दुर्गा प्रसाईं समूहले गृहमन्त्रीलाई बुझायो २७ बुँदे माग, संविधान खारेजदेखि ऋण मिनाहसम्मका माग

462
Shares

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ले बुधबार गृहमन्त्रालयमा २७ बुँदे मागपत्र बुझाएको छ ।

प्रसाईं समूहका तर्फबाट माधव प्रसाद खतिवडाले गृहमन्त्री ओमप्रकाश अर्याललाई मागपत्र बुझाएका हुन् । मागपत्र बुझाएपछि सुरु भएको वार्ता आजका लागि सकिएको छ ।

मागपत्रमा देशको राजनीतिक, आर्थिक र सामाजिक संरचना पुनःनिर्माणसँग सम्बन्धित विषयहरू समेटिएका छन् । संविधान खारेज, राजसंस्थाको पुनर्स्थापना, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण मिनाहाजस्ता मागहरू प्रमुख रूपमा समावेश छन् ।

प्रसाईं समूहले पहिलो बुँदामा ‘नेपाल नेपालीले नै बनाउने र व्यापार पनि नेपालीले नै गर्न पाउने वातावरण बनाइनु पर्ने’ माग अघि सारेको छ ।

त्यस्तै, वर्तमान संविधान खारेज गरी बौद्ध, किराँतसहित वैदिक सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य र संवैधानिक राजसंस्थाको स्थापना गर्नुपर्ने र उक्त विषय जनमत सङ्ग्रहमार्फत टुंग्याउनुपर्ने माग पनि राखिएको छ ।

मागपत्रमा प्रदेश संरचना खारेज गरी पाँच विकास क्षेत्र, १४ अञ्चल र ७५ जिल्ला पुरानै स्वरूपमा पुनःस्थापना गर्नुपर्ने भनिएको छ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थालाई राष्ट्रियकरण गरी जोखिम रकम उठाई बैंक र व्यवसायीबीच स्पष्ट छुट्याउने व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।

आर्थिक पक्षमा, सीपअनुसारको रोजगारी नेपालमै सिर्जना गर्नुपर्ने र खाडीका जेलमा रहेका करिब ७ हजार नेपाली युवालाई सरकारको पहलमा स्वदेश फिर्ता गराउनुपर्ने माग पनि समावेश गरिएको छ ।

सहकारी र लघुवित्तसँग सम्बन्धित मागहरूमा, सर्वसाधारणले लिएको २० लाख रुपैयाँसम्मको ऋण मिनाहा गर्नुपर्ने, र २० लाखभन्दा बढी ऋण २५ किस्तामा पाँच प्रतिशत ब्याजदरमा तिर्न पाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

प्रसाईं समूहले प्रस्तुत गरेको २७ बुँदे मागपत्रमा शासन व्यवस्था, धार्मिक स्वतन्त्रता, आर्थिक सुधार र नागरिक अधिकारका विषयलाई जोड दिइएको छ ।

गृहमन्त्रालयसँगको वार्ता आज सकिए पनि आगामी दिनमा मागहरूबारे थप छलफल हुने बताइएको छ ।

यस्तो छ प्रसाईं समूहको माग