
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा राष्ट्र बैंकले प्राइम कमर्सियल बैंक र कुमारी बैंकलाई कारबाही गरेको हो । केन्द्रीय बैंकको निर्देशन उल्लंघन गर्दा दुई बैंकलाई कारबाही गरिएको हो ।
बैंक सुपरिवेक्षण विभागले प्राइम कमर्सियल बैंकलाई कर्जाको वर्गीकरण नियामकीय व्यवस्था अनुसार नगरेको पाइएको जनाएको छ । बैंकले कर्जाको भाखा नाघेको अवस्थाको कर्जाको वर्गीकरण नगरी, कर्जाको बक्यौता अवधिको कर्जामा गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था कायम नगरेको केन्द्रीय बैंकले जनाएको छ ।
यस्तै, केही कर्जामा जोखिम भार गणना गर्दा समेत राष्ट्र बैंकले तोकेको नियामकीय मापदण्ड अनुसार नगरेको पाइएपछि बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको केन्द्रीय बैंकले जनाएको छ ।
‘प्राइम कमर्सियल बैंकले एकीकृत निर्देशन २०८१ को इ.प्रा. निर्देशन नं. २/०८१ को बुँदा नं. १ (ख) बमोजिम केही कर्जाहरूलाई कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको पाइयो,’ राष्ट्र बैंकले कारबाही विवरणमा भनेको छ, ‘सोही निर्देशनको बुँदा नं. ९ को उपबुँदा नं. (१) बमोजिम केही कर्जाहरूलाई कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, केही कर्जाहरूको जोखिम भार गणना नगरेको, क्यापिटल एडिक्वेसी फ्रेमवर्क २०१५ अनुसार गणना गरेको देखिएन।’
सोही कारण बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको केन्द्रीय बैंकले जनाएको छ ।
यस्तै, कुमारी बैंकलाई पनि कालोसूचीमा रहेका खाताबाट बैंकिङ कारोबार गर्न दिएको भन्दै सचेत गराइएको छ ।
‘कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्ने बाहेक अन्य कुनै पनि किसिमको बैंकिङ कारोबार गर्न पाउने छैन भन्ने व्यवस्था छ,’ केन्द्रीय बैंकले भनेको छ, ‘बैंकले उक्त व्यवस्था अनुपालन नगरेकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) (क) बमोजिम कुमारी बैंक लिमिटेडलाई सचेत गराइएको छ।’







प्रतिक्रिया