मधेसमा मुख्यमन्त्री नियुक्ति विवाद: प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयमा तोडफोड

84
Shares

धनुषा । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विवाद उग्ररुप लिँदै तोडफोड र प्रदर्शनसम्म पुगेको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि नेपाली कांग्रेससहित सात दलका नेता तथा कार्यकर्ताले प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका छन् ।

असन्तुष्ट समूहले मधेस भवन अगाडि टायर बाल्दै नाराबाजी गरेका छन् । उनीहरूले मुख्यमन्त्री कार्यालय र मन्त्रालयहरूमा तालाबन्दीसमेत गरेका छन् ।

https://www.facebook.com/reel/1321776789230275

प्रदेश प्रमुख भण्डारीले सोमबार बिहान संविधानको धारा १६८ को उपधारा (३) बमोजिम एमाले दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । अस्वस्थताको कारण देखाउँदै बिहान झिसमिसेमै निवासबाट निस्किएकी भण्डारीले महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित पानस होटलमा पुगेर यादवलाई पद तथा गोपनीयताको शपथ खुवाएकी थिइन् ।

यसअघि धारा १६८(२) अनुसार नियुक्त लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत पाउने स्थिति नदेखिएपछि यही कात्तिक २२ गते प्रदेश सभा बैठकमै राजीनामा दिएका थिए ।

नवनियुक्त मुख्यमन्त्री यादव मधेस भवन आउने तयारीमा रहेको सूचना पाएपछि विरोधमा रहेका दलका कार्यकर्ताहरूले उनलाई रोक्ने प्रयासमा प्रदर्शन गरेका हुन् । यसबीच एमालेभित्र पनि मुख्यमन्त्री नियुक्तिको प्रक्रियाबारे असन्तुष्टि देखिएको छ ।