
तनहुँ । तनहुँको व्यास नगरपालिका–२ की कल्पना गौली अचेल ‘ड्रागन क्विन’ का रूपमा चिनिन्छिन्।
व्यास–५ ढोडेनीमा भाडाको जग्गामा गरेको ड्रागन फ्रुट खेतीमा सफलता मिलेपछि उनले यो पहिचान बनाएकी हुन्।
९ रोपनी जग्गामा गरिएको व्यावसायिक खेतीबाट वार्षिक १६ लाख रुपैयाँ आम्दानी भएपछि उनलाई धेरैले ‘ड्रागन क्विन’ भन्न थालेका छन्। उनले वार्षिक २० हजार रुपैयाँ भाडा तिर्ने गरी २० वर्षका लागि जग्गा लिएर २०७९ देखि यो खेती सुरु गरेकी थिइन्।
भारतको हैदरावादबाट ल्याइएका २१०० वटा ‘थाई रेड’ प्रजातिका बिरुवाबाट सुरु भएको उनको ‘माँ अम्बे अलौकिक कृषि फार्म’ मा अहिले ५०० वटा पोल छन्। यस व्यवसायमा उनले हालसम्म एक करोड ५५ लाख रुपैयाँ लगानी गरिसकेकी छन्।
फार्मबाट अहिले वार्षिक २० लाख रुपैयाँ बराबरको कारोबार भइरहेको छ। यस वर्ष फल बिक्रीबाट १६ लाख तथा बिरुवा र अन्य उत्पादनबाट चार लाख रुपैयाँ आम्दानी भएको उनले बताइन्।
ड्रागन फ्रुट प्रतिकिलो ५०० देखि ६०० रुपैयाँ र बिरुवा प्रतिगोटा १०० देखि ३०० रुपैयाँमा बिक्री हुने गरेको छ।
उनको फार्ममा ड्रागन फ्रुट मात्र होइन, कुरिलो, तरुल, पिँडालु, अदुवा, फर्सी र सिस्नोजस्ता रैथाने बाली पनि उत्पादन हुन्छन्। उनले पिँडालुबाट मस्यौरा बनाएर थप आम्दानीसमेत लिने गरेकी छन्।
गौलीको विगत भने फरक छ। उनले २०४५ देखि २०६१ सम्म १६ वर्ष अङ्ग्रेजी विषय पढाइन्। शिक्षण पेसा छाडेपछि करिब १५ वर्ष बुटिक व्यवसाय चलाएकी उनी अन्ततः कृषिमा लागेकी हुन्।
नेपाल घरेलु तथा साना उद्योग महासंघकी अध्यक्षसमेत रहेकी गौली धैर्य र समर्पण भए नेपालमै आत्मनिर्भर बन्न सकिने बताउँछिन्। उनले आफ्नो आम्दानीको २० प्रतिशत हिस्सा ग्रामीण क्षेत्रका विपन्न बालबालिकालाई न्यानो कपडा बाँड्न खर्च गर्ने गरेकी छन्।
‘भोकालाई भोजन र जाडोमा रहेकालाई वस्त्र दिनु नै सबैभन्दा ठूलो सेवा हो,’ उनले भनिन्।
कृषिमार्फत नारी उद्यमशीलताको उदाहरण देखाएको भन्दै गाउँ सेवा कोष तनहुँले उनलाई ‘भानु–घाँसी सम्मान–२०८२’ बाट सम्मानित गरिसकेको छ। उनलाई ११ हजार रुपैयाँ नगद र सम्मानपत्रसहित सम्मान गरिएको थियो।






प्रतिक्रिया