भन्सार प्रयोजनका लागि तिहारमा पनि बैंकिङ सेवा दिन राष्ट्र बैंकको निर्देशन

0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारको बिदा अवधिमा पनि भन्सार जाँचपासका लागि आवश्यक बैंकिङ सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले शुक्रबार जारी गरेको सूचनामा इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका सबै बैंक तथा वित्तीय संस्थाहरुलाई तिहारको भाइटीकाको दिन (२०८२ साल कात्तिक ६ गते) बाहेक अन्य सबै दिन भन्सार सम्बन्धी बैंकिङ सेवा सुचारु राख्न अनुरोध गरिएको छ ।

राष्ट्र बैंकले नेपाल सरकारको अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागबाट प्राप्त पत्रका आधारमा यो निर्देशन जारी गरेको हो । उक्त पत्रमा व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणालीलाई सुचारु राख्न र सेवा प्रवाहको निरन्तरता कायम राख्नका लागि आवश्यक बैंकिङ व्यवस्था मिलाउन आग्रह गरिएको थियो ।

राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरूले भन्सार जाँचपासका लागि आवश्यक भुक्तानी तथा अन्य बैंकिङ सेवा प्रदान गर्न लागि सम्बन्धित शाखा वा काउन्टरहरू सञ्चालनमा राख्ने व्यवस्था गर्नुपर्नेछ । राष्ट्र बैंकको यो कदमले तिहारको बिदामा पनि व्यापारिक गतिविधि र मालवस्तुको आयात-निर्यात प्रक्रिया अबरुद्ध नहोस् भन्ने सुनिश्चित गर्न सहयोग पुर्‍याउनेछ ।