आर्थिक वर्ष सक्नै लाग्दा सरकारले संकलन गर्यो ११ खर्ब १२ अर्ब राजश्व, पूँजीगत खर्च करिब ३५ प्रतिशत मात्रै


काठमाडौं । चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५.१७ प्रगति हासिल गरेको छ ।

सरकारको दैनिक बजेटरी हिसाब किताब राख्ने महालेखा नियन्त्रक कार्यालयकाअनुसार शुक्रबारसम्म ११ खर्ब १२ अर्ब ४८ करोड ४६ लाख राजस्व सङ्कलन भएको छ ।

सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । बाँकी दिनमा तीन खर्ब ६७ अर्ब ५१ करोड राजश्व सङ्कलन गर्नुपर्नेछ । त्यसका लागि दैनिक करिब १९ अर्ब ३४ करोड बराबर सङ्कलन गर्नुपर्ने हुन्छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार, कर राजस्व सङ्कलनतर्फ लक्ष्यको ७६.२० प्रतिशत प्रगति भएको छ । कर राजस्वतर्फ १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख सङ्कलन गर्ने लक्ष्य रहेकामा हालसम्म १० खर्ब १० अर्ब १६ करोड तीन लाख सङ्कलन भएको छ ।

त्यस्तै गैरकर राजस्वतर्फ एक खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख सङ्कलन गर्ने लक्ष्य रहेकामा हालसम्म एक खर्ब दुई अर्ब ३२ करोड ४३ लाख प्राप्त भएको छ ।

यस्तै, अनुदानतर्फ ५३ अर्ब ४४ करोड ६९ लाख प्राप्त गर्ने लक्ष्य रहेकामा हालसम्म २४ अर्ब ११ करोड १२ लाख मात्रै प्राप्त भएको छ । जुन लक्ष्यको ४५ दशमलव ११ प्रतिशत बराबर हो ।

यस अवधिमा अन्य प्राप्ति शीर्षकमा छ अर्ब ५० करोड ५३ लाख सङ्कलन भएको छ । यससँगै सरकारको कुल प्राप्ति ११ खर्ब ४३ अर्ब १० करोड ११ लाख पुगेको छ । जुन वार्षिक लक्ष्यको ७४.५४ प्रतिशत हो ।

यस्तै, कूल सरकारी खर्चतर्फ १४ खर्ब चार अर्ब ९८ करोड ८६ लाख बराबर पुगेको छ । यो कूल लक्ष्यको ७१.५३ प्रतिशत हो । शुक्रबार मात्रै पाँच अर्ब ३६ करोड ८२ लाख खर्च भएको छ ।

खर्चको प्रकृतिअनुसार चालु तर्फ ८०.४२ प्रतिशत रहेको छ । कूल ११ खर्ब ८० अर्ब ९८ करोडको लक्ष्यमध्ये ९ खर्ब ४९ अर्ब ७५ करोड ९५ लाख खर्च भइसकेको छ ।

विकास निर्माणको काममा खर्च हुने पूँजीगततर्फ एक खर्ब ४२ अर्ब २३ करोड ६८ लाख पुगेको छ । जुन लक्ष्यको ३४.८७ प्रतिशत हो । चालु आवका लागि ४ खर्ब सात अर्ब ८८ करोड ८० लाख पूँजीगत खर्च गर्ने लक्ष्य तय गरिएको थियो ।

त्यसैगरी वित्तीय व्यवस्थापनतर्फको खर्च ८३.४१ प्रतिशत पुगेको छ ।

वित्तीय व्यवस्था विभिन्न ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि खर्च गरिन्छ । वित्तीय व्यवस्थातर्फ कूल तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख लक्ष्य मध्ये तीन खर्ब १२ अर्ब ९९ करोड २३ लाख खर्च भएको महालेखा नियन्त्रक कार्यालयको विवरणमा उल्लेख छ ।