उद्योग मन्त्री यादबले सय दिन नपुग्दै प्रधानमन्त्रीलाई बुझाइन ३२ बुँदे प्रगति प्रतिवेदन


काठमाडौं । सरकार गठन भएको सय दिन नपुग्दै उद्योग मन्त्री गौरीकुमारी यादवले आफ्नो मन्त्रालयको ३२ बुंदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाहलाई बुझाएकी छन् ।

मन्त्रालयले तोकिएको लक्ष्य समय अगावै सम्पन्न गरेको दाबी गर्दै ३२ बुँदे उपलब्धि समेटिएको विवरण प्रधानमन्त्रीलाई बुझाइएको हो।

सरकारको ‘सय दिने शासकीय सुधार कार्ययोजना’ अन्तर्गत उद्योग मन्त्रालयको जिम्मेवारीमा रहेका कामहरू निर्धारित समयभन्दा एक साता अगाडि नै पूरा भएको मन्त्री यादवको सचिवालयले जनाएको छ।

मन्त्री यादवले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रगति विवरणको फाइल हस्तान्तरण गरेकी हुन्।

प्रतिवेदनमा विशेषगरी नीतिगत सुधार, औद्योगिक वातावरणको सुदृढीकरण र सेवा प्रवाहलाई छिटो(छरितो बनाइएका विषयहरूलाई प्राथमिकताका साथ समेटिएको छ।

यस्तै, लगानीमैत्री वातावरण निर्माण, प्रशासनिक चुस्तता र मन्त्रालयका प्राथमिकता प्राप्त कार्यक्रमहरूको कार्यान्वयनलाई मन्त्रालयले आफ्नो मुख्य उपलब्धिको रूपमा प्रस्तुत गरेको छ।

मन्त्री यादवका अनुसार सुशासनलाई संस्थागत गर्ने र सरकारप्रति जनविश्वास बढाउने उद्देश्यले मन्त्रालयले तीव्र गतिमा काम अघि बढाएको हो।

‘मन्त्रालयका कर्मचारी र सरोकारवाला निकायहरूको प्रभावकारी समन्वयका कारण नै हामीले समय अगावै नतिजामुखी काम गर्न सफल भएका हौं,’ मन्त्री यादवले बताइन्।

प्रधानमन्त्री बालेन शाहले सबै मन्त्रालयलाई जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाममुखी काम गर्न र सेवा प्रवाहमा ढिलासुस्ती नगर्न निरन्तर निर्देशन दिँदै आएका छन्।

सोही निर्देशन र मन्त्रालयको तदारुकताका कारण उद्योग मन्त्रालयले आफ्नो कार्ययोजना सफलतापूर्वक सम्पन्न गरी प्रतिवेदन पेस गरेको हो।