नेपाल–अमेरिका व्यावसायिक सम्बन्ध विस्तार गर्न ‘लिडरसिप डायलग’ सम्पन्न


काठमाडौं । नेपाल र अमेरिकाबीचको व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यका साथ अमेरिकी चेम्बर अफ कमर्स इन नेपाल (एम्चाम नेपाल) र अमेरिकास्थित क्रस रिभर बैंकको साझेदारीमा ‘लिडरसिप डायलग’ सम्पन्न भएको छ ।

बिहीबार काठमाडौंमा आयोजित ‘नेपाल, ग्लोबल क्यापिटल एन्ड द फ्युचर अफ फाइनान्सियल इनोभेसन’ शीर्षकको यस विशेष संवादमा नेपालको बैंकिङ, वित्त, लगानी, फिन्टेक, बिमा र निजी इक्विटी क्षेत्रका प्रमुख व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमले नेपाललाई उदीयमान लगानी गन्तव्यको रूपमा प्रस्तुत गर्दै दुई देशबीचको आर्थिक सहयोग विस्तारमा जोड दिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै एम्चाम नेपालका उपाध्यक्ष आकाश गोल्छाले नेपाललाई अवसरको देशका रूपमा स्थापित गर्ने र नयाँ अमेरिकी लगानीका लागि मार्गप्रशस्त गर्ने संस्थाको लक्ष्य रहेको बताए ।

उनले भने, ‘हामी निरन्तर वकालत र रचनात्मक नीतिगत संवादमार्फत नेपालको लगानीमैत्री वातावरण सुधार गर्न र दुई देशबीचको व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाउन प्रतिबद्ध छौँ ।’

क्रस रिभर बैंकका कार्यकारी उपाध्यक्ष प्रवेश रिजालले यस भ्रमणलाई नेपालसँगको दीर्घकालीन संलग्नताको सुरुवातको रूपमा व्याख्या गरे ।

त्यस्तै, बैंकका को–हेड अफ इन्भेस्टमेन्ट्स हेनरी पेननेलले नेपालको वित्तीय नेतृत्व र अन्तर्राष्ट्रिय सहकार्यको सोचको प्रशंसा गरे ।

काठमाडौंस्थित अमेरिकी दूतावासकी आर्थिक प्रमुख क्याथरिन लेहीले नेपाल–अमेरिका व्यावसायिक संलग्नता विस्तारको महत्त्वमा जोड दिइन् ।

एम्चाम नेपालका कार्यकारी निर्देशक अमिर थापाले सहजीकरण गरेको उक्त कार्यक्रममा नेपाली डायस्पोरा ९प्रवासी नेपाली० र ‘डायस्पोरा लगानी पोर्टल’ जस्ता पहलहरूका बारेमा पनि छलफल भएको थियो ।

संवादको समापन गर्दै एम्चाम नेपालले संवादलाई साझेदारीमा, साझेदारीलाई लगानीमा र लगानीलाई नेपाल र अमेरिकाको साझा समृद्धिको रूपमा रूपान्तरण गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ ।

एम्चाम नेपालले नेपाल र अमेरिकाबीच व्यापार, लगानी र व्यावसायिक कूटनीति प्रवर्द्धन गर्ने काम गर्दछ । यता क्रस रिभर बैंक न्युजर्सीको फोर्ट लीमा मुख्यालय रहेको प्रविधिमा आधारित अग्रणी वित्तीय संस्था हो, जसले विश्वका ठूला फिन्टेक कम्पनीहरूलाई बैंकिङ पूर्वाधार उपलब्ध गराउँदै आएको छ ।