गुणस्तरहीन वस्तु तथा सेवा बेच्ने व्यापारिक प्रतिष्ठानले ३ महिनामै डेढ सय तिरे १ करोड जरिवाना

98
Shares

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ महिनाको अवधीमा १५८ व्यापारिक प्रतिष्ठानलाई झण्डै १ करोड रुपैयाँ जरिवाना गरेको छ । विभागका अनुगमन अधिकृत अमितकुमार झाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोज २१ गतेसम्मको अवधीमा १५८ व्यापारिक प्रतिष्ठानबाट ९३ लाख २५ हजार २ सय रुपैयाँ जरिवाना गराइएको हो ।

यो अवधिमा विभागले कन्सलटेन्सी, खाद्य पदार्थ, रेडिमेड कपडा, कस्मेटिक्स, अटो पार्टस, होटेल तथा रेष्टुँरा, फर्निचर, जुत्ताचप्पल, किराना पसल, इलेक्ट्रोनिक्स, स्कूल कलेज, हार्डवेयर, फैन्सी पसल, भाँडा वर्तन, सुनचाँदी, डिपार्टमेन्ट स्टोर, औषधिलगायतका प्रतिष्ठानमा गरी ८ सय ६० पटक अनुगमन गरेको थियो ।

अनुगमन गरिएका व्यापारिक प्रतिष्ठानमध्ये कैफियत भेटिएका १५८ प्रतिष्ठानबाट यो जरिवाना गराइएको हो । विभागका अनुसार सबैभन्दा बढी कन्सलटेन्सीबाट ३१ लाख ७० हजार, खाद्य पदार्थबाट ११ लाख, अन्यबाट १४ लाख ९७ हजार, होटेल तथा रेष्टुँराबाट ४ लाख ८१ हजार, रेडिमेड कपडाबाट ४ लाख १७ हजार, अटो पार्टसबाट ३ लाख ३५ हजार, फर्निचरबाट ३ लाख २३ हजार, जुत्ता चप्पलबाट ३ लाख ८२ हजार, मिठाईबाट २ लाख ५५ हजार, इलेक्ट्रोनिक्स पसलबाट २ लाख २५ हजार रुपैयाँ जरिवाना गराइएको छ ।

यो अवधीमा दुई व्यापारिक प्रतिष्ठानबाट म्याद नाघेका ५५ हजार रुपैयाँबराबरको सामाग्री बरामद गरी नष्टसमेत गरिएको छ ।