
काठमाडौं । तपाईंको बैंक खाता खतरामा पर्न सक्छ । किनकी यतिबेला नयाँ किसिमको बैंकिङ ठगी हुन थालेको छ ।
हो, पछिल्लो समय नेपालमा एक नयाँ र खतरनाक किसिमको अनलाइन ठगी (स्क्याम) तीव्र गतिमा फैलिरहेको छ।
पहिले म्यासेजबाट, फोनकलबाट ठगि हुन्थ्यो । सोझा मानिस सजिलै ठगिन्थे अहिले त्यो भन्दा पनि खतरनाक उपाय लगाइ सजिलै मानिसको खाताबाट पैसा चोरी हुन थालेको छ ।
अहिले ठगहरुले उपहार अथवा चिठ्ठाको लोभ देखाएर ठग्दैनन् । सिधै भिडियो कल मार्फत ठग्छन् ।
स्क्यामरहरुले फोन गरेकै भरमा खाताबाट पैसा कसरी चोरी हुन्छ त ?
स्क्यामर अर्थात् ठगहरुको ठगी गर्ने प्रक्रिया धेरै लामो छ । उनीहरुले तपाईंको बिना उपस्थितीमा एकैचोटीमा खाताबाट पैसा झिक्दैनन् । तपाईंको अगाडि नै खाताबाट पैसा रित्तिन्छ तर तपाईंलाई थाहै हुँदैन ।
ठगहरूले सुरुमा कुनै अपरिचित नम्बरबाट तपाईंलाई फोन गर्छन् । उनीहरुले आफूलाई नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाको कर्मचारी भएको बताउँछन् । नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक जस्ता विभिन्न बैंक जसमा तपाईंको खाता छ, सो बैंकको कर्मचारी भएको बताउँदै ग्राहकलाई फोन गर्छन् ।
उनीहरुले तपाईंको व्यक्तिगत विवरण अर्थात् नाम, नम्बर पहिले नै लिइसकेका हुन्छन् । बैंकबाट फोन आएको भनेपछि ग्राहक पनि साँच्चै बैंकबाटै फोन आएको हो भनेर सजिलै पत्याउँछन् ।
फोन गर्ने व्यक्तिले आफूलाई तपाईंको बैंकको कुनै विभागको कर्मचारी बताउँछन् । त्यसपछि उनीहरूले तपाईंको मोबाइल बैंकिङ एपमा केही समस्या आएको, मोबाइल बैंकिङको म्याद सकिएको, खाता ब्लक हुन लागेको लगायतका समस्या देखाउँछन् । आफ्नो खाता नै ब्लक हुन लागेको सम्म समस्या बताएपछि ग्राहक पनि डराउँछन् । त्यसपछि स्क्यामरले अर्को स्टेप चाल्छन् । उनीहरूले तपाईंको खाता तुरुन्तै रिन्यु वा अपडेट गर्नुपर्छ, नत्र खाता चल्दैन भन्छन् र आफू बनाइदिने भन्दै भिडियो कलमा आउन अनुरोध गर्छन् ।
त्यसपछि सुरु हुन्छ उनीहरूको अन्तिम स्टेप । ग्राहक भिडियो कलमा आएपछि उनीहरूले प्रक्रिया पूरा गर्नका लागि कुनै एप इन्स्टल गर्न लगाउँछन् । र, भिडियो कल मार्फत नै मोबाइलको स्क्रिन सेयर गर्न लगाउँछन् । जब तपाईं आफ्नो मोबाइलको स्क्रिन सेयर गर्नुहुन्छ, तपाईंले आफ्नो मोबाइलमा गर्ने हरेक गतिविधि स्क्यामरहरुले देख्छन् । स्क्रिन सेयर गरेपछिर स्क्यामरले तपाईंले मोबाइल बैंकिङ एप खोलेको,पासवर्ड टाइप गरेको, मोबाइलमा आएको ओटिपीहरु प्राप्त भएको देखिरहेका हुन्छन् । त्यो सबै जानकारी उसले लिन्छ र तपाईंको खातामा भएको रकम अर्को खातामा सारिदिन्छ । यसरी सजिलै स्क्यामरहरुले तपाईंको खाताको रकम निकाल्न सक्छन् ।
त्यसकारण कुनै अपरिचित नम्बरबाट फोन गरेको व्यक्तिले ‘म बैंकको कमचारी हो’ भन्दै फोन गरे सजिलै विश्वास नगर्नुहोस् । वास्तविक बैंकबाट फोन आउँदा भिडियो कल गर्न लगाइँदैन ।
कुनै पनि आधिकारिक बैंक तथा वित्तीय संस्थाले तपाईंलाई फोन गरेर तपाईंको पासवर्ड, पिन वा ओटीपी माग्दैन । यदि तपाईंको खातामा केही समस्या देखिए तुरुन्तै नजिकैको बैंकको शाखा कार्यालयमा बोलाइन्छ र समस्या समाधान गरिन्छ ।
त्यसैले बैंकको कर्मचारी हुँ भन्दै अपरिचित नम्बरबाट फोन आएमा तुरुन्तै शंका गर्नुहोस् । बैंकको कर्मचारी हुँ भन्दै फोन गरेको भरमा आफ्नो मोबाइल बैंकिङको पिन, पासवर्ड वा खाता सम्बन्धी अन्य गोप्य जानकारी नदिनुहोस् ।
यदि कसैले बैंकबाट हुँ भन्दै फोन गरेर भिडियो कलको लागि अथवा पनि पासवर्डको लागि अनुरोध गरे तुरुन्तै बैंकको आधिकारिक नम्बरमा फोन गर्नुहोस् । बैंकको आधिकारिक नम्बरहरु बैंककै वेबसाइट, आधिकारिक सामाजिक सञ्जाल, तपाईंको कार्ड वा मोबाइल बैंकिङमा पनि उपलब्ध हुन्छन् ।
मोबाइल बैंकिङबारे केही समस्या समाधान गर्नु परे आफैं बैंकको शाखामा गएर अथवा बैंकको आधिकारिक इमेलमा मेल गरेर पनि समाधान गर्न सकिन्छ ।







प्रतिक्रिया