
एजेन्सी । भारतको बिहार विधानसभा निर्वाचनको अभियान आरम्भ गर्दै कांग्रेस नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि आक्रमण गरेका छन् ।
मोदीले भोट पाउनका लागि जे पनि गर्ने राहुलको भनाइ छ ।
‘तपाईंले नरेन्द्र मोदीलाई भोटका लागि नाच्नुस् भन्नुभयो भने उनी मञ्चमा चढे छमछमी नाचिदिन्छन्,’ राहुलले मुजफ्फरपुरमा भने ।
त्यहाँ उनले आरजेडीका नेता तथा महागठबन्धनका मुख्यमन्त्री उम्मेदवार तेजस्वी यादवसँग मिलेर संयुक्त आमसभालाई सम्बोधन गरेका हुन् ।
बिहारमा अर्को बिहीवार विधानसभा निर्वाचनको पहिलो चरणको मतदान हुँदैछ ।
हालै सम्पन्न छठ पर्वमा सामान्य मानिसले फोहरी यमुनामा नुहाउनुपरेको अनि मोदीका लागि विशेष रूपमा पोखरी बनाइएको कुरा पनि राहुलले उठाए ।
‘नरेन्द्र मोदी आफ्नो स्विमिङ पुलमा नुहाउन गए । उनलाई यमुनासँग कुनै मतलब छैन , उनलाई छठ पूजासँग कुनै मतलब छैन । उनी तपाईंको भोट मात्र चाहन्छन्,’ राहुलले भने ।
बिहारका मुख्यमन्त्री नितिश कुमारले २० वर्ष शासन चलाउँदा पनि पिछडिएका वर्गका लागि कुनै काम नगरेको आरोप राहुलले लगाए । भाजपाले नितिशको छविलाई दुरुपयोग गरी बिहारमा कब्जा जमाउन खोजेको आरोप पनि उनले लगाए ।
‘नितिशजीको अनुहारलाई उपयोग गरिँदैछ । रिमोट कन्ट्रोल भाजपाको हातमा छ । अति पिछडिएका मानिसको आवाज सुनिन्छ भन्ने नठान्नुहोला । भाजपालाई सामाजिक न्यायसित केही मतलब छैन,’ उनले बताए ।
राहुलले भोट चोरीको आरोपलाई दोहोर्याउँदै बिहारमा पनि त्यही गर्न खोजिएको बताए ।
‘उनीहरू तपाईंको भोट चोर्न खोज्दैछन् । उनीहरूले महाराष्ट्र र हरियाणामा भोट चोरे अब बिहारमा पनि त्यसको कोसिस गर्दैछन्,’ राहुलले बताए ।
भाजपा सरकारले अमौद्रीकरण र जीएसटीमार्फत साना व्यापारलाई ध्वस्त बनाएको आरोप पनि राहुलले लगाए ।
‘तपाईंको फोनको पछाडिपट्टि के लेखिएको छ भन्नुस् त ? मेड इन चाइना लेखिएको छ । हामी भन्छौं यो मेड इन बिहार हुनुपर्छ, मेड इन चाइना हैन । मोबाइल, शर्ट, प्यान्ट सबै बिहारमा बन्नुपर्छ । त्यसो हुँदा युवाले रोजगारी पाउँछन्,’ उनले बताए ।
२४३ सदस्यीय बिहार विधानसभा निर्वाचनमा नोभेम्बर ६ र ११ मा मतदान हुँदैछ । मतगणना नोभेम्बर १४ मा हुनेछ ।








प्रतिक्रिया