
तुलसीपुर । घोराही-तुलसीपुर सडक चारलेन बनाउन जिल्लास्थित वन डिभिजन कार्यालयले रुख कटानको आदेश दिएपछि रुख हटाउन थालिएको छ ।
वन कार्यालयका सूचना अधिकारी भक्तबहादुर चौधरीका अनुसार घोराहीबाट तुलसीपुरसम्म ५९ वटा रुख काट्नु पर्नेछ ।
सोहीअनुसार अहिले रुख काट्ने कार्य भइरहेको छ । घोराही-तुलसीपुर खण्डमा २० वटाभन्दा बढी पिपलका रुख काट्नुपर्ने अवस्था रहेको उनले बताए ।
विद्युत्का खम्बा हटाउने र रुख काट्ने काम सकिएपछि चारलेनको सडक निर्माणले गति लिने निर्माण कम्पनी श्री दिवाबन्दना भगवती जेभिका इञ्जिनियर सुनिल ढुङ्गानाले बताए ।
उनका अनुसार केही स्थानमा विद्युत्का खम्बा पनि हटाइ सकिएको छ । अब घोराहीको सर्रा क्षेत्र र तुलसीपुर क्षेत्रमा विद्युत्का खम्बा हटाउन बाँकी रहेको उनले जानकारी दिए ।
विद्युत्का खम्बाका कारण काम रोकिनुपर्ने अवस्था नभएको इञ्जिनियर ढुङ्गानाले बताए ।
अहिलेसम्म चारेलनको १५ प्रतिशत काम पूरा भइसकेको जनाउँदै उनले अहिले वाल, कल्भर्ट र नाली निर्माणले गति लिएको उल्लेख गरे । उनका अनुसार घोराहीको डिके पेट्रोलपम्पबाट तुलसीपुरको हातीखौवासम्म चारलेन सडक बन्नेछ ।
सोही स्थानमा सडकको क्षेत्र छुट्याउने काम भइसकेको जनाउँदै इञ्जिनियर ढुङ्गानाले उक्त सडक २१.५८ किमी कालोपत्र तथा चौडाइ चारलेनको हुने उल्लेख गरे ।
बीचबीचमा मेडिएन र दुवैतर्फ दुईरदुई लेन हुने उनले बजार क्षेत्रमा फुटपाथसहितको चारलेन र अन्य स्थानमा चारलेन मात्रै सडक हुने जानकारी दिए ।
‘स्तरोन्नतिका क्रममा सडकको पूरै कालोपत्रको माथिल्लो भाग हटाइनेछ । दुवैतर्फ कटिङ भएको क्षेत्रमा आवश्यक मोटाइमा फिलिङ गरेपछि मात्रै कालोपत्रको काम सुरु हुनेछ’, इञ्जिनियर ढुङ्गानाले भने ।
सडक सुधार आयोजनाअन्तर्गत मदन भण्डारी सडक मार्ग परियोजनामार्फत ठेक्का सम्झौता भएको थियो ।
निर्माण अनुगमनको जिम्मा सडक डिभिजन कार्यालय दाङले पाएको छ । सोही सडकको चौडाइ ३० मिटर हुनेछ । सडक ‘अस्फाल्ड’ प्रविधिबाट कालोपत्र हुने इञ्जिनियर ढुङ्गानाले जानकारी दिए ।
‘यसमा ढुङ्गा, गिट्टी र बिटुमिन तार मिसाएर कालोपत्र गरिने भएको यो सडक थप मजबुत बन्नेछ’, उनले भने ।
सम्झौता भएको मितिले ३६ महिनामा काम सम्पन्न गर्ने गरी सम्झौता भएको सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रबहादुर विष्टले बताए ।
उनका अनुसार गत २४ असारमा भ्याटबाहेक दुई अर्ब २४ करोड ५६ लाखमा सम्झौता भई काम सुरु भएको हो ।
सोही सडक चारलेन बनाउन यसअघि भएको सम्झौता निर्माण कम्पनीले काम नगरेपछि रद्द गरिएको थियो । ठेक्का रद्द भएपछि २०८१ साउनदेखि नयाँ प्रक्रिया सुरु गरिएको थियो ।
तत्कालीन अवस्थामा अर्थ मन्त्रालयको स्रोत सहमति तथा राष्ट्रिय योजना आयोगको निर्णयानुसार तीन करोड ९९ लाख ४९ हजारको बहुवर्षीय ठेक्कामार्फत काम गर्ने सहमति भएको थियो ।
सोहीअनुसार मदन भण्डारी राजमार्ग निर्देशनालयबाट लागत अनुमानका काम भएर बोलपत्र आह्वान भएको थियो । उक्त सडकबीचमा पर्ने सेवार खोला, हापुर खोला, ग्वारखोला र कालाखोलामा चारलेनको पुल निर्माणका लागि प्रक्रिया अघि बढिसकेको सडक डिभिजन कार्यालयले जनाएको छ ।






प्रतिक्रिया