विभिन्न मुलुकमा सत्तापरिवर्तन गराएको अमेरिकाले अब यस्तो काम नगर्ने तुलसी गाब्बार्डको भनाइ

147
Shares

एजेन्सी । अमेरिकाको राष्ट्रिय गुप्तचरी निकायकी निर्देशक तुलसी गाब्बार्डले राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकालमा अन्य मुलुकमा सत्तापरिवर्तन वा राष्ट्रनिर्माणको पहल अन्त्य भएको बताएकी छन् ।

बहराइनमा इन्टरनेशनल इन्स्टिच्युट फर सिक्योरिटी स्टडीजले आयोजना गरेको मनामा डायलोगमा उनले यस्तो टिप्पणी गरेकी हुन् । ट्रम्पले केही महिनाअघि पश्चिम एसिया भ्रमणमा यस्तै भनाइ राखेका थिए ।

‘दशकौंदेखि हाम्रो विदेशनीतिसत्तापरिवर्तन वा राष्ट्रनिर्माणको प्रत्युत्पादक तथा अनन्त चक्रमा फसिरहेको थियो,’ गाब्बार्डले बताइन्, ‘सबैतिर एउटै किसिमको दृष्टिकोण अपनाएर सत्तापरिवर्तन गराउने, अरूमाथि अमेरिकाको शासनप्रणाली थोपर्ने, आफूले नबुझेको द्वन्द्वमा हस्तक्षेप गर्ने र साझेदारभन्दा बढी शत्रु बनाउने काम भयो ।’

एसोसिएटेड प्रेसका अनुसार, गाब्बार्डले विगतको नीतिका कारण अर्बौं डलर खर्च भएको, असंख्य जीवन नष्ट भएको र अमेरिकाका लाग थप सुरक्षा जोखिम उत्पन्न भएको बताइन् ।

सन् २००१ मा सेप्टेम्बर ११ पछि भएका युद्धका विषयमा ट्रम्पको धारणालाई गाब्बार्डले दोहोर्याएकी हुन् । पहिलो कार्यकालमा ट्रम्पले अफगानिस्तानबाट अमेरिकी सैनिकहरूलाई फिर्ता बोलाउने सहमति गरेका थिए । त्यसलाई कार्यान्वयन गर्दै सन् २०२१ मा बाइडन प्रशासनले अव्यवस्थित तरिकाले सैनिक फिर्ता गराएका थिए ।

तर, गाब्बार्डले दक्षिण अमेरिकामा युद्धपोतहरू पठाउनका लागि ट्रम्पले निर्देशन दिएको कुरा उठाइनन् । ट्रम्पको निर्देशनमा लागूऔषध तस्कर सवार भनिएका डुंगामा अमेरिकी सेनाले आक्रमण गरेको छ र सीआईएलाई भेनेजुएलामा गोप्य कारवाही गर्नका लागि पनि ट्रम्पले निर्देशन दिएका छन् । उनले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई सत्ताच्युत गर्न खोजेको बुझिन्छ जुन विगतको जस्तै सत्तापरिवर्तनको प्रयास हो ।

मध्यपूर्वमा चुनौतीहरू अझै विद्यमान रहेको गाब्बार्डले बताइन् । गाजामा भएको युद्धविराम नाजुक रहेको र इरानको विषय अझै संवेदनशील रहेको उनको भनाइ छ । अबको बाटो सहज नभए पनि राष्ट्रपति ट्रम्प शान्तिबहालीका लागि प्रतिबद्ध रहेको गाब्बार्डले बताइन् ।

नेपालमा जेनजी आन्दोलनको बलमा केपी ओलीलाई सत्ताच्युत गराउनुमा अमेरिकाको हात रहेको आरोप लाग्ने गरेको छ । ब्रायन बर्लेटिक, किट क्लारेनबर्ग, अभिनन्दन मिश्रा लगायतका पत्रकार र विश्लेषकहरूले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रमाणहरू प्रस्तुत गर्दै नेपालको सत्तापरिवर्तनमा अमेरिकाको हात रहेको दाबी गरेका छन् । तर, गाब्बार्डको ताजा भनाइ सुन्दा ट्रम्प प्रशासन यसमा संलगन छैन ।