अहिले कायम सीमा राखेर रुस र युक्रेनबीच युद्धविराम गर्नका लागि युरोपेली नेताहरूको आह्वान

1k
Shares

एजेन्सी । बेलायत, फ्रान्स, जर्मनी र युरोपेली संघका नेताहरूले युक्रेनसँग मिलेर मंगलवार संयुक्त विज्ञप्ति प्रकाशन गरेका छन् ।

त्यसमा उनीहरूले युद्धमा कायम भएको वर्तमान सीमालाई कायम राख्ने गरी अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले गरेको आह्वानलाई समर्थन गरेका छन् ।

‘लडाइँ तत्कालै रोकिनुपर्ने र विद्यमान लाइन अफ कन्ट्याक्टलाई सम्झौताको आरम्भिक विन्दु बनाउनुपर्ने राष्ट्रपति ट्रम्पको अडानलाई हामी दह्रो समर्थन गर्छौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग हंगेरीको राजधानी बुडापेस्टमा भेट्ने योजना बनाएका छन् । हंगेरीले रुससँग यस युद्ध अवधिभरि सुमधुर सम्बन्ध कायम गरेको छ ।

रुसले युक्रेनलाई युद्धविरामका लागि थप भूभाग परित्याग गर्नका लागि माग राखेको छ । तर, युक्रेन र उसका सहयोगीहरूले वार्ताका लागि लडाइँ तत्कालै राकिनुपर्ने बताउँदै आएका छन् ।

शुक्रबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटपछि ट्रम्पले हाल कायम सीमालाई यथावत राखेर युद्धविराम गर्न आह्वान गरेका थिए ।

युरोपेली नेताहरू यसै साता युरोपेली संघको शिखर सम्मेलनमा सहभागी हुनका लागि भेट्दैछन् । त्यस्तै युक्रेनलाई समर्थन गर्ने इच्छुकहरूको गठबन्धन मुलुकहरूको बैठक पनि लन्डनमा बस्दैछ । जेलेन्स्की पनि त्यसमा सहभागी हुनेछन् ।

फ्रान्स र बेलायतले गत फेब्रुअरी महिनामा यो गठबन्धन बनाएका हुन् । यसले युद्धविराम भएको खण्डमा युक्रेनलाई कसरी सैन्य सहायता उपलब्ध गराउन सकिन्छ भनी महिनौंदेखि छलफल गर्दै आएको छ । रुसलाई युक्रेनमाथि आक्रमण गर्नबाट रोक्नका लागि गर्न सकिने योगदानको पनि चर्चा भइरहेको छ ।

‘रुसको अर्थतन्त्र र रक्षा उद्योगमा दबाब बढाएर पुटिनलाई शान्तिबहालीका लागि बाध्य बनाउनुपर्छ,’ मंगलवार प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘रोक्का गरिएको रुसको सम्पत्तिलाई युक्रेनका लागि आवश्यक स्रोतसाधनमा खर्च गर्नका लागि उपायहरू अपनाइँदैछ ।’

Skip This