अहिले कायम सीमा राखेर रुस र युक्रेनबीच युद्धविराम गर्नका लागि युरोपेली नेताहरूको आह्वान

1k
Shares

एजेन्सी । बेलायत, फ्रान्स, जर्मनी र युरोपेली संघका नेताहरूले युक्रेनसँग मिलेर मंगलवार संयुक्त विज्ञप्ति प्रकाशन गरेका छन् ।

त्यसमा उनीहरूले युद्धमा कायम भएको वर्तमान सीमालाई कायम राख्ने गरी अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले गरेको आह्वानलाई समर्थन गरेका छन् ।

‘लडाइँ तत्कालै रोकिनुपर्ने र विद्यमान लाइन अफ कन्ट्याक्टलाई सम्झौताको आरम्भिक विन्दु बनाउनुपर्ने राष्ट्रपति ट्रम्पको अडानलाई हामी दह्रो समर्थन गर्छौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग हंगेरीको राजधानी बुडापेस्टमा भेट्ने योजना बनाएका छन् । हंगेरीले रुससँग यस युद्ध अवधिभरि सुमधुर सम्बन्ध कायम गरेको छ ।

रुसले युक्रेनलाई युद्धविरामका लागि थप भूभाग परित्याग गर्नका लागि माग राखेको छ । तर, युक्रेन र उसका सहयोगीहरूले वार्ताका लागि लडाइँ तत्कालै राकिनुपर्ने बताउँदै आएका छन् ।

शुक्रबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटपछि ट्रम्पले हाल कायम सीमालाई यथावत राखेर युद्धविराम गर्न आह्वान गरेका थिए ।

युरोपेली नेताहरू यसै साता युरोपेली संघको शिखर सम्मेलनमा सहभागी हुनका लागि भेट्दैछन् । त्यस्तै युक्रेनलाई समर्थन गर्ने इच्छुकहरूको गठबन्धन मुलुकहरूको बैठक पनि लन्डनमा बस्दैछ । जेलेन्स्की पनि त्यसमा सहभागी हुनेछन् ।

फ्रान्स र बेलायतले गत फेब्रुअरी महिनामा यो गठबन्धन बनाएका हुन् । यसले युद्धविराम भएको खण्डमा युक्रेनलाई कसरी सैन्य सहायता उपलब्ध गराउन सकिन्छ भनी महिनौंदेखि छलफल गर्दै आएको छ । रुसलाई युक्रेनमाथि आक्रमण गर्नबाट रोक्नका लागि गर्न सकिने योगदानको पनि चर्चा भइरहेको छ ।

‘रुसको अर्थतन्त्र र रक्षा उद्योगमा दबाब बढाएर पुटिनलाई शान्तिबहालीका लागि बाध्य बनाउनुपर्छ,’ मंगलवार प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘रोक्का गरिएको रुसको सम्पत्तिलाई युक्रेनका लागि आवश्यक स्रोतसाधनमा खर्च गर्नका लागि उपायहरू अपनाइँदैछ ।’