मधेशका सांसद सिंहसहित १६ जनाविरुद्ध साढे १ करोड भ्रष्टाचारको मुद्दा

133
Shares

काठमाडौं । मधेश प्रदेश सरकारका सांसद सरोजकुमार सिंहसहित १६ जनामाथि भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

महोत्तरी क्षेत्र नम्बर ४ (प्रदेशसभा २) बाट निर्वाचित सिंहमाथि आर्थिक वर्ष २०७८/७९ मा “मधेश प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रम” अन्तर्गत विनियोजित बजेट दुरुपयोग गरेको आरोप लागेको हो । आयोगका अनुसार सिंहले विभिन्न उपभोक्ता समिति गठन गरी ती समितिको खातामा जम्मा भएको रकम आफ्ना स्वकीय सचिव बिनोदकुमारलाल कायस्थमार्फत झिकाएर आफ्नो र श्रीमतीको संयुक्त खातामा जम्मा गराएका थिए।

जम्मा १ करोड ३६ लाख २७ हजार ४८१ रुपैयाँमध्ये करिब २८.२५ प्रतिशत अर्थात् ३८ लाख ५ हजार ३१९ रुपैयाँ घुस तथा कमिसनका रूपमा लिएको प्रमाणित भएको आयोगले जनाएको छ।

अनुसन्धानबाट सिंहले आफ्ना निकटका व्यक्तिलाई उपभोक्ता समितिमा पदाधिकारीका रूपमा चयन गराई बैठकका निर्णय स्वकीय सचिवमार्फत तयार गराएको र बैंक खाता खोल्दा न्यूनतम शुल्कसमेत आफैंले तिरेको पाइएको छ। त्यस्तै, भुक्तानीका लागि अध्यक्ष र कोषाध्यक्षका हस्ताक्षर गरिएको खाली चेक आफैंले नियन्त्रणमा लिएर रकम व्यवस्थापन गरेको विवरण पनि आयोगले उल्लेख गरेको छ।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ विपरीत सिंहले आफैं खटाएका कामदारमार्फत काम सम्पन्न गराई त्यसको कमिसन आफ्नो संयुक्त खातामा जम्मा गरेको आरोप समेत लागेको छ।

उक्त घटनामा संलग्न ठहर भएका सिंहसहित रमेश मडर, अमलेश कुमारी, दिपाराजदेवी राजपुत, भिखारी राउतकुर्मी, भुपेन्द्रकुमार झा, मन्जुदेवी पासमान, रामनाथ सहनी, स्वीकृती देवी, रामशरण खत्वे, बिभादेवी खत्वे, शम्भुकुमार मण्डल, योगेन्द्रर महतो, सुनयना कुमारी, यमुनाप्रसाद महतो र कौशिल्या देवीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अनुसार कैद, बिगो बराबर जरिवाना र बिगो जफतको मागदाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ।