
एजेन्सी । जापानकी नयाँ प्रधानमन्त्री सानाए ताकाइचीले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग टोकियोमा भएको भेटवार्ताको आरम्भमै जापान–अमेरिका सम्बन्धलाई सुवर्ण युगमा पुर्याउने वाचा गरेकी छन् ।
एसियाको एक हप्ते भ्रमणको दोस्रो चरणमा जापान आइपुगेका ट्रम्प र ताकाइचीले दुर्लभ खनिज र अन्य महत्त्वपूर्ण खनिज पदार्थहरूको उत्खनन तथा प्रशोधनमा सहकार्य गर्ने रूपरेखा तय गर्ने सम्झौतामा हस्ताक्षर गरे ।
चीनले हालै यस्ता सामग्रीहरूको निर्यातमा कडाइ गरेपछि यो सम्झौता आएको हो । धेरै उद्योगका उत्पादनहरूका लागि आवश्यक मानिन्छ । ट्रम्प यसै हप्ता दक्षिण कोरियामा चीनका राष्ट्रपति सी चिनपिङसँग उच्चस्तरीय वार्ताका लागि भेट्दैछन् । व्यापारयुद्ध यस वार्ताको केन्द्रमा हुनेछ ।
ह्वाइट हाउसले दिएको जानकारी अनुसार, दुवै देशले आर्थिक नीति र संयुक्त लगानीमार्फत दुर्लभ र महत्त्वपूर्ण खनिज पदार्थहरूको विविधतापूर्ण, पारदर्शी र निष्पक्ष बजार विकास गर्न सहकार्य गर्ने योजना बनाएका छन् ।
दुवै देशलाई महत्त्वपूर्ण खनिज र दुर्लभ खनिज पदार्थहरूको आपूर्ति शृंखलामा लचिलोपन र सुरक्षाको स्तर हासिल गर्न सहयोग पुर्याउने सम्झौताको उद्देश्य भएको बताइएको छ ।
दुर्लभ खनिज पदार्थहरू रक्षा, मोटरगाडी र इलेक्ट्रोनिक्स उद्योगका लागि अत्यावश्यक सामग्री हुन् ।
जापान–अमेरिका गठबन्धनको नयाँ सुवर्णयुग ल्याउन चाहेको र दुवै देशलाई बलियो र समृद्ध बनाउने ताकाइचीले बताएकी थिइन् ।
दुवै नेताले वार्तापूर्व जापानी स्टार शोहे ओतानी समावेश भएको विश्व शृंखला बेसबल खेलको प्रत्यक्ष प्रसारण पनि सँगै हेरेका थिए ।
ताकाइचीले ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेको ह्वाइट हाउसले जनाएको छ । ट्रम्पले ह्वाइट हाउसमा दोस्रो कार्यकाल चलाउन थालेदेखि नोबेल शान्ति पाउने इच्छा बारम्बार व्यक्त गरेका छन् । आफूले धेरैथरी द्वन्द्व अन्त्य गरेको ट्रम्पले दाबी गरेका छन् यद्यपि विज्ञहरूले शान्तिबहालीमा उनको भूमिकालाई सीमित मानेका छन् ।
जापानको पहिलो महिला प्रधानमन्त्री बनेकी ताकाइचीले थाइल्यान्ड–कम्बोडियाबीचको संघर्षविराममा ट्रम्पको भूमिकाको प्रशंसा गरिन् । यी दुई देशबीच लामो समयदेखि सीमासम्बन्धी विवाद थियो ।
दुवै नेताले जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको प्रसंग पनि उठाए । ट्रम्पले पहिलो कार्यकालमा आबेसँग निकै आत्मीय सम्बन्ध कायम गरेका थिए ।
आबेकी राजनीतिक उत्तराधिकारी मानिने ताकाइचीले चीनको सैन्य विस्तारबारे कठोर धारणा अपनाउँदै ट्रम्पलाई स्थायी मित्रताका लागि धन्यवाद दिइन् । आबेको सन् २०२२ मा हत्या भएको थियो ।
ट्रम्प र ताकाइचीको वार्ता मुख्यतः व्यापार र सुरक्षामाथि केन्द्रित रह्यो । केही महिनाअघि ताकाइचीका पूर्ववर्ती सिगेरु इशिबाले अमेरिकामा ठूलो लगानी गर्ने शर्तमा अमेरिकी प्रशासनसँग भन्सार छुट पाएका थिए ।
जापानले अमेरिकी सोयाबिन, पिकअप ट्रक र अन्य उत्पादन पहिलेको भन्दा बढी किन्ने योजना पनि सार्वजनिक गरेको छ । थप भन्सार राहत पाउनका लागि जापानले यो योजना बनाएको हो ।
मंगलबार जारी संयुक्त वक्तव्यमा दुवै नेताले यो उत्कृष्ट सम्झौताको कार्यान्वयनप्रति दृढ प्रतिबद्धता व्यक्त गर्दै सम्झौताले दुवै देशलाई आर्थिक सुरक्षा सुदृढ गर्न, आर्थिक वृद्धि प्रवद्र्धन गर्न र विश्व समृद्धिमा योगदान पुर्याउन मद्दत गर्ने बताए ।
ताकाइचीले अमेरिकी–जापानी सुरक्षा सम्बन्धलाई विश्वकै महानतम गठबन्धन भन्दै जापान विश्व शान्ति र स्थिरताका लागि योगदान दिन तयार रहेको बताइन् ।
ट्रम्पले सोमबार राति जापान पुगेपछि दोस्रो पटक सम्राट नारुहितोसँग भेटघाट गरे । जापानले अमेरिकी सैन्य उपकरण किन्ने निर्णयको स्वागत गर्दै ट्रम्पले दुवै देशबीच उच्च व्यापार हुने बताए ।
ट्रम्पले ताकाइचीलाई जापानकी पहिलो महिला प्रधानमन्त्री बनेकोमा बधाइ दिँदै त्यो ठूलो कुरा भएको बताए ।
जापानका लागि गर्न सकिने जति सबै काम गर्न आफू तयार रहेको ट्रम्पले बताए । ‘तपाईंले उत्कृष्ट काम गर्नुहुनेछ र हाम्रो सम्बन्ध पनि उत्कृष्ट हुनेछ,’ ट्रम्पले ताकाइचीलाई बताए ।








प्रतिक्रिया