६ वर्षपछि ट्रम्प र सीबीच १०० मिनेट वार्ता: ‘महान देशका महान नेता’ भन्दै प्रशंसा

217
Shares

एजेन्सी । विश्वका दुई ठूला अर्थतन्त्र र प्रतिद्वन्द्वी महाशक्ति देशका नेताहरू चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच दक्षिण कोरियाको बुसानमा भएको ऐतिहासिक भेटले अस्थिर बनेको द्विपक्षीय सम्बन्ध नयाँ दिशामा जाने संकेत देखाएको छ ।

छ वर्षपछि पहिलोपटक आमने-सामने भेटेका यी दुई नेताले बुसानस्थित गिमहे हवाई अड्डामा आयोजित वार्ताको सुरुवातमै आपसी सद्भावका कुरा गरेको समाचार संस्था सीएनएनले जनाएको छ ।

ट्रम्पले सीलाई ‘महान देशका महान नेता’ भन्दै प्रशंसा गरे भने सीले पनि ‘धेरै वर्षपछि फेरि भेट्दा खुसी लागेको’ बताए ।

सीले भने, ‘चीन र अमेरिकाबीच सधैं सबै कुरा मिल्छ भन्ने हुँदैन, तर विश्वका दुई प्रमुख अर्थतन्त्रबीच कहिलेकाहीं मतभेद हुनु स्वाभाविक हो। तर तपाईं र म मिलेर सही दिशा समातेका छौं भने दुवै देश समृद्ध हुन सक्छौं।’

तर, सौहार्दपूर्ण अभिवादनका बीच ट्रम्पले बुसान पुग्नु अघि नै तीन दशकदेखि चलिरहेको अमेरिकाको आणविक परीक्षण रोकथाम नीति अन्त्य गर्ने घोषणा गरेर वार्ताको महत्व उच्च बनाएका थिए।

‘अमेरिकासँग संसारकै सबैभन्दा धेरै परमाणु हतियार छन् । रूस दोस्रो र चीन धेरै पछि तेस्रो स्थानमा छ, तर पाँच वर्षभित्र हामी बराबरीमा पुग्नेछौं,’ ट्रम्पले भनेका थिए, ‘अन्य देशहरूको परीक्षण कार्यक्रमका कारण म रक्षा विभागलाई समान आधारमा हाम्रो परमाणु हतियार परीक्षण पुनः सुरु गर्न निर्देशन दिएको छु । यो प्रक्रिया तुरुन्त सुरु हुनेछ।’

करीब एक घण्टा ४० मिनेट(१ सय मिनेट) लामो वार्ता पछि दुवै नेता पुनः पत्रकार सामु देखा परे र अन्त्यमा हात मिलाए । ट्रम्प त्यसपछि मिडियासँग नबोली एयर फोर्स वन चढेर एशिया भ्रमण सकाएर फर्किए।

व्यापार र तनावको पृष्ठभूमि

विश्व बजारले बुसानको यो भेटलाई अत्यन्तै चासोका साथ हेरेको छ। पछिल्ला महिनाहरूमा अमेरिका र चीनबीच बढ्दै गएको शुल्क युद्ध, निर्यात नियन्त्रण र प्रविधि सम्बन्धी प्रतिबन्धले विश्व अर्थतन्त्रमा अस्थिरता ल्याएको छ।

दुवै देशबीचको प्रमुख विवाद व्यापार असन्तुलन र अमेरिकाको राष्ट्रिय सुरक्षासँग सम्बन्धित प्रविधि नियन्त्रण हो, जसअन्तर्गत अमेरिकाले चीनलाई अत्याधुनिक सेमीकन्डक्टर र कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा पहुँच रोक्ने प्रयास गरिरहेको छ ।

वार्तामा शुल्क, दुर्लभ धातुहरूको निर्यात नियन्त्रण, अमेरिकी प्रविधिमा पहुँच, फेन्टानिलको अवैध व्यापार, अमेरिकी सोयाबिन खरिद, टिकटोकको भविष्य, युक्रेन युद्ध र ताइवान लगायतका विषय उठाइएको बताइन्छ ।

गत साता मलेसियाको कुआलालम्पुरमा सम्पन्न व्यापार वार्तापछि दुवै पक्षले ट्रम्प–सी भेटपछि सम्बन्धको नयाँ रुपरेखा तयार हुने आशा व्यक्त गरेका थिए ।

तर विश्लेषकहरूका अनुसार, बुसान वार्ता एक महत्त्वपूर्ण कदम भए पनि अमेरिकी लोकतान्त्रिक शासन र चीनको अधिनायकवादी प्रणालीबीचको दीर्घकालीन रणनीतिक प्रतिस्पर्धा अझै पनि चुनौतीपूर्ण रहनेछ ।

भेट तयारीका जटिलता

वार्ताको सफल तयारीका लागि पछिल्ला दिनहरूमा दुई पक्षबीच ठूला उतारचढाव आएका थिए ।

अमेरिकाले गत महिनाको अन्त्यतिर चिनियाँ कम्पनीहरूको प्रविधि पहुँचमा नयाँ प्रतिबन्ध लगाएको थियो, जसपछि बीजिङले आपत्ति जनाएको थियो। त्यसपछि चीनले पनि दुर्लभ धातुहरूको निर्यातमा नियन्त्रण विस्तार गरेको थियो, जसले वाशिङटनलाई झस्काएको थियो।

ट्रम्पले त्यसबेलै चेतावनी दिएका थिए, ‘चीनले पछाडि नहट्ने हो भने नोभेम्बर १ देखि थप १०० प्रतिशत शुल्क लगाइनेछ।’

यसैबीच, बुसान बैठक दुवै देशका अधिकारीहरूले सूक्ष्मरूपमा तयार पारेको थियो। सुरुमा ट्रम्पको प्रस्थान एक दिन अघि तय गरिएको थियो, तर अन्ततः कार्यक्रम परिमार्जन गरी गिमहे हवाई अड्डामै सीको आगमनसँगै वार्ता गर्ने निर्णय गरिएको थियो ।

वार्ता सकिएपछिको आधिकारिक विवरण अझै प्रकाशित नभए पनि दुवै पक्षले आपसी विश्वास पुनःस्थापनाको संकेत दिएका छन्।

यदि यस भेटबाट ठोस सहमति बनेमा, यो चीनका लागि पूर्वानुमानयोग्य सम्बन्ध स्थायित्वको आशा र अमेरिकाका लागि एशियाली भ्रमणको कूटनीतिक सफलता बन्नेछ।