
काठमाडौं । एमालेका पूर्वउपाध्यक्ष भीम रावल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा आबद्ध भएका छन् ।
बुधबार रावलले मातृभूमि जागरण अभियान नेपालका संयोजकका हैसियतमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालसँग सहमति गरेका हुन् ।
सहमति पत्रअनुसार रावलको जिम्मेवारीसहितका विषयहरू आपसी छलफलमार्फत टुंगो लगाइने उल्लेख गरिएको छ । साथै, पार्टी एकीकरणका लागि विभिन्न तहमा आवश्यकताअनुसार कार्यदल गठन गर्ने सहमति पनि भएको छ ।
एमालेले साधारण सदस्यताको हकसमेत खोस्ने गरी कारबाही गरेपछि रावलले मातृभूमि जागरण अभियान गठन गरी सक्रिय रहेका थिए ।
नेकपामा एकीकरणको औपचारिक घोषणा केही बेरमा राष्ट्रिय सभा गृहमा हुने तयारी छ । पार्टी सचिवालयमा दाहाल, नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ रहने सहमति यसअघि नै भइसकेको छ । दाहाल, नेपाल र रावलबीचको त्रिपक्षीय सहमतिअनुसार रावलको वरीयता निर्धारण हुने बताइएको छ ।








प्रतिक्रिया