले लिनुपर्यो,’ चेम्बर अध्यक्ष अग्रवालले भने, ‘अहिले राजीतिक स्थीरता पनि जरुरी छ । राजनीतिक स्थायित्व हुन जरुरी छ । नीतिगत स्थायित्व पनि जरुरी छ ।’
उनले सरकारले लिने नीतिगत कुराहरु छिनछिनमा परिवर्तन हुँदा निजी क्षेत्रलाई मार पर्ने गरेको बताए । प्रतिष्पर्धी कर नीति हुन जरुरी रहेको बताउँदै सरकारले यसमा ख्याल गर्नुपर्नेमा उनको जोड थियो ।








प्रतिक्रिया