
एजेन्सी । अमेरिकाको ट्रम्प प्रशासनले भेनेजुएलामा सम्भावित सैन्य प्रहारका लागि केही लक्ष्यहरू पहिचान गरिसकेको द वाल स्ट्रिट जर्नलले जनाएको छ ।
अमेरिकाले कुनै पनि प्रमाण नदिइकनै लागूऔषध तस्करीका लागि सैन्य संरचनाहरूको उपयोग गरिएको भन्दै तीमाथि आक्रमण गर्ने योजना बनाएको हो ।
अमेरिकाको निशानामा भेनेजुएलाका सैनिक–नियन्त्रित बन्दरगाहहरू, हवाईपट्टीहरू र जलसेना सम्बन्धी संरचनाहरू पनि छन् ।
तर, भूमि वा हवाई आक्रमणबारे अन्तिम निर्णय भइसकेको छैन ।
ह्वाइट हाउसले राष्ट्रपति निकोलास मदुरोलाई लागूऔषध साम्राज्यका प्रमुखका रूपमा चित्रित गर्न खोजिरहेको छ । यस दाबीलाई मदुरोले पूर्ण रूपमा अस्वीकार गरेका छन् ।
भेनेजुएलामाथि दबाब दिनका लागि अमेरिकाले क्यारिबियाली क्षेत्रमा अभूतपूर्व रूपमा सैन्यशक्ति तैनाथ गरेको छ ।
अत्याधुनिक युद्धपोत, विशेष बल र भेनेजुएलाको रक्षा प्रणालीलाई परीक्षण गर्ने बमवर्षक उडानहरू अमेरिकाले तैनाथ गरेको छ ।
यूएसएस जेराल्ड आर फोर्ड क्यारियर स्ट्राइक समूह पनि पेन्टागनको पठाएको छ । त्यसमा एफ/ए–१८ लडाकु विमान, इलेक्ट्रोनिक जामरहरू र लामो दूरीका टमाहक क्षेप्यास्त्रहरू समावेश छन् ।
भेनेजुएलासँग मुख्य हवाई–रक्षा स्थानहरूमा तैनाथ गरिएका ५ हजारवटा रुसमा निर्मित हातमा बोक्ने जमिनदेखि आकाशमा प्रहार गर्न मिल्ने क्षेप्यास्त्रहरू पनि रहेको भनी मदुरोले चेतावनी दिएका छन् ।








प्रतिक्रिया